के हो त आत्मदाह ? मान्छे किन आत्महत्या गर्छन् ?

डा. इश्वरी खनाल

विभिन्न अध्ययन हेर्दा विकसित देशहरूमा आत्महत्याबाट हुने मृत्युमध्ये आत्मदाहबाट हुने मृत्यु एक प्रतिशतभन्दा कम छ भने न्यून र मध्य आयस्तर भएका देशमा आत्मदाहको प्रवृत्ति निकै उच्च छ । इरानमा आत्मदाहबाट हुने मृत्यु अत्यधिक रहेको पाइन्छ । विश्व इतिहास हेर्ने हो भने ग्रिकमा सन् ८०० तिर नै आत्मदाहको प्रयास भएको देखिन्छ भने हिन्दु संस्कृति हेर्दा पनि ‘सती प्रथा’ को इतिहास निकै पुरानो रहेको छ । बौद्ध धर्ममा समेत मोक्ष प्राप्तिका लागि भन्दै आत्मदाह गरेको उदाहरण भेटिन्छ ।

अघिल्लो मंगलबार संसद् भवन अगाडि पुगेर आफ्नो शरीरमा आफैँले आगो लगाएका युवा व्यवसायी प्रेमप्रसाद आचार्यको उपचारका क्रममा भोलिपल्ट बुधबार निधन भयो । बैठक चलिरहेकै बेला संसद् भवनअगाडि आत्मदाह गरिनु मामुली कुरा होइन । आत्मदाह गर्नुअघि उनले आफ्नो फेसबुकमा गरेको पोस्ट ज्यादै मार्मिक छ । उनले फेसबुकमा उल्लेख गरेका कुरा के कति सत्य हुन् ? त्यसको छानविन गर्नुपर्छ । आत्महत्याका लागि दुरुत्साहन गर्ने पनि कारबाहीको भागिदार हुने कानुनी व्यवस्था छ । प्रेमप्रसाद के कति अन्यायमा परेका थिए ? भन्ने कुरा छानविनपछि सतहमा आउने नै छ, तर अन्यायकै कारण आत्मदाह गरिएका तथा आत्मदाहको प्रयास गरिएका घटनाहरू नेपालमा धेरै छन् । केही महिनाअघि निहारिका राजपूतले राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेकी थिइन्, समयमै प्रहरीले थाहा पाएका कारण अप्रिय घटना भएन । उनी साँच्ची नै अन्यायमा पेरकी रहिछन् भन्ने कुरा अदालतलेसमेत पुष्टि गरिसकेको छ ।

प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर, यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ । कतिपय देशमा आत्महत्या तथा आत्महत्याको कोशिस सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ । धार्मिक दृष्टिमा त आत्महत्या गर्ने मानिस सिधै नर्कमा जान्छन् भन्ने मान्यता छ । तर मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एकप्रकारको मानसिक विकृति (रोग) हो । यो विकृति पछिल्लो ५० वर्षको अवधिमा ६० प्रतिशत बढेको छ ।

हिजोआज आत्महत्या मृत्युको प्रमुख कारण बनेको छ । संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौँ स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा बर्सेनि औसत ८ हजार ६ सय ४० जना मानिसले आत्महत्या गर्ने गरेका छन् । आफ्ना अत्यन्त प्रियजनलाई बाँचुन्जेल रुवाएर बैरीको मेख मार्छु भन्ने सोच सामान्य दिमागको उपज हुन सक्दै सक्दैन । बैरीसँग बदला लिने त बाँचेर, संघर्ष गरेर हो, आफ्ना परिवारजनलाई आजीवन पीडा दिने बाटो रोज्नु भनेको उल्टै बैरीलाई खुसी बनाउनु हो । यो जान्दाजान्दै पनि मानिस किन आत्महत्या गर्छन् त ? भन्ने प्रश्न निकै गम्भीर छ ।

तीन महिनाअघि काठमाडौंको धुम्बाराहीमा एक जना महिलाले आत्मदाह गरेको घटना सेलाउन नपाउँदै यतिबेला अनलाइन मिडिया, पत्रपत्रिका, सामाजिक सञ्जाल, सडक र सदन सबैतिर एउटै शब्द गुञ्जायमान छ– आत्मदाह । इलामका प्रेमप्रसाद आचार्यले संसद् भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेपछि अनेकन प्रश्न उब्जिएका छन् । किन यसरी जलेका होलान्, कति पीडा भयो होला, कति धेरै तनाव लुकाएर राखेका होलान् अहिलेसम्म, परिवारलाई कस्तो भयो होला, जलेर नै किन मृत्युवरण गरेका होलान्, यस्तै यस्तै ।

के हो त आत्मदाह ?

आत्मदाह आफ्नो इच्छाबमोजिम आफ्नै जीवन अन्त्य गर्नका निमित्त शरीरमा पेट्रोल, मट्टितेल वा अन्य प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाई आत्महत्या गर्ने क्रुर विधि हो । शरीरमा आगो लगाएपछि शरीरका अधिकांश भाग जलेर, शरीरमा अक्सिजनको मात्रा समेत कम भई निस्सासिएर ७० प्रतिशतभन्दा बढीको मृत्यु हुने सम्भावना हुन्छ ।

विभिन्न अध्ययन हेर्दा विकसित देशहरूमा आत्महत्याबाट हुने मृत्युमध्ये आत्मदाहबाट हुने मृत्यु एक प्रतिशतभन्दा कम छ भने न्यून र मध्य आयस्तर भएका देशमा आत्मदाहको प्रवृत्ति निकै उच्च छ । इरानमा आत्मदाहबाट हुने मृत्यु अत्याधिक रहेको पाइन्छ । विश्व इतिहास हेर्ने हो भने ग्रिकमा सन् ८०० तिर नै आत्मदाहको प्रयास भएको देखिन्छ भने हिन्दु संस्कृति हेर्दा पनि ‘सती प्रथा’ को इतिहास निकै पुरानो रहेको छ । बौद्ध धर्ममा समेत मोक्ष प्राप्तिका लागि भन्दै आत्मदाह गरेको उदाहरण भेटिन्छ ।

अरब राष्ट्रहरूमा महिलामा हुने शोषण, जबरजस्ती, स्वेच्छामाथिको प्रतिबन्धका कारण आत्मदाह गरेको भेटिन्छ भने चीन, कोरिया र भियतनाममा राजनीतिक प्रतिकारका लागि आत्मदाह गरेका उदाहरण छन् । भारतकै कति राज्यमा युद्धमा परास्त हुने निश्चिततापश्चात् विपक्षी सैनिकहरूले दास बनाउने, जबरजस्ती करणी गर्ने, बन्धक बनाउने हुनाले आफूसँगै बच्चाहरूसमेत आत्मदाह गर्ने प्रचलन रहेको देखिन्छ । नेपालमा नौ वर्ष पहिले तिब्बती नागरिकले गरेको आत्मदाह र बेलाबेलामा हुने अन्य घटनाले आत्महत्या रोकथामका लागि गरिएका र भइरहेका प्रयासहरूमा चुनौती थपिरहेको छ ।

आत्मदाहपछि मिडियामा आउने समाचार, सामाजिक सञ्जालभरि देखिने जलेको भिडियो र सबैतिर छताछुल्ल हुने गरी पोखिएका भावनाले थप आवेग, नैराश्यता, पीडा र फेरि दोहोरिन सक्ने घटनाको भयलाई मानसिक स्वास्थ्यसँग जोडेर हेर्दा झनै त्रसित बनाउने गरेको देखिन्छ ।


आत्मदाह नै किन रोज्छन् मानिस ?, आत्महत्या/आत्मदाहका जोखिम


आत्महत्याका अधिकांश प्रयासहरूमा सजिलो र कम पीडा भएका विधि रोजेको देखिन्छ । तर आत्मदाह जस्तो कठोर र कष्टकर उपाय किन रोज्छन् त ?

