सेलिब्रिटीका बच्चा गर्भमा बोक्दाको हर्ष र आघात

सरोगेसी भनिने भाडाको कोखबाट बच्चालाई जन्म दिने सेलिब्रिटीहरूको बढ्दो सूचीमा गत साता अमेरिकी सञ्चारकर्मी र व्यवसायी पेरिस हिल्टन पनि थपिइन्। हामीले आफ्नो कोख भाडामा दिनेहरूको कुरा निकै कम मात्रै सुन्न पाउँछौँ । तर शन्ना सेन्ट क्लेयरले यस्तो काम गज्जब वा डरलाग्दो के हुन्छ ? भनेर बताएकी छिन् ।

यो समाचारमा उल्लेख गरिएका सेलिब्रिटीहरूको गोप्यता सुरक्षित गर्न उनीहरूको नाम परिवर्तन गरिएको छ ।
शन्नाको फोनमा बत्ती बल्छ । त्यो फोन क्याथरिनले गरेकी हुन्छिन् । जहाँसम्म शन्नालाई सम्झना छ क्याथरिनले हेलोसम्म पनि नभनी कुरा सुरु गर्छिन्, ‘सुन त्यो कुरा तिमीले समाचारबाट थाहा पाउनुअघि नै म भन्न चाहन्छु । मैले अर्को पनि सरोगेट प्रयोग गरेकी थिएँ र उनले भर्खरै बच्चा जन्माएकी छिन् ।’

आफूलाई सम्हाल्न शन्ना थचक्क बसिन् । क्याथरिनको बच्चा उनको कोखमा आएको केही साता मात्रै भएको थियो । क्याथरिनको आफू मात्र एक्लो सरोगेट नभएको उनले त्यही बेला मात्रै थाहा पाएकी थिइन् । तर, अब क्याथरिनले सन्नाको पेटमा भएको बच्चा पनि चाहन्छिन् त ? उनको मनमा कुरा खेल्यो । त्यसको भोलिपल्टका लागि तय भएको नियमित जाँचपछि छलफल गर्ने वाचा गर्दै उनले संवाद टुंग्याइन् ।

त्यसको केही घण्टापछि शन्नाले क्याथरिनलाई सन्देश पठाइन् । ‘समाचार सुनेर मलाई अचम्म लागे पनि तिम्रो लागि म खुसी छ ु। बच्चा भएकोमा खुसी मनाउनु । मेरो जाँचपछि कुरा गरौँला’, उनले लेखिन् । क्याथरिनले उनको सन्देशको जवाफ दिइनन् । उनले भोलिपल्ट पनि कल गरिनन् ।
शन्नाले महिलासम्बन्धी म्यागेजिनबाट सरोगेसीको संसारबारे पहिलोपटक थाहा पाएकी थिइन् । त्यति बेला उनका तीन जना बच्चाहरू घरबाहिर खेलिरहेका थिए र उनी तातो पिएर सोचमग्न भएकी थिइन् ।

उक्त लेखले सरोगेसीलाई अनुमोदन गर्दै कसैले पैसाकै लागि गरे पनि एकल आमा वा बाबु, बाँझोपना भएका जोडी र लैंगिक अल्पसंख्यक परिवारका लागि यो उपहार भएको तर्क गरेको थियो । बच्चाका अभिभावक र सरोगेट आमाकाबीच हुने शक्ति र पैसा खाडल र त्यसले निम्त्याउने समस्याबारे उक्त लेखमा केही भनिएको थिएन ।

बल्ल ३० वर्ष पुग्दै गरेकी र यसअघिका तीन वटा गर्भावस्था सहजै पार गरेकी शन्नालाई यसले आकर्षित ग¥यो । उनी र उनका श्रीमान्ले सरोगेसी एजेन्सीमा कैयौँ प्रश्नहरूका उत्तर दिए । उनीहरूलाई मनोचिकित्सक र डाक्टरले मूल्यांकन गरे शन्नाको भनाइमा र वकिलसँग दर्जनौँ बैठकहरू भए ।
त्यसको एक सातापछि उनलाई फोन आयो । एउटा सेलिब्रिटी जोडी जेनिफर र मार्कले उनको व्यक्तिगत विवरण हेरेर भेट्नका लागि न्यूयोर्क बोलाए । उनीहरू दयालु भएको र आफ्नो जीवनसँगै बालबच्चाबारे पनि बुझ्ने प्रयास गरेको उनले सुनाइन् ।

उनले क्लिनिकमा जाने होटेल इन्धन खानेकुराको खर्चसहित र आफूले गर्दै आएको काम छोडेबापत पनि पैसा पाइन् । तीन वर्षमा उनले ५० हजार अमेरिकी डलर प्राप्त गरिन् ।

उनी गर्भवती हुन निकै पटक प्रयास गर्नुप¥यो । तर जब उनले बच्चालाई जन्म दिइन् जेनिफर र मार्कले उनको हात समाएर आँसु झार्दै उनलाई धन्यवाद दिए । त्यसको केही महिनामा जेनिफरले नै क्याथरिनलाई चिनाइदिएकी थिइन् । क्याथरिन निकै चर्चित परिवारकी थिइन् र लामो समयदेखि आफैँ बच्चा पाउन प्रयास पनि गरिरहेकी थिइन् ।

क्याथरिनले खर्च बचाउन सरोगेसी एजेन्सीमा नगई आफैँ वकिल खोजेर सम्झौता गर्ने प्रस्ताव गरिन् । यसअघि जेनिफरसँगै मानसिक अवस्थाको परीक्षणमा पनि पार पाइसकेको कारण देखाउँदै उनलाई त्यो पनि नगर्न भनियो तेस्रो पटकको अनुरोधमा उनले यो पनि मानिन् ।

गर्भमा अण्डा प्रत्यारोपणका लागि पहिलोपटक क्लिनिकमा गएको बेला क्याथरिन पनि पुगेकी थिइन् । उनले शरीर ढाक्ने लामो कोट लगाएकी थिइन् र उनले अँगालो हाल्न खोज्दा पछि हटेपछि शन्नालाई उनी अलि फरक स्वभावको भएको भन्ने लाग्यो ।

आफ्ना चालकसँग शन्नालाई होटेलमा छोड्न अह्राउँदै उनी छिट्टै त्यहाँबाट बाहिरिइन् । पहिलो प्रयासमा गर्भ रहेन । दोस्रो प्रयासअघि क्याथरिनले शन्ना र उनका श्रीमान्लाई बेलुकाको खाना खान निम्ता गरिन् । क्याथरिनले उनलाई निजी विमान र विशेष फर्निचरहरूबारे सुनाइन् । शन्नालाई उनीहरूबीच केही कुरा पनि नमिल्ने जस्तो महसुस मात्रै भएन उनलाई निकै अप्ठ्यारो लाग्यो ।

दोस्रो दिन क्लिनिकमा क्याथरिनले कुनै एउटा चक्कीको बोतल समातिरहेको देखेकी थिइन् । शन्ना निराश भएकै कारण अघिल्लो पटकको गर्भधारण प्रयास पनि सफल हुन नसकेको क्याथरिनको अनुमान थियो । उनले शन्नालाई एउटा चक्की दिइन् तर शन्नाले त्यो लिन मानिनन् ।

क्याथरिनले निकै कर गरेपछि शन्नाले उक्त चक्की मुखमा राखिन् । तर यसपटक पनि उनी गर्भवती भइनन् । तेस्रोपटक उनीहरू क्लिनिकमा भेट हुँदा क्याथरिन उनकी आमासँग नयाँ घरको नमुनाबारे फोनमै व्यस्त थिइन् । यो पटक शन्नाको गर्भ रह्यो । तर, त्यसअघिको प्रयास गरिएको एक जना सरोगेटको गर्भ खेर गएको कुरा सुनाउँदै क्याथरिनले आफू उत्साहित नभएको कुरा गरिन् । त्यसमा क्याथरिनले सरोगेट आमालाई नै दोष दिएकी थिइन् ।

अर्को सरोगेटबाट भर्खरै बच्चा जन्मिएको खबर क्याथरिनले सुनाएपछि शन्नालाई निकै चोट पुगेको थियो। त्यसपछि उनी चुप लागेकी थिइन् । क्याथरिनले अझै पनि बच्चा चाहेकी छन् वा छैनन् भन्ने थाहा नभए पनि शन्नाले नियमित जाँच जारी राखिन् । तर, त्यसको चार हप्तापछि उनको शरीरमा आवश्यक एक तत्वको कमीले गर्भ गएको उनलाई थाहा भयो ।

