स्थानीय पाठ्यपुस्तक लागू गर्दै माङसेबुङ

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि आधारभूत तह (कक्षा १–८) मा स्थानीय पाठ्यपुस्तक लागू गर्ने भएको छ । स्थानीय विषयवस्तुलाई समेटेर तयार गरिएको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक गाउँपालिकाका सबै विद्यालयमा लागू गर्ने भएको हो । त्यसका लागि गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक कक्षा १, २ र ३ तयार गरिसकेको छ । त्यस्तै कक्षा ४, ६ र ७ को पाठ्यपुस्तक निर्माणको अन्तिम चरणमा रहेको माङसेबुङ गाउँपालिका शिक्षा अधिकृत बुद्धिप्रसाद खतिवडाले जानकारी दिए । ऐच्छिक विषयका रूपमा ‘हाम्रो माङसेबुङ’ नामक पाठ्यपुस्तक तयार भएको हो ।

आगामी शैक्षिक सत्रदेखि माङसेबुङ गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा ऐच्छिक विषयका रूपमा लागू गर्ने गरी पाठ्यपुस्तक तयार गरिएको खतिवडाले बताए । कक्षा ५ र ८ को पाठ्यपुस्तक भने आउँदो वर्ष निर्माण गरी लागू गरिने उनले बताए । ‘आउँदो शैक्षिक सत्रदेखि गाउँपालिकाका सबै विद्यालयमा ऐच्छिक विषयका रूपमा स्थानीय पाठ्यपुस्तक लागू गरिनेछ’ शिक्षा अधिकृत खतिवडाले भने, ‘सुरुमा कक्षा १, २, ३, ४ र ७ मा लागू हुनेछ । अर्को वर्ष कक्षा ५ र ८ मा पनि लागू गरिनेछ ।’

प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर बनाइएको पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लागू गर्न लागिएको बताए । ‘सबैले पुस्तकहरू पढ्छन् तर कस्तो पुस्तक पढ्ने भन्ने थोरैले मात्र जान्दछन्’ प्रमुख प्रशासकीय अधिकृत चौहानले भने, ‘हामी हाम्रो गाउँपालिकाका विद्यार्थीहरूलाई स्थानीय परिवेश अनुसारकै पुस्तक पठनपाठन गराउँनेछौँ ।’

पाठ्यपुस्तकमा माङसेबुङको वनजंगल, जडिबुटी, कृषि, धार्मिक, ऐतिहासिक, भौगोलिक, पर्यटकीय क्षेत्रहरू, चाडपर्व, संस्कार संस्कृति, सीपकौशल, व्यवसाय, नैतिक शिक्षा, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपि जस्ता विषय समेटिएका छन् ।

नेपालको संविधानको भाग ३ मा मौलिक हकसम्बन्धी व्यवस्था छ । सो अन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यलयमा स्थानीय पाठ्यपुस्तकका रूपमा आफैँले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोही व्यवस्थाका आधारमा माङसेबुङ गाउँपालिकाले ‘हाम्रो माङसेबुङ’ पाठ्यपुस्तक तयार गरेको हो । सय पूर्णांकको स्थानीय विषयको पठनपाठन हुनेछ । पुस्तक नेपाली भाषामा लेखिएको छ ।

यसैबीच सोमबार पाठ्यपुस्तक विज्ञ र सरोकारवालाहरूबीच छलफल भएको छ । माङसेबुङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रममा कक्षा ४, ६ र ७ को मस्यौदा पाठ्यपुस्तकमा शिक्षा शाखा, प्रधानाध्यापक, शिक्षक र विद्यार्थीबीच छलफल भएको हो ।
मस्यौदा पाठ्यपुस्तकलाई अन्तिम रूप दिन छलफल भएको हो । कार्यक्रममा पाठ्यपुस्तक लेखक हरिचन्द्र लावतीले सहजीकरण गरेका थिए ।
गाउँपालिकाले परामर्शदाता कम्पनी बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको प्राविधिक सहयोगमा पाठ्यपुस्तक निर्माण गरिहरेको छ ।

प्रतिक्रिया