महिनावारी

कविता

रेश्ना लामिछाने

म पहिलोपल्ट महिनावारी हुँदा

आमाको धोती पहिलोपल्ट

टुक्राटुक्रा भइ पहिलोपल्ट

टालाे भएको थियोे ।

हो म पहिलोपल्ट महिनावारी हुँदा

शरीरमा अनौठो खालको डर पैदा भयेको थियो

रातो रगत शरीरबाट निस्कदा पहिलोपल्ट मेरो आगन परदेश भयेको थियो ।

म पहिलोपल्ट महिनावारी हुँदा

सधैं लूटुपुटु गर्ने बुवा हजुरबुवाको काख

पहिलोपल्ट नै अन्जान भएको थियो ।

आमाले खाना पकाउदा

लुसुक्क छिरेर तरकारी चाख्ने भान्छा

पहिलोपल्ट म महिनावारी भएर छिर्दा अपवित्र भयेको थियो ।

बिहानीको उँजेली संगै घरको मन्दिरमा छिर्ने म पहिलोपल्ट तिनै देविहरुलाइ

छुन हुन्न भनी मलाइ अपवित्र घोषित गरिएको थियोे ।

पहिलोपल्ट महिनावारी हुँदा छोएको वस्तु सुनपानीले चोख्याएर पवित्र बनाइएको थियो
तर

मलाई पहिलोपल्ट महिनावारी हुँदा

सात सात दिन सम्म अपवित्र बनाइएको थियो ।

प्रतिक्रिया