थाङ्कामा रमेका फुर्नाम्गेल

मौलिकताविना राज्यको पहिचान नहुने भएकाले उनले नेपाली समाजको परिचयलाई स्थापित गर्दै तिनमा सामाजिक पक्षलाई जोड्नुपर्ने विचार व्यक्त गर्दै संरक्षण र प्रवद्र्धनका निम्ति काम गर्नुपर्ने विचार व्यक्त गर्दछन् । उनको विचार कला र संस्कृतिको मौलिकता जगाउने एउटा सञ्जिवीनीको रुपमा आएको छ

कलाको सांस्कृतिक, धार्मिक, सामाजिक तथा मौलिकताको विषयमा उनलाई अवगत हुँदै गयो तब यसप्रतिको उनको गहिरो अभिरुचि झनै जागृत हुँदै गयो । आमाको सपना र आफ्नो लक्ष्यलाई उनले पूरा गर्न मिहिनेतसँगै यसको दार्शनिक तथा धार्मिक पक्षका बारेमा समेत जानकारी लिन थाले

देवेन्द्र थुम्केली

विषय प्रवेश

कला मानव जीवनको उत्कृष्ट सिर्जनात्मक अभिव्यक्ति हो । रङ र रेखाका माध्यमबाट जीवन र जगतका विषयलाई कल्पना र भावनाको संयोजनबाट सिर्जना गर्नु कलाकारको काम हो । यस कार्यमा विगत चार दशकदेखि सक्रिय कलाकार व्यक्तित्व फुर्नाम्गेल मोक्तान नेपाली कला क्षेत्रमा परिचित नाम हो । नेपालमा प्रचलित परम्परागत ‘थाङ्कु’ अर्थात् थाङ्का चित्रकलाका आदर्श र नियममा रहेर कलाकर्म गर्दै आएका मोक्तानको सांस्कृतिक चेत भने समाजको प्रगतिशील रूपान्तरणमा समेत उत्तिकै सशक्त र प्रभावकारी रहँदै आएको छ । समाजको प्रगतिशील रूपान्तरणविना समानता नआउने विश्वास राख्ने उनले कलामा भने बौद्ध धर्म र आदर्शका विषयलाई शास्त्रीय ढङ्गबाट बनाउँदै आएका छन् । नेपालमा लामो परम्परा बोकेको थाङ्कु कलालाई पेशाको अङ्गीकार गर्दै आएका मोक्तानले यसबीचमा सयौँ चित्र बनाइसकेका छन् ।

परिचय

फुर्नाम्गेल मोक्तानको जन्म वि.सं. २०२६ चैत १५ गते साविकको रामेछाप खनियापानी–३ मा अर्थात् हालको सुनापति गाउँपालिका–५, खनियापानी, भिरकोटमा भएको हो । उनका बुबाको नाम सार्कीमान तामाङ मोक्तान र आमाको नाम ऊर्मो ढोल्मो बल हो । फुर्नाम्गेल मोक्तान हाल भक्तपुरको सुर्यविनायक–८ शिवाडोलमा रहेर कलाकर्म गरिरहेका छन् । सामान्य किसान परिवारमा जन्मिएका मोक्तानका एक दाइ र तीन दिदी छन् ।

कलायात्रा

फुर्नाम्गेलको बाल्यकाल गाउँमै बित्यो । गाउँले जीवन, खेतीकिसानी कर्मसँगै उनको बाल्यकाल घाँसदाउरा, गोठाले जीवनमै बित्यो । सानोछँदा परिवारको कान्छो सदस्य भएकाले उनी सबैको लाडपियारमा हुर्किए । सबैको थैयाथैयामा हुर्किए पनि सानैमा उनमा कलाप्रतिको अनुराग भने थियो । किताबमा कोरिएका चित्र तथा गुम्बाका भित्तामा बनाइएका थाङ्कु चित्रबाट उनी प्रभावित भएको सुनाए । किताबमा छापिएका दृष्टान्तचित्र कापीमा बनाएर उनले आफ्नो चित्रकलाको रुचिलाई बेला बेलामा जगाइराखे । गाउँकै श्री बाल प्राथमिक विद्यालयमा ३ कक्षासम्म पढेपछि उनले गुरुकुल पद्धतिमा थाङ्का कला सिकेको सुनाए । ९–१० वर्ष लागेपछि उनलाई आमाले थाङ्का सिक्न गुरुकुलमा पठाइन् । उनले सानै उमेरमै केही वर्षसम्म गुरुकहाँ थाङ्का कलाको आधारभूत ज्ञान लिए ।

बेथान भल्वाडी गुम्बाका लामागुरु ङेमा लामा उनका कलागुरु हुन् । उनको सान्निध्यमा रहेर मोक्तानले थाङ्का कलाको प्रारम्भिक ज्ञान लिएको सुनाए । पर्याप्त सामग्री नपाइने भए पनि उनले आफूभित्रको कला व्यक्तित्वलाई निखार्न निकै मिहिनेतका साथ सिक्ने र त्यसका विविध पक्षका बारेमा जानकारी लिँदै अगाडि बढे । जब यस कलाको सांस्कृतिक, धार्मिक, सामाजिक तथा मौलिकताको विषयमा उनलाई अवगत हुँदै गयो तब यसप्रतिको उनको गहिरो अभिरुचि झनै जागृत हुँदै गयो । आमाको सपना र आफ्नो लक्ष्यलाई उनले पूरा गर्न मिहिनेतसँगै यसको दार्शनिक तथा धार्मिक पक्षका बारेमा समेत जानकारी लिन थाले । गाउँ आउने जानेक्रममा उनले पढाइमा पनि ध्यान दिन थाले ।

नेपालमा जहिले पनि राजनीतिक कोपभाजनमा कला तथा संस्कृति पर्ने गरेको पाइन्छ । तसर्थ परम्परागत कलाको विकास, संवद्र्धन, संरक्षण तथा प्रचार प्रसार र खोज अनुसन्धानका लागि छुट्टै प्रतिष्ठान स्थापना गरिनुपर्ने जिकिर उनको रहेको छ । परम्परागत कलाको संरक्षण र संवद्र्धनका लागि नेपालका सातै प्रदेश तथा सम्भव भएसम्मका स्थानीय तहमा सङ्ग्रहालय स्थापना गरिनुपर्नेमा उनले जोड दिए


थाङ्का बनाउने भनेर उनी राजधानी छिरे । भक्तपुरमा बसेर उनले थाङ्का कलासम्बन्धी काम गर्दै अगाडि बढे । त्यससँगै उनले रात्रीकालीन स्कुलमा पनि पढे । बिहानी मावि भेलुखेल भक्तपुरबाट २०४५÷०४६ सालमा एसएलसी उत्तीर्ण गरेपछि भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीबाट आइए अध्ययन गरे । उनले आइए उत्तीर्ण गरी नेपाली भाषा र राजनीति शास्त्रमा सोही क्याम्पसमा बिएको अध्ययन पूरा गरे । नेपाली, हिन्दी, अंग्रेजी तथा मातृभाषा तामाङमा संवाद गर्न सक्ने मोक्तानले आफ्नी आमाबाट कला क्षेत्रमा लाग्ने प्रेरणा पाएको सुनाए । उनको कलाकारिताका निम्ति आमाको सधैंको उत्प्रेरणा र हौसला नै सबैभन्दा ठूलो उपहार रहेको देखिन्छ ।

२०४५ सालमा कान्छी बलसँग प्रेमविवाह गरेका उनका दुई छोरा नदीश (ट्याटु आर्टिस्ट) र जगदीश (समसामयिक कलाकार) पनि कला क्षेत्रमै सक्रियताका साथ लागिरहेका छन् । कला प्रदर्शनी तथा आदिवासी तथा जनजातिको अध्ययनका लागि भारत र फ्रान्समा समेत पुगेका मोक्तान विभिन्न संघ–संस्थामा आबद्ध भई सामाजिक कार्यमा समेत सक्रिय छन् । उनीसँग गुरुकुलमा थाङ्काको आधारभूत ज्ञान लिएपछि विभिन्न व्यावसायिक थाङ्का उत्पादन स्कुलसँग रहेर २५ वर्षसम्म काम गरेको अनुभव छ ।