शन्नाले क्याथरिनलाई फोन गरिन् तर नउठेपछि सन्देश पठाएर दुःखको खबर पठाइन् । क्याथरिनले छिट्टै फोन गर्ने जवाफ पठाए पनि कैयौँ सातासम्म उनको फोन आएन । आफूले पाउनुपर्ने पैसाका लागि शन्नाले फेरि सन्देश पठाइन् । तर, क्याथरिनले आफूहरूको सम्बन्ध सकिएको र आफ्नो बच्चाको जन्मलाई लिएर शन्नाले देखाएको चिसोपनाप्रति आफू स्तब्ध भएको जवाफ लेखिन् । उनलाई बिलहरू पठाउन भनियो । त्यसपछि उनीहरूको कहिल्यै कुरा भएन ।

त्यसको १० महिनापछि शन्नाकी आमाले क्याथरिनलाई टिभीमा देखिन् । उनले सरोगेट आमाहरूबारे निकै अपमानजनक टिप्पणी गरिरहेकी थिइन् । यो सुनेर शन्नाका आँखाबाट आँसु झरे ।

क्यालिफोर्नियामा विशिष्ट व्यक्तिहरूका लागि सरोगेसी एजेन्सी चलाउँदै आएकी आरिया सिम्युएल सरोगेसीबारे सेलिब्रिटीहरू पछिल्ला वर्षहरूमा खुल्न थाले पनि यो वर्षौँदेखि चलिरहेको बताउँछिन् । उनी र उनकी व्यावसायिक साझेदार दुवै जना आफू पनि सरोगेट्स भइसकेका छन् जसले उनीहरूलाई यसका चुनौती बुझ्न अझै सजिलो बनाइदिएको छ ।

‘आफ्ना सहयोगीहरूसहित आउने उच्चपदस्थ व्यक्तिहरू सरोगेटका लागि डरलाग्दो हुन्छन्’, उनी सुनाउँछिन् । राम्रा एजेन्सीहरूले सरोगेट आमालाई पनि सहज भए नभएको बुझ्ने र आवश्यक पर्दा उनको पक्षबाट पैरवी गरिदिनेसमेत गर्ने उनले बताइन् । तर, कतिपय सरोगेटहरूले पनि आफ्नो हद पार गरेका उदाहरणहरू उनले सुनाइन् । बच्चाका जैविक आमाबाबुसँग रियालिटी टिभी शो वा चलचित्रका लागि प्रस्ताव लिएर जानेजस्ता काम पनि कतिपयले गरेको उनले भेटेकी छन् ।

क्याथरिनसँग नमिठो अनुभव खेपेकी शन्नालाई त्यसको चार वर्षपछि अघिल्लो सरोगेसी एजेन्सीले उनी अर्को जोडीसँग भेट्न इच्छुक रहे वा नरहेकोबारे सोध्यो । उनले इच्छा देखाएपछि उनीहरूबीच भेट भयो र यो जोडी उनलाई मन प¥यो । शन्नाले यो पटक जुम्ल्याहा बच्चालाई जन्म दिइन् । दुई वटा राम्रा र एउटा खराब सरोगेसी अनुभव लिएकी शन्ना हिजोआज एउटा सैलुन चलाउँछिन् । उनकोमा कपाल काट्न आउने कतिपय ग्राहकहरूसँग पनि सेलिब्रिटी, सन्तान उत्पादन र परिवारबारे गफ हुन्छ ।

‘म हरेक हप्ता बच्चाका लागि प्रयास गरिरहेका, भर्खरै बच्चा भएका, बच्चा गुमाएका, बच्चा नै नभएका, बच्चा नै नचाहने र सम्भव भएसम्मका उपाय लगाएर बच्चा जन्माउन चाहने मानिसहरूसँग कुरा गरिरहेकी हुन्छु’, शन्नाले सुनाइन् । विश्वमा सरोगेसीबारे फरकफरक नियम छन् । युक्रेन, कोलम्बिया, मेक्सिको र रुसले व्यावसायिक सरोगेसीलाई अनुमति दिएका छन् । तर, गैरआवासीय मानिसहरूका लागि नेपालसहित भारत, मेक्सिको, क्याम्बोडिया र थाइल्यान्डमा सरोगेसी प्रतिबन्धित छ ।
यो समाचारमा उल्लिखित जैविक आमाबाबुका नाम परिवर्तित हुन् । (बिबिसी)

प्रतिक्रिया