राष्ट्रपति पदका लागि बिहीबार सम्पन्न चौथो निर्वाचनबाट रामचन्द्र पौडेल दोब्बरभन्दा बढी मत अन्तरले विजयी भएका छन् । उनी नेपाली कांग्रेस, सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रलगायत आठ वटा पार्टीको प्रस्ताव तथा समर्थनमा उम्मेद्वार बनेका थिए । पौडेलसँग नेकपा एमालेको समर्थनमा उम्मेद्वार बनेका सुभाषचन्द्र नेम्वाङले प्रतिस्पर्धा गरेका थिए । दुवै जना प्रतिस्पर्धी पूर्वसभामुख हुन् । नवनिर्वाचित पौडेलले आगामी सोमबार सपथ ग्रहणसँगै मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा शीतल निवास बसेर कार्यभार संहाल्नेछन् । राजनीतिक निरन्तरता तथा पदीय अनुभवका दृष्टिले पनि नवनिर्वाचित राष्ट्रपति पौडेल देशकै सबैभन्दा वरिष्ठ नेता हुन् । ०४८ सालमा स्थानीय विकास मन्त्री, ०५१ सालमा सभामुख, ०५६ सालमा उपप्रधानमन्त्रीको कार्यभार बहन गरिसकेका पौडेल नेपाली कांग्रेसको कार्यबहाक सभापतिसमेत भइसकेका नेता हुन् ।
उमेरका हिसाबले पनि यसअघिका भन्दा नवनिर्वाचित राष्ट्रपति पौडेल पाका हुन् । राजनीतिक विवादमा पार्टीहरूबीच धु्रवीकरण हुँदा मध्यमार्गी अवधारणा प्रस्तुत गर्ने गरेका पौडेल तुलनात्क रूपमा निष्कलंक छवी बोकेका नेता मानिन्छन् । राष्ट्रपति पद भनेको दलीय स्वार्थभन्दा माथि उठेर संविधानको पूर्ण अधिनमा रही निष्पक्ष र तटस्थ रूपमा कार्यसम्पादन गर्ने पद हो । नेपालको संविधान ( २०७२) ले मुलुकको कार्यकारी अधिकार प्रधानमन्त्रीलाई दिएको छ ।
विधिसम्मत रूपमा शान्तिपूर्ण सत्ता हस्तान्तरण लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । निर्वाचनद्वारा सर्वोच्च पद प्राप्त गर्ने व्यक्ति जति खुसी हुन्छ, त्यति नै खुसी तथा सन्तुष्टिका साथ साविकको व्यक्ति बिदा हुने परिपाटी लोकतन्त्रमा मात्रै हुन्छ । यही परिपाटीअनुसार नवनिर्वाचित पौडेललाई पद हस्तान्तरण गर्दै आगामी सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी निवर्तमान बनेर शीतल निवासबाट बिदा हुँदैछिन् । नेपाल एकीकरणको २ सय ५५ वर्षको यो अवधिमध्ये ०६५ सालसम्मको २ सय ४० वर्षको अवधिमा वंशीय परम्परा अनुसार ११ जना राष्ट्रप्रमु्ख बने । जसलाई राजा वा श्री ५ भन्ने चलन थियो । यो २ सय ५५ वर्षमध्ये ०६५ साल यताको १४ वर्ष जनताका दुई जना छोराछोरी राष्ट्रप्रमुख भए । पहिलो सात वर्ष डा.रामवरण यादव र दोस्रो सात वर्ष विद्यादेवी भण्डारी राष्ट्रप्रमुख बनिन् । अब पाँच वर्षका लागि नवनिर्वाचित राष्ट्रपति पौडेलले कार्यभार संहाल्दै छन् ।
राष्ट्र प्रमुख सबैको साझा हो, कुनै पनि मुद्दामा राष्ट्रप्रमुख विवादमा आउनु हु“दैन भन्ने मान्यता हाम्रो संविधानले राखेको छ । त्यसैले आपतकालीन परिस्थितिमा बाहेक स्वविवेकीय कदम चाल्ने अधिकार संविधानले दिएको छैन । सामान्यतया मन्त्रिपरिषद्ले गरेका निर्णयलाई वैधानिकता दिनेबाहेक राष्ट्रपतिको छुट्टै भूमिका संविधानले कल्पना गरेको छैन । तर मन्त्रिपरिषद्ले गरेका कतिपय सिफारिसप्रति आशंका उत्पन्न भएमा केही दिन परामर्श गर्ने र आवश्यक परे पुनः सिफारिसका लागि फिर्ता गर्ने भूमिका भने संविधानले दिएको छ । संविधानले दिएको यही भूमिका निर्वाह गर्ने क्रममा प्रथम राष्ट्रपति डा.यादव दुई÷चार वटा घटनामा विवादित भने । द्वितीय राष्ट्रपति भण्डारी त धेरै घटनामा विवादित भइन् । आफ्ना पूर्ववर्तीहरू के कस्ता घटनामा विवादित बने ? के कस्तो चरित्रका कारण जनताबाट आलोचित बने ? भन्ने पाठ नवनिर्वाचित राष्ट्रपति पौडेलले अवश्य पनि सिकेको हुनुपर्छ । हिजोका दिनमा राजाहरूले जे जस्तो तामझाम प्रस्तुत गर्थे त्यसैको सिको गरेको भन्दै यसअघिका राष्ट्रपतिहरू जनताबाट निकै आलोचित भए ।
एउटा राजाको ठाउँमा अर्को राजा आएको महसुस जनताले गरेका कारण गणतान्त्रिक शासन व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न भयो । वर्तमान शासन व्यवस्था स्थापना तथा संवर्धनका लागि पूर्ववर्तीहरूको तुलनामा नवनिर्वाचित राष्ट्रपति पौडेलको योगदान कैयौँ गुणा ठूलो छ । त्यसैले आफ्नो भूमिकाबाट वर्तमान शासन व्यवस्था अझ बलियो बनोस् भन्नेतर्फ नवनिर्वाचत राष्ट्रपति पौडेल हरदम सचेत हुनु जरुरी छ । ‘जननिर्वाचित राष्ट्रपति भनेको यस्तो पो हुँदो रहेछ’ भनेर जनताले गौरवको अनुभूति गर्ने अवस्था आयो भने मात्रै लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ । पौडेलले अब आफूलाई गणतन्त्रको ‘रोलमोडल’का रूपमा प्रस्तुत गरुन् । हार्दिक बधाई तथा शुभकामना ।
प्रतिक्रिया