कलाकृति

कलाकार मोक्तानका कलालाई आलङ्कारिक, रूपभेदिक, वर्णनात्मक तथा प्रतीकात्मक गरी चार प्रकारले विभाजन गरी अध्ययन गर्नुपर्ने हुन्छ । यिनै विषयको समुच्चयका रूपमा उनका कला साधना व्यवस्थित बनेको पाइन्छ । बौद्ध धर्मका आदर्श र मान्यतालाई अङ्गीकार गरी बनाइएका उनका कलामा जीवन र जगतका विविध पक्षलाई प्रतीकात्मक रूपमा समेत प्रस्तुत गरिएको पाइन्छ ।

उनका थाङ्कामा आलङ्कारिक पक्ष पनि निकै सबलताका साथ प्रस्तुत भएको देखिन्छ । विशेषतः उनले हिमाल, पहाड, नदी, झर्ना, बादल, फूल तथा फल, अलौकिक पशुपंक्षी, नाग (सर्प), रुख, जङ्गल, कमल, बुट्टेदार रेशमी वस्त्र आदिको कलात्मक रूपमा प्रयोग गर्दै चित्रमा आलङ्कारिक पक्षलाई उजागर गरेको पाइन्छ । चित्रमा पानी र बादलको प्रवाहलाई उनले निकै चलायमान तबरले देखाउनुभएको छ । त्यस्तै, ढुङ्गा, चौर, रुख आदिलाई उनले अलङ्करणका रूपमा चित्रण गर्दै त्यसमा बाह्य सौन्दर्य भर्ने काम गर्दछन् ।


रूपभेदिक चित्रमा उनले बुद्ध, बोधिसत्त्व, सिद्धपुरुष, रिन्पोछे तथा बौद्ध धर्मका विभिन्न देवदेवी लगायतलाई मुख्य विषयका रूपमा बनाएको देखिन्छ । चित्रमा देवीदेवताका चरित्रानुसारको स्वभाव र तिनको उद्देश्यलाई सकेसम्म प्रष्ट्याउने काममा कलाकार मोक्तानले आफूलाई केन्द्रित गरेको आभास मिल्छ । ती चित्रमा शास्त्रीय मान्यतानुसार देवदेवीका आयुध, वाहन तथा मुद्रा र आसनलाई निकै दक्षताका साथ प्रस्तुत गरेको पाइन्छ ।

वणर्नात्मक थाङ्कामा उनले बुद्धको जीवनका महत्वपूर्ण घटना, जातक कथा, विभिन्न देवदेवीका ग्रन्थमा उल्लेख भएका उत्पत्ति, तिनको कर्म तथा उद्देश्यमा केन्द्रित रहेका कथालाई चित्रण गरेका छन् । उनका यस्ता वर्णनात्मक प्रकृतिका कलामा यस्ता कलामा घटना र विषयलाई बढी महत्व दिएको देखिन्छ ।
त्यस्तै, उनले बौद्ध धर्म र आदर्शका विविध पक्ष र विषयलाई प्रतीकात्मक ढङ्गले चित्रसतहमा उतारेको पाइन्छ । उनले बनाएका बिम्बात्मक अर्थात् प्रतीकात्मक कलाले उनको बौद्धिक, सांस्कृतिक तथा कलात्मक चेतलाई बाहिर ल्याउन मद्दत गरेको देखिन्छ । प्रतीकात्मक कलामा प्रायःजसो मण्डला चित्रण तथा अन्य सांकेतिक तथा भावप्रधान कला रहेका छन् ।

त्यसैगरी उनका कलामा रेखा र रङको उचित ढङ्गले संयोजन गरेको पाइन्छ । भावप्रवणता, धार्मिक तथा सांस्कृतिक जीवनका विविधतालाई कलात्मक रूपमा प्रस्तुत गर्दै तिनमा प्राण भर्ने काम कलाकारले गरेको देखिन्छ । त्यस्तै, हस्तमुद्रा, आसन तथा आयुधको उचित तबरले संयोजन गर्दै तिनलाई गतिशील बनाएको पाइन्छ ।

कलाकृतिको प्रवृत्ति

फुर्नाम्गेलले बौद्ध तथा हिन्दू धर्ममा आधारित रहेर सयौं थाङ्का चित्र बनाइसकेका छन् । उनका कलामा तिब्बती, नेवार, हिमाली÷तामाङ, जापनिज लगायतका शैलीको प्रभाव परेको पाइन्छ । एउटै परम्परामा बन्ने कलालाई भिन्न र आकर्षक ढङ्गले प्रस्तुत गर्न सक्नु नै एक सफल कलाकारको सङ्केत हो । यस्तो क्षमतामा मोक्तानको विशिष्टता रहेको छ । उनले बनाएका कलामा बुद्ध जीवन, शान्त बुद्ध, विभिन्न रिन्पोछे, लोकेश्वर लगायतका देवीदेउता रहेका छन् । उनले कलामार्फत मानव कल्याण तथा सम्पूर्ण चराचर जगतको विषयलाई बौद्ध आदर्शानुसार चित्रण गर्दै आएको पाइन्छ ।

कलाक्षेत्रमा गर्नुपर्ने काम

परम्परागत थाङ्का कलाको शास्त्रीय ज्ञान (शिक्षा), धार्मिक तथा सांस्कृतिक महत्वको बारेमा जनचेतना फैलाउनु पर्ने कुरामा फुर्नाम्गेलले जोड दिँदै आएका छन् । उनले व्यापक अध्ययन अनुसन्धानका निम्ति राज्य, विभिन्न सामाजिक संघ–संस्था, विश्वविद्यालय, प्रतिष्ठान, स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार तथा व्यापारिक प्रतिष्ठानले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर काम गर्नुपर्ने धारणा व्यक्त गरे । परम्परागत कलाको अध्ययन अनुसन्धान गर्न चाहने व्यक्ति, विद्यार्थी अर्थात् अनुसन्धानदातालाई राज्यले आर्थिक लगायतको सहयोग गर्नुपर्ने उनको भनाइ छ । यस्तै, परम्परागत कला सिर्जनामा आफ्नो अमूल्य जीवन व्यतीत गरेका र गरिरहेका कलाकारलाई सामाजिक रूपले उच्च सम्मान दिई आत्मसम्मान बढाउने कार्यमा राज्य र तिनका सम्बन्धित निकायले बढवा दिनुपर्ने धारणा उनको रहेको छ ।

नेपालमा जहिले पनि राजनीतिक कोपभाजनमा कला तथा संस्कृति पर्ने गरेको पाइन्छ । तसर्थ परम्परागत कलाको विकास, संवद्र्धन, संरक्षण तथा प्रचार प्रसार र खोज अनुसन्धानका लागि छुट्टै प्रतिष्ठान स्थापना गरिनुपर्ने जिकिर उनको रहेको छ । परम्परागत कलाको संरक्षण र संवद्र्धनका लागि नेपालका सातै प्रदेश तथा सम्भव भएसम्मका स्थानीय तहमा सङ्ग्रहालय स्थापना गरिनुपर्नेमा उनले जोड दिए । यस्ता सङ्ग्रहालयमा यस क्षेत्रका साधक र सर्जकबाट तयार पारिएका कलाकृतिलाई आवश्यक परे राज्यले खरिद गरी कलाकारलाई आर्थिक रूपले बाँच्ने आधार दिनु पर्दछ भन्ने उनको मान्यता रहेको छ । उनका अनुसार परम्परागत कलामा अझ निखार ल्याउनका लागि कलाको परम्परागत मूल्य, मान्यता र भाव तथा शास्त्रीयतालाई कायम राख्दै यसका विषयवस्तु, प्रस्तुतिमा अझ चुस्तता दुरुस्तता प्रदान गर्ने बौद्धिक विमर्शका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको सोच छ । त्यस्तै, मौलिक र शैलीगत सौन्दर्यलाई उत्कृष्ट ढङ्गले विकास गर्न यस कलाको सापेक्षतामा समालोचनात्मक पद्धति र परम्परागत चित्रकलासम्बन्धी स्वतन्त्र कलापत्रकारितालाई पनि प्रोत्साहन गर्न जरुरी रहेको तर्क उनको छ ।

थाङ्काप्रतिको धारणा

कलाकार फुर्नाम्गेलका विचारमा थाङ्का नेपालमा परम्परागत हिमालयन बौद्ध धर्म र संस्कृति अनुसार नेपालका उच्च हिमाली भेग (टि–भोट एरिया) मा बसोबास गर्ने विभिन्न जाति र समुदायमा प्रचलित कला हो । यस्तै मध्यपहाडी भेगमा बहुसङ्ख्यक रूपमा बसोबास गर्ने तामाङ, गुरुङ लगायतका समुदायमा हिमाली बौद्ध धार्मिक गुरुकुलअन्तर्गत रही धार्मिक र सांस्कृतिक प्रयोजनका निम्ति प्राचीनकालदेखि विकास भएको मौलिक कलाको रूपमा थाङ्का कला परिचित छ । यसको ऐतिहासिकता बौद्ध धर्मको प्रादूभाव भएदेखि प्रचलनमा आए पनि यसको विकासको चरण भने निकै लामो रहेको छ । बौद्ध धर्म मान्ने प्रायः समुदायमा धार्मिक र सांस्कृतिक महत्व समान रहे तापनि शैलीगत हिसाबले केही फरक तरिकाले थाङ्का कला बन्दै आएको पाइन्छ । परम्परागत पौभा प्राचीन र मध्यकालदेखि ऐतिहासिक रूपले उपत्यकामा बसोबास गर्ने बौद्ध धर्मका बज्रयानी (तन्त्रयानी) नेवार समुदायका कलाकर्मीले धार्मिक तथा सांस्कृतिक प्रयोजनको निम्ति तयार पार्दै विकास हुँदै आएको चित्रकला हो ।

निष्कर्ष

समाजका लागि कलाको महत्त्व रहने भएकाले कलाकारले सामाजिक, सांस्कृतिक, धार्मिक तथा परम्परालाई कलामार्फत अभिव्यक्त गर्दै आइरहेका हुन्छन् । त्यही अभिव्यक्तिले मौलिकतासँगै सभ्यताको निर्माण गरिरहेको हुन्छ । नेपालमा पनि प्रचलित परम्परागत कलाले पनि नेपाली सभ्यतालाई जीवन्त बनाउँदै देशविदेशमा चिनाउन सफल भएको छ । यो कला परम्परालाई जीवन्त राख्न कलाकार मोक्तानले लामो समयदेखि योगदान दिइरहेका छन् । उनका कलाकृतिहरू परम्पराको पुनरावृत्ति मात्रै नभई सिङ्गो सांस्कृतिक, सामाजिक तथा इतिहासलाई प्राण भर्ने सञ्जीवनी बुटी पनि हुन् । बौद्ध आदर्श र तिनका जीवनबोधी मान्यतालाई कलात्मक रूपमा चित्रण गर्नु अनि त्यसको महत्वलाई स्थापित गर्नु यो कला परम्पराको विशिष्ट विशेषता हो । यसको मौलिकतालाई जोगाउने र सांस्कृतिक महत्वलाई उजागर गर्ने अनि आफ्नो पहिचानलाई त्यसैसँग स्थापित गर्दै गर्दै कलाकार फुर्नाम्गेल मोक्तान अगाडि बढिरहेका छन् । उनले नेपाली समाजलाई गतिशील बनाउन र सांस्कृतिक पहिचानमार्फत मौलिकता जोगाउन काम गरिरहेका छन् । समाजको समृद्धिका लागि कला साहित्यको विकासमा राज्यले विशेष पहलकदमी लिनुपर्ने उनको जोड छ ।

मौलिकताविना राज्यको पहिचान नहुने भएकाले उनले नेपाली समाजको परिचयलाई स्थापित गर्दै तिनमा सामाजिक पक्षलाई जोड्नुपर्ने विचार व्यक्त गर्दै संरक्षण र प्रवद्र्धनका निम्ति काम गर्नुपर्ने विचार व्यक्त गर्दछन् । उनको विचार कला र संस्कृतिको मौलिकता जगाउने एउटा सञ्जिवीनीको रुपमा आएको छ ।

प्रतिक्रिया