अभिव्यक्ति पुष्टि गर्न सभामुखलाई महासंघकाे चुनौती

काठमाडौं । नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको अभिव्यक्ति पुष्टि गर्न चुनौती दिएको छ । शनिबार विज्ञप्ति निकाल्दै महासंघले सभामुख घिमिरेले आफूले दिएको अभिव्यक्ति फिर्ता नलिए कानूनीसहित दबाबमूलक कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ ।

सार्वभौम संसद्‌को मूल नेतृत्वबाटै पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति आउनु दुखद भएको बताउँदै महासंघले अभिव्यक्ति फिर्ता लिन भनेको छ । महासंघले आरोप पुष्टि गर्न नभएर अभिव्यक्ति फिर्ता लिई सञ्चार क्षेत्रको अधिकार र स्वतन्त्रताप्रति प्रतिवद्धता जनाउन अनुरोध गरेको छ ।

प्रतिनिधिसभाका सभामुख घिमिरेले शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित पारिरहेको र पत्रकारहरू बिक्रीमा रहेको बताएका थिए ।

पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेर देशमा पीत पत्रकारिता डरलाग्दो गरी देखापरेको र त्यसको प्रभाव समाजमा परिरहेको उनको भनाइ थियो ।

‘पत्रकारहरूले जति जिम्मेवारीसाथ पत्रकारिता गर्नुपर्दथ्यो । अन्यथा नलिनुहोला। यो पत्रकार महासंघ हो। त्यो खालको छैन । पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । जे–जे कारणले भए पनि तिनीहरू प्रभावित छन्,’ उनले भनेका थिए, ‘अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरू। अब पत्रकारहरू बिक्रीमा छन् । बिग हाउसहरूले प्रभावित पारेको छ । थर्काएर गरेको छ। किनेर गरेको छ । फकाएर गरेको छ। अनेक ढंगबाट गरेको छ । त्यसको प्रभाव हाम्रो सोसाइटीमा निकै परेको छ ।’

प्रतिक्रिया