कविता– हराएको साने

सिरेन वान्तावा

सानेले घर छोड्दा

धुम्मिएर दिउँसो घुर्मैलो देखिन्थ्यो ।

निभेको जस्तो उज्यालोले

खडेरीबाट फर्केका तुवाँलोका ताँतीहरु

जवान बतासको झोक्का सँग दौडिरहेको थियो ।।

तल तल धुमिल देखिने

ति उजाड बस्तीहरुमा

मान्छेहरुलाई मेलापात निस्कन धेरै हतार थियो

यो मुहूर्तमा

जीवनको गह्रुङ्गो पन्तरो बोकेर सँघार नाघेर गएको साने

फर्केको छैन घर ।।।

सप्तमी तिथिमा

चन्द्र ग्रहणको शीतले

शिर निहुराई पाउ निथ्रुक्कै भिजेर

निदाउरो अनुहार थियो

वेदनाको ओँठमा धारिलो तरवार चम्किएर

इन्द्रेणी बोकेका आँखामा

तिर्खाएका बलिन्द्र धार रातो आँसु र

चट्याङ पर्नुअघि मौन सौदामिनीको चाल जस्तै

क्रोध दौडिरहेको थियो सानेको अनुहारमा ।।।।

बादलपारि लुकेको निलो गगन मुनि

जहाँ सेपिलो खोल्सीहरुलाई उज्यालोले छोएको हुँदैन

एकतमास रोइरहेको हुन्छ सिम

केवल सम्झि–सम्झी खोलामा

पानी टिप्न ओर्लेको खडेरी हुन्छ

सायद तिर्खाएर साने

त्यसरी नै सडकहरुमा हिँडिरहेका होलान् ।।।।।

समयको चपरी काटेर

बिहानको सात बजेपछि

युगको घेरोबारो उखेली

आदिम खेतको कान्लो मुनिको बाटो

समयको बाङ्गो आलि कुल्चँदै

कार्तिक महिनाको शनिबार

आमाको जन्मोत्सव मनाउन आउँछु भन्यौ

र तिमीलाई मैले हत्तारमा कुरिरहेँ

धेरै विलम्बमा प्रेमका उच्छवासको डोरीमा

पीडाहरु अनिष्ट कस्सिएपछि

मेरो तातो मुटुमा रातो आगो बलेको छ साने ।।।।।।

हे हेन्खामा माङ

तिम्रो आगमन बिना मेरो कुनै यात्राले

यो हुस्सुले छोपेको दुखको भुरु नाघ्दैन ।।।।।।।

निद्राले तर्तरी आँशु झार्छ,

अनिंदोले पुछिदिन्छन्

पीडाहरुले क्रान्तिका गीत सुनाउँछन् ,

फिन्फिनी दुखहरु नाच्न थाल्छन्

र धरधरी रुन्छन खुशीहरु ।।।।।।।।

तिमी आउँदा

उहिले ,उहिलेको मरेका चौबाटोहरु ब्युँझेर

दोबाटोहरुमा बुख्याँचा भएर तर्साउन सक्छन

तर, बिपनाको सुन्दर गोरेटो उचालेर

वर्तमानलाई छोप्न नभुल्नु

आमाले कुल्चेका पाइलाका डोबहरु

कुनै वैरीहरुले कुल्चिएर मेटिन सक्छ

रातो याक्सा भित्र बस्ने सेतो मान्छेहरुलाई सोध्नु

त्यहाँ आगोका ज्वालामा खेलिरहेका हुनेछन

ससाना नानीहरू

चिसो इतिहासको झरिलो कोइला तापेर

उडेर जानेछन् बुडोमान्छे भएर धुवाँ र चिसो ठिहीहरु

र लोप भुसकेका बाटो देखाउनेछन् तिनै नानीहरूले

फर्केर आउने बाटो त्यही हो साने तिम्रो ।।।।।।।।।

सिरेन वान्तावा, हाल भक्तपुर

प्रतिक्रिया