सेनालाई सशक्त बनाउने चिनियाँ राष्ट्रपतिको घोषणा

वेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो देशको सेनालाई ‘ग्रेट वाल अफ स्टिल’मा परिणत गर्न चाहेका छन् । चिनियाँ राष्ट्रपतिका अनुसार चीन विश्वमा आफ्नो सार्वभौमसत्ता र विकाससँग सम्बन्धित आफ्नो हितका लागि सेनालाई निकै बलियो बनाउन चाहन्छ ।

साउदी अरेबिया र इरानबीच हालै भएको सम्झौतापछि चीनले दिएको राष्ट्रपति जिनपिङको यो भनाइलाई निकै महत्वपूर्ण मानिएको छ । यो सम्झौतालाई चीनले ठूलो कूटनीतिक बदलावको रूपमा लिइरहेको छ ।

गत हप्ता चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय कांग्रेसले सीको तेस्रो कार्यकाललाई अनुमोदन गरेको थियो । यसपछि जिनपिङले पहिलोपटक सार्वजनिक वक्तव्य दिएका छन् । चिनियाँ सेनालाई बलियो बनाउने आफ्नो इच्छा व्यक्त गर्दै सीले जनतालाई आफ्नो सरकारलाई समर्थन गर्न अपिल गरे ।

६९ वर्षीय जिनपिङले चिनियाँ संसद्मा भने, ‘मैले तेस्रोपटक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै छु । जनताको विश्वास नै मेरो लागि सबैभन्दा ठूलो प्रेरणा हो । यही कुराले मलाई अगाडि बढ्न प्रेरित गर्छ । तर, यसले मेरो काँधमा ठूलो जिम्मेवारी पनि राख्छ ।’

सीले संविधानमा उल्लेखित जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले चीनका जनताले आफूमाथि गरेको विश्वासलाई कहिल्यै डगमगाउन नदिने बताए । भने, ‘विकासको आधार सुरक्षा हो, स्थायित्व भए मात्र समृद्धि आउँछ ।’

चिनियाँ सेनाको आधुनिकीकरणको कामलाई अगाडि बढाउन आग्रह गर्दै उनले यसलाई ‘ग्रेट वाल अफ स्टिल’ बनाउनुपर्ने बताए । आफ्नो देशको सार्वभौमसत्ता, सुरक्षा र विकाससँग सम्बन्धित हितको पूर्ण तत्परताका साथ रक्षा गर्ने सेना हुने उनको भनाइ छ ।

प्रतिक्रिया