काठमाडौं । पोखरामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । पोखरा महानगरपालिका–१३ काहुँखोलमा भाडामा बस्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षेत्रीले आइतबार बिहान घरभित्रै आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।
भाडामा बस्दै आएका क्षेत्रीको शरीरमा आगो जलिरहेको देखेर बचाउन गएकी घरबेटी संगीता सापकोटा पनि सोही आगोमा परेर घाइते भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनले ती पुरुषलाई बचाउने प्रयास गरेकी थिइन् ।
उनीहरू दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । केही दिनअघि काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्युपछि उक्त घटना सेलाउन नपाइ पोखरामा अर्को घटना भएको छ ।
प्रतिक्रिया