छायाँनाथ रारा नगरपालिकाले गर्यो अवैध संरचना भत्काउन सुरु

मुगु । छायाँनाथ रारा नगरपालिकाले सदरमुकाम गमगढी बजारमा सार्वजनिक जग्गा मिचेर बनाईएका अवैध संरचना भत्काउन सुरु गरेको छ ।

पटक–पटक सूचना जारी गदै सार्वजनिक जग्गा मिचेर बनाईएका संरचना हटाउन आग्रह गरे पनि स्थानीयले अटेरी गरेपछि शुक्रबार छायाँनाथ रारा नगरपालिकाले आफै अवैध संरचना भत्काउन थालेको हो ।

गत असोज १४ गते पहिलो ३५ दिने सूचना जारी गर्दै गमगढी बजार साँघुरो भएको र सार्वजानिक जग्गा मिचेर बनाइएका संरचना घर, भर्याङ, बार्दली, रेलिङलगायत हटाउन आग्रह गरेको थियो ।

त्यसपछि अर्को सूचना मंसिर ९ गते र अर्को सूचना पुस २१ गते लगत्तै सर्वदलिय बैठक बसेर रेखांकन गरेर सार्वजनिक जग्गामा बनाइएका संरचनाको चिन्ह लगाउने काम गरिनुका साथै अवैध संरचना हटाउन पुनः फागुन ५ गते अन्तिम सूचना जारी गरेर अवैध संरचना हटाउन आग्रह गरे पनि स्थानीयले कुनै चासो नराखी अटेरी गरेपछि नगरपालिका बाध्य भएर आफै संरचना भत्काउन लागेको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुुख बिष्णुकुमार भामले बताए ।

उनले यो कार्य कुनै स्वार्थका लागि नभई सुन्दर गमगढी बजार बनाउनको लागि भएको बताए । सार्वजनिक जग्गा मिचेर बनाइका संरचना हटाउन बारम्बार आग्रह गर्दा पनि सुनुवाई नभएपछि स्थानीय प्रशासनको सहयोगमा आफै नगरपालिकाले अवैध संरचना भत्काउने काम गरेको उनले बताए ।

अहिलेलाई सार्वजानिक जग्गा मिचेर बनाइएका संरचनाहरु घर, भर्याङ, बार्दली, रेलिङलगायतका भत्काउने कार्य भएको छ । घरहरुको लागि पुनः सम्बन्धित घरमा १५ दिने सूचना टाँस गरेको उनले जानकारी दिए । १५ दिनसम्म पनि सार्वजनिक जग्गामा भएका घर नहटाएमा नगरपालिकाले डोजर लगाएर भत्काउने नगरप्रमुख भामको भनाइ छ ।

गमगढी बजारमा सार्वजानिक जग्गा मिचेर बनाइएका संरचना नगरपालिकाले भत्काउन थालेपछि स्थानीय खुशी भएका छन् । साँघुरो बजारमा आवतजावत गर्न समस्या र आगलागीको जोखिमलगायत एम्बुलेन्स दमकल बजारमा लिन समस्या हुने गरेको छ ।

बजारमा सार्वजनिक जग्गा मिचेर बनाएका संरचना भत्काउन थालेपछि बजारको सडक फराकिलो भएको र अब सहज हुने भएको स्थानीय दिपेश जंग शाहीले बताए । यो कार्य अघिल्लो कार्यकालमा पनि सार्वजनिक जग्गामा भएका संरचना हटाउने भन्दै रेखांकन गरिएको थियो ।

शुक्रबार अदालत चोक छत्त रावलको घरबाट अवैध संरचना भत्काउन गरिएको र पहिलो दिन कृष्ण चोकसम्म भत्काउने कार्य भएको छ । भोलि तल्लो बजारमा रहेका अवैध संरचना भत्काउने छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया