‘कोशी’ प्रदेश खारेजको माग गर्दै माङसेबुङका दुई वडा कार्यालयमा तालाबन्दी

इलाम । प्रदेशसभाले प्रदेश १ को नाम ‘कोशी’ पारित गरेसँगै त्यसको विरोधमा सुरु भएको आन्दोलनले उग्र रुप लिन थालेको छ ।

‘कोशी’ प्रदेश खारेज गर्न एवं पहिचान र सभ्यताका आधारमा प्रदेशको नाम ‘लिम्बुवान किरात’ पुनःनामाकरण गर्न माग गर्दै संयुक्त संघर्ष समितिले बुधबारदेखि सुरु भएको आन्दोलन थप सशक्त र उग्र बन्दै गएको हो ।

आन्दोलनकारीहरुले आन्दोलको स्वरुप वडातहसम्म पुर्‍याएका छन् । आन्दोलनकारीहरुले स्थानीय तहको वडा कार्यालयमा तालाबन्दी गरी ‘कोशी’ प्रदेश नाम खारेज गर्न पहिचानको आधारमा पुन:नामाकरण गर्न दवाव दिन थालेका छन् ।

यसै क्रममा आन्दोलनकारीले आइतबार इलामको माङसेबुङ गाउँपालिकाका दुईवटा वडा कार्यालयमा तालाबन्दी गरेका छन् । आन्दोलनकारीले आइतबार वडा नम्बर ३ र ५ को वडाकार्यालयमा तालाबन्दी गरेका छन् ।

‘माङसेबुङ नागरिक समूह’ को नाममा नारा जुलुससहित प्रदर्शनमा उत्रिएको आन्दोलनकारीहरुको समूहले विभिन्न विभिन्न स्थानहरुमा कालो झण्डा गाडेका छन् ।

वडा नम्बर ५ को बुधबारेस्थित यलम्बर चोक र वडा नम्बर ३ को माथिल्लो भञ्जाङमा कोणसभा गरेको प्रदर्शनकारीहरुले फाल्गुनन्द राजमार्गमा १ घण्टा चक्काजाम समेत गरेका छन् ।

‘प्रदर्शनकारीहरुले पहिचानवादी एक हौं’, ‘मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दाबाद’, ‘पहिचान विनाको कोशी प्रदेश मान्दैनौं’,’कोशी प्रदेश जान्दैनौं’ लगायतका नारा लगाएका थिए ।

समूहका अध्यक्ष केहेरसिङ योङहाले नियोजित ढंगले कोशी प्रदेश नामाकरण भएकोले माग पूरा नभएसम्म कुनै पनि कार्यालय नखोलिने चेताबनी दिएका छन् ।

आन्दोलनकारीहले प्रदेश राजधानी विराटनगरसहित मुख्य शहरहरु इटहरी, धरानलगायत जिल्ला सदरमुकाममा प्रदर्शन र कोणसभा गरेका छन ।

लिम्बुवान किरात संयुक्त संघर्ष समितिलगायत विभिन्न राजनीतिक दल र दल सम्बद्ध संगठनहरुले बुधबारदेखि नै ‘कोशी’ प्रदेश नामाकरणविरुद्ध प्रदर्शन गर्दै आएका छन् । प्रदेश नामाकरणको विषयमा सरोकारवालाहरुसँग पर्याप्त छलफल नगरी प्रदेशसभामा सुटुक्क विषय प्रवेश गराइएको उनीहरुको आरोप छ ।

पहिचानलाई पाखा लगाएको भन्दै जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चासहित नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् र प्रदेश समिति, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय र प्रदेश समिति, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत घटकहरुले ‘कोशी’ प्रदेश खारेजीको माग गर्दै ‘लिम्बुवान किरात’ राख्न माग गरेका छन् ।

आन्दोलनमा नेकपा माओवादी केन्द्र, एमाले र कांग्रेस समर्थक आदिवासी जनजाति नेताहरुले समेत विज्ञप्तिमार्फत ऐक्यबद्धता जनाएका छन् । बुधबार प्रदेश सभाको बैठकमा प्रदेश नामाकरणको लागि भएको मतदानमा दुई तिहाई बहुमतले ‘कोशी’ प्रदेश पारिच गरेको थियो । प्रदेशको नाम ‘कोशी’ पारित गरेसँगै खारेज गरी पहिचानसहितको ‘लिम्बुवान किरात’ राख्न संघर्ष समितिले आन्दोलन सुरु गरेको थियो ।

प्रतिक्रिया