सडक खन्ने क्रममा भत्केको कुलोको पुनः निर्माण गरिँदै

कालीकोट । ग्रामीण सडक खन्ने क्रममा भत्केको कुलो पुनः निर्माणका लागि काम थालिएको छ । शुभकालीका गाँउपालिकाको– ६ हाउडिमा सिंचाई कुलो मर्मत सम्भारको कार्य सुरु भएको छ । २ वर्ष अगाडि ग्रामिण सडक खन्ने क्रममा भत्केको कुलोको मर्मत कार्य एक थालिएको हो ।

हाउडिगाढदेखि डाँडासम्म जम्मा १ हजार ५१ मिटरको कुलो मर्मत हुने भएको छ । सिंचाई अभावका कारण उत्पादकत्व घट्दै गएकोले यहाँका वासीन्दाले खेती बालीबाट प्रयाप्त उत्पादन लिन सकिरहेका छैनन् । वर्ष भरि सिंचाइ सुविधा पुर्याउने उद्देश्यका साथ जम्मा ५६ जना कामदारहरुको संलग्नतामा कुलोको मर्मत हुने भएको छ । उक्त कुलोबाट ७ हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुग्नेछ ।

गाँउपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको सह–लगानिमा कुल बजेट ४३ लाख ८८ हजार ३ सय ९१ रुपैयाँको लागतमा उक्त कुलोको मर्मत कार्य सुरु भएको छ ।

हरित पुनर्लाभ, स्थानीय रोजगारी सिर्जना र जलवायु–उत्थानशिल स्थानीय पूर्वाधार विकाससम्बन्धी प्रभावकारी, सफल र अनुकरणिय सिकाई तथा अनुभवहरु बटुल्ने लक्ष्यका साथ शुभकालिका गाँउपालिकालगायत कर्णाली प्रदेशका १५ वटा स्थानीय तहहरुमा स्थानीय पूर्वाधार सहयोग कार्यक्रम यस आर्थिक वर्षका लागि सञ्चालनमा रहेको छ ।

कुलोको पुनः निर्माणले स्थानीय बासीन्दामा हर्ष छाएको कुलो मर्मत आयोजनाको उपभोक्ता समितिका अध्यक्ष दिप आर्चायले बताए । अध्यक्ष आर्चायका अनुसार कुलो निर्माणका क्रममा कामदारहरुको सुरक्षाका लागि सुरक्षाका सामग्रीहरुको प्रबन्ध गरिएको छ ।

हेल्मेट, गमबुट, चस्मालगायतका सामाग्रीहरुको व्यवस्था छ । प्राथमिक उपचार बाकसको प्रबन्ध गर्नुका साथै कामदारहरुको बिमाको प्रक्रिया पनि अगाडि बढेको गाँउपालकिाकी उपाध्यक्ष धर्मकला शाहीले बताइन् । २ महिनाभित्र कुलो मर्मतको काम सम्पन्न गर्ने उद्देश्यका साथ मर्मत कार्यको सुरु भएको उनले बताइन् ।

मर्मत कार्यको शिलान्यास गर्ने क्रममा गाँउपालिकाका अध्यक्ष गोविन्द्रप्रसाद आचार्यले स्थानीय बासीन्दालाई स्थानीय स्तरमा नै रोजगार प्रर्वधनन गर्ने उद्देश्यका साथ गाँउपालिकाले रोजगार केन्द्रीत आयोजनाहरु सुरु गरेको बताइएको छ ।

अध्यक्ष आर्चाय भन्छन्, ‘गाउँपालिकामा बेरोजगारीको दर व्यापक रहेको छ, जसलाई न्यूनीकरण गर्न केही हदसम्म भएपनि यस्ता रोजगार मुलक आयोजनाले सहयोग गर्ने अपेक्षा गाँउपालिकाको रहेको छ ।’

स्थानीय पूर्वाधार निर्माणमा सह लगानी गरी गाँउपालिकालाई सहयोग गरेकोमा संयुक्त राष्ट्र संघीय निकायहरु विश्व खाद्य र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमलाई धन्यवाद दिँदै आगामी दिनहरुमा यस क्षेत्रको उत्पादकत्वमा वृद्धि गरी कृषकलाई व्यवसाय उन्मुख गराउने सोच गाँउपालिकाको रहेको अध्यक्षले बताए । यो क्षेत्रमा राम्रो कृषीयोग्य जमिन रहेको छ भने सिंचाईको उपलब्धता सहज हुन सकेमा वर्षमा तीन बाली खेती गर्न सकिने देखिन्छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया