‘संविधानको पूर्ण कार्यान्वयनपछि मात्र हाम्रो संविधानको समस्या र त्रुटिमा पुग्न सकिन्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयनका लागि सबैलाई आग्रह गरेका छन् ।

निर्वाचन आयोग र नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने, “जनताको धेरै ठूलो बलिदानी र पहलकदमीपछि हामीले संविधानसभाबाट संविधान बनायौँ, यसका लागि झण्डै ७० वर्ष लामो संघर्ष गर्नुपर्यो, हाम्रो संविधान राजनीतिक सहमति र सम्झौताको दस्तावेज हो, संविधानका विविध विषयमा हामी सबैका आफ्ना दृष्टिकोण छन्, कतिपय विषयमा विमति पनि होलान् तर हामीले बनाएको संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो ।’

संविधान कार्यान्वयनका लागि अपरिहार्य ऐनहरू बनाउन जरुरी भएकाले सरकारले यसका लागि आवश्यक पहल थालिसकेको उनको भनाइ थियो ।

‘संविधानको पूर्ण कार्यान्वयनपछि मात्र हाम्रो संविधानमा के कति समस्या र त्रुटि छन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ’, उनले भने, ‘संविधानले भनेको कुरा पहिला लागू गरौँ, त्यसले के नतिजा दिन्छ, त्यसपछि समीक्षा गरौँला, संविधानमा भएको व्यवस्था लागू नगरी संविधानलाई दोष दिनुहुँदैन ।’

प्रधानमन्त्री दाहालले भने, ‘निजामती सेवा ऐनदेखि धेरै ऐनहरू बनाउन बाँकी छ, पहिला काम गरौँ, त्यसपछि मूलभूत विषयमा समीक्षा गरौँ, अहिले नै समीक्षातिर लाग्यौँ भने राजनीतिक अस्थिरता आउन सक्छ, दर्शन, सिद्धान्त, प्रणाली जनताले धेरै हेर्दैनन, उनीहरूले आफ्नो जीवनमा आउने परिणाम हेर्छन्, सिस्टम जति राम्रो भए पनि जनताले स्वीकारेनन् भने त्यो समस्या हुन्छ, जनता नै निर्णायक हुन् ।’

कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालका साथै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूको सहभागिता थियो ।

प्रतिक्रिया