पर्वत । सातौँ पर्वत महोत्सवअन्तर्गत गण्डकी प्रदेशका स्थानीय तहस्तरमा आयोजना गरिएको भलिबल प्रतियोगितामा पर्वतको फलेवास नगरपालिका विजयी भएको छ ।
शनिबार भएको फाइनल खेलमा पर्वतकै महाशिला गाउँपालिकाविरुद्ध पाँचमध्येका तीन सेटमा जित निकाल्दै फलेवास नगरपालिकाले खेल जितेको हो ।
सेमिफाइनल खेलमा बागलुङको गलकोट नगरपालिकालाई पाखा लगाउँदै फलेवास फाइनलमा आइपुगेको हो । महाशिलाले पर्वतकै मोदी गाउँपालिकालाई पराजित गर्दै फाइनलको यात्रामा आएको थियो ।
प्रतियोगितामा प्रथम बनेको फलेवासले दुई लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो बनेको महाशिलाले एक लाख नगदसहित मेडल र प्रमाणपत्र पाएको छ । साथै, सान्त्वना स्थानमा आउने दुई समूहलाई नगद ३०–३० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाएका छन् ।
विधागतरूपमा सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार, उत्कृष्ट सटरलाई २५ सय, उत्कृष्ट ब्लकरलाई २५ सय, उत्कृष्ट लिफ्टरलाई २५ सय, उत्कृष्ट सर्भिसलाई २५ सय र उत्कृष्ट डिफेन्डरलाई २५ सय रुपैयाँ पुरस्कार दिइएको छ ।
प्रतिक्रिया