राष्ट्रपतिमा कांग्रेसका शुक्रराज शर्माको दाबी

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले राष्ट्रपति उम्मेदवारमा दाबी गरेका छन् । उनले राष्ट्रपतिमा जित्ने गरी लड्न आफू तयार भएको बताएका छन् ।

शुक्रबार बिहान सोल्टीमोडस्थित आफ्नै निवासमा कांग्रेस नेताहरुसँगको छलफलपछि उनले अवसर दिएको खण्डमा राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि बढ्न तयार रहेको बताए ।

छलफलमा सहभागी नेताहरुले राष्ट्रपतिमा स्वच्छ छवि भएको नेतृत्व अपरिहार्य भएकाले कांग्रेसका पुराना नेता शर्मालाई अघि बढ्न आग्रह गरेका थिए । उक्त आग्रहपछि शर्माले त्यस कुरालाई आफूले गम्भीरताका साथ लिएको बताए ।

शर्माले भने, ‘साथीहरुले आग्रह गरिरहनुभएको छ । म सत्तामा कहिल्यै नभए पनि आम कार्यकर्ताको विश्वास मप्रति अझै छ । पार्टी नेतृत्वले पनि शुक्रराज दाइ अघि बढ्नुस् भने । नाइँ भन्ने कुरा हुँदैन । ५४ वर्षको राजनीतिक इतिहासको सुखद अन्त्य हुन्छ । सबैको सहयोग भए म उभिन्छु । कांग्रेसलाई जिताउन हिँड्छु ।’

संसदीय निर्वाचनमा जहिल्यै जीतविहीन शुक्रराज कांग्रेसको अघिल्लो पुस्तामा सत्ता यात्रा नगरेका एकमात्र नेताका रुपमा चिनिन्छन् । शर्मा गण्डकी प्रदेशसभा सदस्यमा कांग्रेसबाट समानुपातिकको पहिलो नम्बरमा रहे पनि महिलामात्र निर्वाचित गर्नुपरेकाले सांसद हुनबाट बन्चित भएका थिए । कांग्रेसबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल र कृष्ण सिटौलाको पनि नाम आएको छ ।

प्रतिक्रिया