महिलामा एपीएफ र पुरुषतर्फ गण्डकी च्याम्पियन

टाइगर कप भलिबल

पोखरा । गण्डकी प्रदेश तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी र महिलातर्फको एपिएफ च्याम्पियन बनेका छन् । पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो ।

अपराजित रुपमा फाइनल पुगेको एपीएफले पहिलो सेट २५–१६ ले जितेको थियो । गण्डकी प्रदेशले दोस्रो सेट २५–१८ तथा तेस्रा सेट २५–१९ ले जितेको थियो । चौथो सेट एपीएफले २८–२६ ले जितेपश्चात खेलको निर्णय पाँचौ सेटबाट भएको थियो । निर्णायक पाँचौ सेट १५–८ ले जितेर गण्डकी च्याम्पियन बनेको हो ।

च्याम्पियन गण्डकीले ५ लाख नगद प्राप्त गरेको छ । दोस्रो हुन सफल एपीएफले भने २ लाख ५० हजार नगद प्राप्त गरेको छ । माघ ८ गतेबाट पोखरामा सुरु यस प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको थियो ।

महिलातर्फ च्याम्पियन नेपाल एपीएफ क्लब सहित त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड स्पोर्टस क्लब र गण्डकी प्रदेशको सहभागीता रहेको थियो । पुरुषतर्फ भने च्याम्पियन गण्डकी प्रदेश सहित विभागिय टोली त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, विभागिय टोली नेपाल पुलिस क्लब र विभागिय टोली नेपाल एपिएफ क्लबको सहभागिता रहेको थियो ।
शनिबार पोखरा रंगशालामा भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पन्छाउँदै एपीएफले उपाधि जितेको हो । एपीएफले पहिलो सेट २५–२० ले जितेको थियो । दोस्रो सेट आर्मीले २५–२२ ले जित्यो । तेस्रो सेट २५–८ ले आफ्नो पक्षमा पारेको एपीएफले चौथो सेट २५–२२ अंकले जित्दै विजेता बनेको हो । एपीएफले पाँच लाख रुपैयाँसहित ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता आर्मीले दुई लाख ५० हजार प्राप्त गरेको छ ।

प्रतिक्रिया