‘कोशी’ प्रदेशविरुद्धको आन्दोलन सशक्त बन्दै

लिम्बुवान किरात संयुक्त संघर्ष समितिलगायत विभिन्न राजनीतिक दल र दल सम्बद्ध संगठनहरुले बुधबारदेखि नै ‘कोशी’ प्रदेश नामाकरणविरुद्ध प्रदर्शन गर्दै आएका छन् । प्रदेश नामाकरणको विषयमा सरोकारवालाहरुसँग पर्याप्त छलफल नगरी प्रदेशसभामा सुटुक्क विषय प्रवेश गराइएको उनीहरुको आरोप छ ।

इलाम । प्रदेशसभाले प्रदेश १ को नाम ‘कोशी’ पारित गरेसँगै त्यसको विरोधमा सुरु भएको आन्दोलन सशक्त बन्दै गएको छ ।

‘कोशी’ प्रदेश खारेज गर्न एवं पहिचान र सभ्यताका आधारमा प्रदेशको नाम ‘लिम्बुवान किरात’ पुनःनामाकरण गर्न माग गर्दै संयुक्त संघर्ष समितिले बुधबारदेखि सुरु भएको आन्दोलन थप सशक्त र बन्दै गएको हो ।

बिहीबार ‘कोशी’ प्रदेश लेखेर प्रदेशका सबै जिल्ला र शहरहरुमा जलाएका आन्दोलनकारीले शुक्रबार प्रदेश राजधानी बिराटनगरमा प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश सभामुख बाबुराम गौतमको पुत्ला दहन गरे । शनिबार आन्दोलन अन्तरगत प्रदेशव्यापी रुपमा कालो झण्डा गाड्ने, कोण सभा गर्ने, स्थानीय तहलगायत कार्यालयमा तालबन्दी गर्ने कार्यक्रम गरेको संयुक्त संघर्ष समितिले जनाएको छ ।

लिम्बुवान किरात संयुक्त संघर्ष समितिलगायत विभिन्न राजनीतिक दल र दल सम्बद्ध संगठनहरुले बुधबारदेखि नै ‘कोशी’ प्रदेश नामाकरणविरुद्ध प्रदर्शन गर्दै आएका छन् । प्रदेश नामाकरणको विषयमा सरोकारवालाहरुसँग पर्याप्त छलफल नगरी प्रदेशसभामा सुटुक्क विषय प्रवेश गराइएको उनीहरुको आरोप छ ।

आन्दोलनकारीको संख्या प्रदेश राजधानी बिराटनगरमा बढ्न थालेपछि सुरक्षाका दृष्टिले सुरक्षाकर्मीको संख्या बढाउन थालिएको सुरक्षा स्रोतले जनाएको छ ।

पहिचानलाई पाखा लगाएको भन्दै जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चासहित नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् र प्रदेश समिति, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय र प्रदेश समिति, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत घटकहरुले ‘कोशी’ प्रदेश खारेजीको माग गर्दै ‘लिम्बुवान किरात’ राख्न माग गरेका छन् ।

आन्दोलनमा नेकपा माओवादी केन्द्र, एमाले र कांग्रेस समर्थक आदिवासी जनजाति नेताहरुले समेत विज्ञप्तिमार्फत ऐक्यबद्धता जनाएका छन् । यस्तै संघर्ष समितिले निर्णायक आन्दालेनको तयारी गरेका छन् । ‘कोशी’ प्रदेशको नाम खारेज गरी ‘लिम्बुवान किरात’ राख्न माग गर्दै आएको संघर्ष समितिले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

दोस्रो चरणमा तालाबन्दी र आम हड्तालसहितको कार्यक्रम सार्वजनिक गरेको छ । संघर्ष समितिले आइतबार पनि प्रदेशव्यापी कालो झण्डा गाड्ने, कोण सभा गर्ने, स्थानीयत तहलगायत कार्यालयमा तालबन्दी गर्ने, सोमबार तराई क्षेत्रका स्थानीय तहहरुमा कालो झण्डा गाड्ने, कोण सभा गर्ने, स्थानीयत तहलगायत कार्यालयमा तालबन्दी गर्ने, मंगलबार पहाडी क्षेत्रका स्थानीय तहहरुमा कालो झण्डा गाड्ने, कोण सभा गर्ने, स्थानीयत तहलगायत कार्यालयमा तालबन्दी गर्ने र बुधबार गते संघर्ष समितिहरु वडातहसम्म थप शसक्त बनाउने र त्यसपछि आम हड्तालसहितको कडा आन्दोलन घोषणा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेनले यसअघि आन्दोलनको ‘डेमो’ मात्रै भएको भन्दै अबको आन्दोलन वार कि पारको हुने बताए । ‘वास्तविक आन्दोलन अब सुरु हुँदैन’ अध्यक्ष येक्तेनले भने, ‘अबको आन्दोलन प्रदेशभरका वडा वडामा पुर्याइने छ । अर्को आन्दोलन र विद्रोहको सुरुवात हुन नदिन कोशी प्रदेश तुरुन्त खोरेज गरनिुपर्दछ’, येक्तेनले भने ।

संघर्ष समितिमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली कांग्रेस सम्बद्ध लिम्बू संघ, नेकपा एमाले सम्बद्ध नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ, नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेकपा (एकीकृत समाजवादी) सम्बद्ध नेपाल लिम्बू संघ समाजवादी, जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिसहित नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत घटक संगठनका रुपमा रहेका छन् ।

बुधबार प्रदेश नामाकरणको बारेमा प्रदेश सभामा छलफल सुरु भएसँगै प्रदेशसभा भवन विराटनगरबाहिर प्रदेशको नाम पहिचानसहितको राख्न संघर्ष समितिले आन्दोलन सुरु गरेको थियो ।

प्रदेश सभाको बैठकमा प्रदेश नामाकरणको लागि भएको मतदानमा ‘कोशी’ प्रदेशको पक्षमा ८२ मत र विपक्षमा ४ मत खसेको थियो । ६ जना अनुपस्थित भए । प्रदेश सभामा सभामुखसहित ९३ जना सदस्य छन् ।

प्रतिक्रिया