समयमै काम नगर्ने ठेकेदारमाथि कारबाहीको तयारी

विराटनगर । कोसी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पत्र नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने भएको छ ।

मन्त्रालयले पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारलाई सो चेतावनी दिएको हो ।

काम ढिला गर्ने २५ भन्दा बढी निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री दुर्गाप्रसाद चापागाईंले पुँजीगत खर्च बढाउन र रोकिएका काम सम्पन्न गर्न आग्रह गरे । उनले मन्त्रालयको तर्फबाट गर्नुपर्ने काम तत्कालै गरिने तर निर्माण कम्पनीले पनि सोही अनुसारको काममा तीव्रता बढाउनुपर्ने बताए ।

उनले भने, ‘काम गर्ने जिम्मा तपाईँहरुको हो, निर्माण कम्पनीको समस्या हामीले पनि बुझेका छौँ, तर, सम्झौताअनुसार काम गर्ने त फेरि पनि तपाईँहरुकै हो, मन्त्री भएर मन्त्रिपरिषद् बैठकमा ठेकेदारको निर्माण अवधि बढाउन भन्दै फाइल बोकेर म जान्न ।’

सचिव मोहनराज चापागाईंले विभिन्न बाहनामा काम रोक्न नहुनेमा जोड दिए । उनले भने, ‘मैले अघिल्लो आर्थिक वर्षमा १०० भन्दा बढी आयोजनाको समयावधि थप गरे, अहिले भने केही फायल रोकिएको छ, म्याद थप्नुपर्ने कारण के हो ? जहिले पनि कोभिड ? पानी पर्यो भनेको छ, यो त जहिल्यै आउने कुरा हो नि ।’

प्रतिक्रिया