जनताको गुनासो सुन्न सूर्योदयका मेयर राई गाउँ–गाउँमा

इलाम । निर्वाचनका बेला प्रायजसो सबै उम्मेद्वारहरु मत माग्न जनताको घरघरमा पुग्ने गर्छन् । हुने–नहुने, सक्ने–नसक्ने अनेकौं आश्वासनहरु बाँड्छन् । आफू निर्वाति भए यो काम गर्छु, त्यो काम गर्छु भन्दै जनतालाई आफ्नो पक्षमा पार्ने प्रयत्न गर्छन् । जसरी पनि आफू निर्वाचित हुने कसरतमा लाग्छन् । थुप्रै उम्मेद्वारहरुमाध्ये निर्वाचनमा निर्वाचित त एकजना मात्र हुन्छन् । मतपरिणाम सार्वजनिक भएपछि पराजित उम्मेद्वारहरु त कहिल्यै गाउँ फर्केर आउँदैनन्, जनताको घरमा पुग्ने त टाढाकै कुरा हुन्छ । निर्वचनमा विजयी भएकाहरु समेत गाउँ फर्कदैनन् । निर्वचनको बेलामा जनताको घरघरमा पुग्ने उम्मेद्वारहरु विजयी भएपछि जनताको घरमा नजाने, गुनासो नसुन्ने गरेको अरोप जनप्रतिनिधिलाई लाग्ने गरेको सुनिन्छ ।

तर, इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई भने जनताको घरघरमा पुग्ने गरेका छन् । आफूले निर्वाचनका बेला गरेका प्रतिवद्धताहरु पूरा गर्दै गाउँगाउँमा पुग्ने गरेका छन् । जनताको गुनासो सुन्न एवम् सुझावहरु लिन मेयर राई गाउँगाउँ पुग्ने गरेका छन् ।

‘जुनासो चौतारी’ नामक कार्यक्रम लिएर मेयर राई जनतामाझ पुग्ने गरेका हुन् । दोस्रो कार्यकालका लागि निर्वाचित मेयर राई जनताको गुनासो सुन्दै र सुझाव लिदैं जनताको घरघरमा पुग्ने गरेका छन् । मेयर राई भर्खरै सूर्योदय नगरपालिकाको वडा नम्बर १३ र १४ मा ‘जुनासो चौतारी’ कार्यक्रम लिएर नगरपालिकाको कर्मचारीसहितको टोलि लिएर जनताको घरघरमा पुगेका छन् ।

मेयर राई गाउँमाझ पुग्दा नागरिकहरुले विभिन्न किसिमका समस्याहरु राख्ने गरेका छन् । बाटोघाटो, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, युवा तथा खेलकुद, किसानको समस्या, महिला, दलित, बालबालिकाको उत्थान एवम् आदिवासी जनजातिहरुको भाषा, संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि विभिन् प्रकारका गुनासोहरु राख्ने गरेका छन् ।

यसरी जनताको गुनासो सुन्न पाउँदा आफु खुशी हुने गरेको मेयर राई बताउँछन् । नागरिकले राखेका गुनासोहरुलाई सम्बोधन गर्दै मेयर राईले नगरको नीति तथा कार्यक्रम र बजेटमा क्रमशः समावेश गर्दै लैजाने प्रतिवद्धता जनाउने गरेका छन् । नगरसरकारले समुदायका नागरिकहरूको गुनासोलाई आत्मसाथ गर्दै उनीहरुकै सुझावहरुलाई विशेष जोड दिएर नीति तथा कार्यक्रम र बजेट बनाउने गरेको छ ।

जनताको गुनासो सुन्न तथा निर्वाचनमा जनता समक्ष गरेका प्रतिबद्वताको छलफल गर्नका लागि नागरिकहरूको घरघरमा पुग्न गरेको मेयर राई बताउँछन् । ‘नगरपालिकाको नीति तथा कार्यक्रमका लागि समेत आवश्यक सल्लाह र सुझाव लिने उद्देश्यले गुनासो चौतारी कार्यक्रम लिएर जनताको गुनासो सुन्न घरघरमा जाने गरिएको छ’ मेयर राई भन्छन्, ‘जनताबाट विभिन्न किसिमका गुनासो र सुझावहरु आउने गरेको छ । मुख्यगरी महिला, दलित, आदिवासी जनजाति, बालिबालिका एवम् विपन्न र किसानहरुले विभिन्न गुनासो राख्ने गरेका छन् । त्यसलाई हामी नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश गर्ने गरेका छौं ।’

मेयर राईले सूर्योदय नगरपालिकाले जनताको गुनासोलाई आत्मसाथ गर्नका लागि नगरसरकारले अघिल्लो कार्यकालदेखि नै गुनासो चौतारी कार्यक्रम संचालन गर्दै आएको बताए । १४ वटा वडा रहेको सूर्योदय नगरपालिकाका सबै वडामा गुनासो ‘जुनासो चौतारी’ संचालन हुने मेयर राईले बताए ।

जनताको भावना र जनताको अपेक्षाहरूलाई ग्रहण गरी जनताले नगरसरकारले गरेको कार्यको मुल्याङ्कन सहि छ कि गलत छ भनी जनताले दिएको मतको नासो जनतालाई नै फिर्ता गर्नका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको मेयर राई बताउँछन् ।

यस्तो कार्यक्रमले नागरिकबीचको छलफलले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निणर्य प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवद्र्धन गर्ने गर्दछ ।

प्रतिक्रिया