समृद्धिको आधार नै पर्यटन हो : राष्ट्रपति भण्डारी

पर्वत । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धिको आधार नै पर्यटन भएको बताएकी छन् । बुधबार पर्वतको जलजला गाउँपालिकाको पर्यटकीय क्षेत्र हम्पाल लेकको अवलोकन गर्दै भण्डारीले नेपाल धार्मिक, सांस्कृतिक र जलस्रोतदेखि अन्य थुप्रै कुरामा धनी रहेको छ । यी विभिन्न क्षेत्रको सही तरिकाले सदुपयोग र प्रवद्र्धन गर्ने हो भने पनि नेपाल समृद्ध बन्ने पक्का रहेको बताए ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपालका धार्मिक तथा पर्यटकीय स्थलको बधिक विकासमा जोड दिनुपर्ने जरुरी रहेको छ । ग्रामीण क्षेत्रका नागरिकको जीवनस्तर उकास्न पनि ग्रामीण पर्यटनले योगदान गर्न सक्छ ।’ जलस्रोत, कृषि, वन, र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि गर्न सक्ने हो भने बेरोजगारीको समस्या केही हदसम्म हट्ने उनको भनाइ छ ।

जलजला गाउँपालिकाको धार्मिक एवं पर्यटकीय क्षेत्रको अवलोेकनको लागि पर्वत आएकी भण्डारीले पर्यटकीय स्थलहरूको प्रचारप्रसार र महत्वको विषयमा तिनै तहका सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिएकी छन् । उनले देशका सम्पूर्ण स्थानीय सरकारले पनि महत्वका साथ धार्मिक, सांस्कृतिक र पर्यटनको उच्च संम्भावना भएका यस्ता क्षेत्रहरूलाई प्राथमिकतामा राखेर काम गर्ने हो भने अहिले भएको धराशायी अर्थतन्त्र लयमा फर्किन सहज हुने बताइन् ।

राष्ट्रपति भण्डारी पहिलोपटक पर्वतको जलजला पुगेकी हुन् । पर्वतको जलजला गाउँपालिकास्थित धार्मिक पर्यटकीय स्थल वराह तालमा निर्माण भएको आदि वराह मन्दिरको उद्घाटन पनि भण्डारीले गरेकी छन् । हम्पाल लेकको दृश्यावलोकनले आफू धेरै खुसी र यहाँको दृश्यले आफूलाई लालायित बनाएको बताइन् ।

पर्वत पर्यटनको प्रचुर संम्भावना बोकेको जिल्ला भएकाले यस जिल्लाका विभिन्न पक्षको सम्पूर्ण निकायले विषेश ध्यान दिएर संरक्षण, प्रर्वद्धनमा जोड दिनुपर्ने बताइन् ।

प्रतिक्रिया