राष्ट्रपति भण्डारीद्धारा हेटौंडा अस्पतालको नयाँ भवन उद्घाटन

संघीय सरकारको ४३ करोड रुपैयाँ लागतमा निर्माण भएको ३ तीन तले भवनकाे उद्घाटन गरिएकाे हाे

हेटौंडा । मकवानपुरको हेटौंडामा रहेको मदनभण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल नयाँ भवनको उद्घाटन गरिएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले भवनको उद्घाटन गरेकी हुन् । संघीय सरकारको ४३ करोड रुपैयाँ लागतमा निर्माण भएको ३ तीन तले भवनको राष्ट्रपति भण्डारीले उद्घाटन गरिन् ।

प्रतिष्ठानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानमा नागरिकको लागि सुनिश्चित स्वस्थ्य सेवाको अधिकार लागू गराउनमा प्रतिष्ठानले टेवा पुर्याउने बताइन् । उनले जनताको स्वास्थ्यका निमित्त स्वास्थ्य क्षेत्रमा विकास हुन जरुरी रहेको बताइन् ।

आम नागरिकलाइ गुणस्तरीय सेवा प्रदान गर्न जननेता मदन भण्डारीको स्मृतिमा भवन निर्माण हुनुले आफूलाई खुसि लागेको उनले बताइन् । उनले भनिन्, ‘केवल रोग नलाग्नु मात्र स्वस्थ हुनु होइन्, स्वस्थ हुन सकारात्मक रहनु नै वास्तवमा स्वस्थ रहनु हो । हाल व्याप्त जनसंख्या बृद्दि, संक्रामक रोगहरुको प्रकोपलाई न्युनिकरण गर्ने कुरामा मध्यनजगर गर्दै सार्वजनिक स्वास्थ्य सेवालाई सुदृढ गर्न तिनै तहको महत्त्वपूर्ण भुमिका रहनेछ ।’

७० शय्याको नयाँ भवनमा ७० बेड सञ्चालन भएसँगै अब हेटौँडा अस्पतालमा २ सय बेड नियमित सञ्चालन भएका छन् । अस्पतालको नयाँ भवन निर्माणसँगै अस्पतालको इमरजेन्सी बेड संख्या ८ बाट २४ वटामा वृद्धि भएको छ । अस्पतालमा हाल ५७ जना चिकित्सकहरु कार्यरत रहेकोमा ३८ जना विषेशज्ञ डाक्टरहरू छन् । अस्पतालमा मेडिकल अधिकृत १९ जना रहेका छन् भने नर्सिङ अधिकृत ५ जना, स्टाफ नर्स ३८ जना समेत गरेर २ सय जना स्वास्थ्यकर्मी अस्पतालमा कार्यरत रहेको प्रतिष्ठानले जनाएको छ । हाल अस्पतालमा १७ बेडको आइसियू, २० बेडको एचडीयू क्षमता र ६ बेडको डायलिसिस सेवा सञ्चालनमा रहेको छ ।

संघीय सरकारले बीएस कन्ट्रक्सन कम्पनिसँग करिव ३५ करोड रुपैयाँ लगानिमा सम्झौता गरि मिति २०७६ भाद्र ७ गतेदेखि निर्माण कार्य सुरु भएको सो अस्पत्तालको विस २०७६ असोज २ गते मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको वागमति प्रदेश सभाबाट विधिवत रुपमा नामाकरण भएको थियो ।

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति विश्वराज जोशी, वागमति प्रदेश प्रमुख यादबचन्द्र शर्मा, वागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति शालिकराम जमकट्टेल, प्रदेश सरकारका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सभामुख भुवन पाठक, प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, प्रतिनिधि सभा सदस्य महेश बर्तौला, राष्ट्रिय सभा सदस्य रामचन्द्र राईलगायतको उपस्थिति रहेको थियो ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया