सरकारी बिदा धेरै छ, पुनर्विचार गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने, ‘हाम्रा सरकारी बिदाहरू धेरै भए, यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ, यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषद्मा पनि छलफल गरेका छौँ, गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ ।’

प्रधानमन्त्रीले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे थप छलफल आवश्यक भएको बताए ।

उनले भने, ‘हामीले गणतन्त्र, प्रजातन्त्र, लोकतन्त्र दिवस मनाउँछौँ, तर ती सबै कार्यक्रमको चरित्र एउटै छ, त्यसलाई कसरी एकीकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक छ ।’

बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समिति गठन गरिएको छ ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट जहानियाँ निरंकुश राणाशासनको अन्त्य गर्दै लोकतन्त्रको प्रक्रियामा अघि बढेको ऐतिहासिक दिनको स्मरणमा प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया