‘दर्शन सलाम’ करोड क्लबमा

संगीतकार दीपक शर्मा

काठमाडौं । संगीतकार दीपक शर्माले संगीत भरेको चलचित्र ‘छक्का पञ्जा–४ को गीत ‘दर्शन सलाम’ ले करोड क्लब पार गरेको छ । दीपकको संगीत रहेको उक्त गीत राजेन्द्र थापाले लेखेका हुन् । गायक डेविड शंकर र गायिका सहिमा श्रेष्ठले आवाज दिएको उक्त गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

‘दीपक–दीपा’ ब्यानरको सो चलचित्र केही दिनदेखि देशका विभिन्न हलमा प्रदर्शन भइरहेको छ । गीतले सुरुवातमै यतिको सफलता प्राप्त गर्छ भन्ने आफूले अपेक्षा नगरेको संगीतकार शर्माले बताए । गीतमा उदयराज पौडेलको संगीत संयोजन छ । ‘सुरुवाती समयमै गीतले यति भ्युज पाउँछ भन्ने मैले सोचेको थिइन’, संगीतकार शर्माले भने, ‘यो सफलतासँगै मलाई खुसी र संगीतमा थप उत्साह थपेको छ ।’

थुप्रै गीतमा संगीत भरेका शर्मा उत्कृष्ट संगीतकारका रुपमा परिचित छन् । उनका संगीतमा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, आनन्द कार्की लगयत अन्य वरिष्ठ गायक तथा गायिकाले आवाज दिइसकेका छन् । ‘दर्शन सलाम’ गीतकी गायिका सहिमाले पनि आफूले आवाज दिएको गीतले करोड क्लव पार गर्दा उत्साह थपेको बताइन् । उनले गीतलाई आमदर्शक तथा स्रोताले मनपराइ दिएकोमा धन्यवाद व्यक्त गरिन् । ‘युट्युबमा सोचेको भन्दा फरक ढंगले भ्युज पाएको छ’, गायिका सहिमाले भनिन्, ‘आमदर्शक स्रोताकै नाम पनि यो गीतमा जोडिन्छ ।’

प्रतिक्रिया