मुआब्जाको टुंगो लागेसँगै सेती–३ को काम अगाडि बढ्दै

बझाङ । जिल्लाको सदरमुकाम चैनपुर नजिकै बन्न लागेको ८७ मेगावाट क्षमताको सेती–३ जलविद्युत् आयोजनाले जग्गा मुआव्जा उचित मूल्यांकन गरी काम अगाडि बढाउने भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालमा बसेको सर्वदलीय बैठकले आयोजना निर्माण हुँदा प्रभावित जग्गाधनीहरूलाई अबको केही दिनमा मुआव्जा वितरण गर्ने काम हुने भएको हो ।

सर्वदलीय बैठकमा प्रतिरोपनीका हिसाबले खेत अब्बल २५ लाख, खेत दोयम २२ लाख, खेत सिम १९ लाख, चाहारको खेतमा १६ लाख र पाखो भए पाखो अब्बल १९ लाख, पाखो दोयम १६ लाख ५० हजार, पाखो सिम १४ लाख ५० हजार, चाहार १३ लाख, पाखो ११ लाख ५० हजारका हिसाबले मुआव्जा वितरण गरिने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार बिहीबार नै सर्वदलीय बैठकमाअन्य १३ ओटा निर्णय भएको बताए । सर्वदलीय बैठकमा प्रमुख जिल्ला अधिकारी पाण्डे प्रहरी प्रमुख जागेश्वर भण्डारी जयपृथ्वी नगरपालिका नगरप्रमुख चेतराज बजाल, राजनीतिक दलका प्रतिनिधिलगायत आयोजना निर्माण कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । यसअघि आयोजना निर्माणस्थल प्रभावित आयोजना स्थलका स्थानीयहरूले जग्गाको मुआव्जा दिँदा उचित मूल्यांकन गरेर मात्र दिनुपर्ने माग राखी प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्रसमेत बुझाएको थियो ।

उक्त आयोजनाले ०७४ सालमा विद्युत् विकास विभागबाट सर्वेक्षण अनुमति पाएको थियो । उक्त आयोजनाले गत वर्ष मात्रै सम्भाव्यता अध्ययन र इआइएको काम सम्पन्न गरेको थियो । त्यसलगतै निर्माणको प्रक्रिया सुरु भएको हो । यो आयोजनाको १४ मिटर अग्लो र ६७ मिटर लामो बाँध सदरमुकाम चैनपुर नजिक पानकोटमा रहनेछ । त्यहाँको पानी ४ हजार २ सय मिटर लामो सुरुङमार्गबाट जयपृथ्वी नगरपालिकाको सुतियामा पु¥याएर भूमिगत विद्युत् गृहबाट विद्युत् उत्पादन गरिने योजना छ । कुल लागत १९ अर्ब अनुमान गरिएको यो आयोजना ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको हो ।

चिलिमे हाइड्रो पावर कम्पनीको ३१ प्रतिशत सेयर रहने यस आयोजनामा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको पाँच प्रतिशत र स्थानीय सरकारको पाँच प्रतिशत सेयर रहनेछ । यस्तै, आयोजनाको ३३ प्रतिशत सेयर सर्वसाधारणलाई वितरण गरिने आयोजनाले जनाएको छ । विद्युत् प्रसारण लाइन प्रभावित क्षेत्रका बासिन्दालाई आयोजना निर्माण सुरु भएपछि रोजगारी सिर्जना हुने र आर्थिक गतिविधि बढ्ने स्थानीयको अपेक्षा छ ।

प्रतिक्रिया