पोखरामा जलेर घाइते महिलाको मृत्यु, पुरुषको उपचार हुँदै

गण्डकी । जलेर सख्त घाइते भएकी पोखरा महानगरपालिका–१३ काहुँखोलाकी संगीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले ३५ वर्षीया सापकोटाको गएराति नै मृत्यु भएको जानकारी दिए । सोही घटनामा जलेर घाइते भएका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको उनले बताए ।

‘साधारण श्ययामा राखेर उपचार भइरहेको छ, कुनै जटिलता भएमा सघन उपचार कक्ष पनि तयारी अवस्थामा राखिएको छ’, निर्देशक खत्रीले भने । आइतबार जलेर घाइते भएको अवस्थामा दुवैलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पुर्याएका थिए ।

आत्मदाह गर्ने प्रयास गरेका ४५ वर्षीय क्षेत्रीलाई बचाउन खोज्दा सापकोटाले उल्टै ज्यान गुमाउनुपरेको जनाइएको छ ।

क्षेत्री सापकोटाकै घरमा डेरा गरी बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको कास्की जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवास तिमिल्सिनाले बताए ।

प्रतिक्रिया