१) आत्मदाहपश्चात् गरिएको (इरान, ट्युनिसिया र अफगानिस्तानमा) अध्ययन बमोजिम आत्मदाह गर्ने व्यक्तिहरूमा डिप्रेसन, एड्जस्टमेन्ट डिसअर्डर, पर्सनालिटी डिसअर्डर, साइकोसिस, लागूपदार्थ प्रयोग या दुव्र्यसनजस्ता समस्याहरू रहेको देखिएको छ । कतिले आत्मदाहपूर्व समेत आत्महत्याको प्रयास गरेको पाइन्छ ।

२) आन्तरिक र बाह्य तनाव (पारिवारिक, आर्थिक, व्यक्तिगत) को स्थितिमा आफूले आफैँलाई घृणाको रूपमा लिनु, नकरात्मक सोच रहिरहनु र अरूलाई केही हानि नपुगोस् भनी आफूले आफैँलाई क्र्रूर पीडा दिन सक्ने विनासकारी व्यक्तित्व रहेका कारण ।

३) तत्कालको आवेगलाई सही ढंगले व्यवस्थापन गर्न नसकेका कारण ।

४) आफूले पराजय भोग्नु परेको हीनताबोध, घृणा, अरूले गरेको तिरस्कार र जीवनका आफ्ना पूर्ण नभएका असफल इच्छाहरूलाई सांकेतिक रूपमा पीडामार्फत साट्नका लागि ।

५) धर्मका कारण या आफ्नो आत्मत्याग गरी समाजमा योगदान पु¥याउन या राजनीतिक अशान्ति, शोषण र अन्य सामाजिक परिवर्तनका लागि उदाहरणीय बन्नका निम्ति ।

रोकथामका उपाय

नेपालमा अझै पनि दैनिक १९ जनाले आत्महत्या गरिरहेका छन् । वार्षिक सात हजारभन्दा माथिको मृत्यु आत्महत्याका कारण हुने गरेको छ । सबै आत्महत्या आवेगमै आएर गरिएका हुँदैनन्, एउटा पूर्ण आत्महत्यापूर्व थुप्रै अपूर्ण प्रयासहरू, आत्महत्यासम्बन्धी स्पष्ट वा अस्पष्ट सुरागसमेत रहेका हुन्छन् । आत्महत्या रोक्न सकिने किसिमको समस्या हो । आत्महत्या वा आत्मदाहका अधिकांश घटना धेरैजसो समयमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्याका कारण हुने हुनाले बेलैमा मनोचिकित्सकसँग सहयोग लिनु आवश्यक हुन्छ ।

समाजले हेर्ने दृष्टिकोण, सामाजिक कलंकका कारण अझै पनि मानसिक स्वास्थ्य सेवा लिन हिच्किचाहट रहेको छ । मानसिक स्वास्थ्यका बारेमा प्रोत्साहन गरौँ, खुलेर कुरा गरौँ । हातहतियार, प्रज्वलनशील वस्तु, औषधि, किटनाशक विषादीहरूको उचित व्यवस्थापन गरौँ । मिडियामा आत्महत्यासम्बन्धी समाचार वा भिडियो हाइलाइट गरेर राख्दा पीडितका परिवारजन र आफन्तमा त असर पर्छ नै, उस्तै सोच र पीडा भएकाहरूमा समेत नकारात्मक असर पर्छ । त्यसैले, यस्ता समाचार राख्नुपूर्व विचार गरौँ । कसैलाई आत्महत्यासम्बन्धी सोच आएमा जुनसुकै बेला शुल्क नलाग्ने ‘११६६’ मा सम्पर्क गरी परामर्शदाताको सहयोग लिऔँ ।

(डा.खनाल मानसिक अस्पताल, लगनखेलका मानसिक रोग विशेषज्ञ हुन्)

प्रतिक्रिया