किन पटक–पटक सर्छ कांग्रेस केन्द्रीय समिति बैठक ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक पटक–पटक सर्दै आएको छ । पछिल्लो पटक माघ १५ गते बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस १२ गते विज्ञप्ति जारी गर्दै पुस २२ गते केन्द्रीय कार्य समितिको बैठकका लागि पदाधिकारी र केन्द्रीय सदस्यमा आह्वान गरेका थिए । त्यसबेला प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन– २०७९ को समीक्षा एवम् समसामयिक विषय बैठकका एजेण्डाका रुपमा राखिएको थियो ।

कांग्रेसले एकैचोटी पुस २० गते प्रतिनिधि सभाको पहिलो अधिवेशन सन्दर्भमा पुस २३ गते सिंहदरवारमा संसदीय दलको बैठक बस्ने सूचना निकाल्यो र पुस २२ गते बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक पुस २८ गते दिउँसो १ बजेका लागि सर्यो । पुस २६ गते मुख्यसचिव पौडेलले पुस २८ गते बस्ने भनिएको बैठक पुनः माघ १५ गतेका लागि सारिएको जानकारी दिए । माघ १५ गते बस्ने भनिएको सो बैठक पनि अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको हो ।

माघ १२ गते केन्द्रीय कार्य समितिको बैठक सम्बन्धमा विज्ञप्ति जारी गर्दै पौडेलले अर्को सूचना प्रकाशित नभएसम्म बैठक स्थगित भएको जानकारी गराए । कांग्रेसको पछिल्लो पटक बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक चार पटकसम्म सरिसकेको छ । पौडेलले भने, ‘कांग्रेसको बैठक सर्नुको मूल कारण नेताको व्यस्तता हो । एउटा महामन्त्री झापा, अर्को महामन्त्री अन्तै छन् । उपसभापति पनि स्याङ्जामा हुनुहुन्छ ।’ पौडेलले साङ्गठानिक सुदृढीकरणमा नेता व्यस्त भएकाले बैठक सरेको यसमा अरु कुनै कारण नभएको बताए ।
स्थानीय निर्वाचनदेखि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्म सँगसँगै रहेको यसअघिको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन नयाँ सरकार गठनसँगै भङ्ग भएको थियो । त्यसपश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले पनि विश्वासको मत दियो ।

यसखाले फरक बनावटको संसद र राजनीतिक कोर्समा नेतृत्वमा केही समस्या भएको हो भन्ने जिज्ञासामा पौडेलले भने, ‘नेतृत्वमा कुनै समस्या छैन, जटिलता छैन । नेपाली कांग्रेसका सबै कुरा सर्वसम्मत भएको छ, हाम्रो कलेक्टिभ निर्णय हुन्छ । नेताहरु सबै जना बसेर छलफल गरेर शतप्रतिशत सर्वसम्मत निर्णय हुन्छ ।’

उनले अब उचित समयमा बैठक बस्ने पनि बताए । ‘अनुकूल र उचित समयमा कांग्रेसको बैठक बस्छ’ उनले भने । यस्तै, प्रतिनिधिसभा सांसदसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले औपचारिक बैठक बस्न नसके पनि अनौपचारिक छलफल चलिरहेको बताए ।

शर्माले भने, ‘त्योभन्दा पनि अन्य कुरा अहिले घरायसी विषय र राष्ट्रिय विषय एउटा हुन्छ । हामी अलिकति घरायसी विषयको बारेमा पनि छलफल चलिरहेको छ ।’ उनले समसामयिक राजनीतिक विषयमा पार्टीमा आन्तरिक रुपमा छलफल चलिरहेको बताएका हुन् ।

राष्ट्रिय राजनीति र समग्र देशमै राष्ट्रपति निर्वाचनको विषय मुख्य रुपमा उठेको बेला केन्द्रीय कार्यसमितिको बैठक प्रभावित बनेको हो कि भन्ने जिज्ञासामा महामन्त्री शर्मा भन्छन्, ‘त्यो हो भन्दा पनि हुन्छ । अहिले बैठक सरेको छ । औपचारिक छलफल आवश्यक छ । राष्ट्रिय विषयमा के गरी जाने भन्नेमा बैठक स्थगित गर्नुभन्दा छलफल गरेर अगाडि बढ्नु आवश्यक छ ।’

आन्तरिक एवम् अनौपचारिक रुपमा भइरहेका छलफलपछि औपचारिक बैठकको टुङ्गो लाउने विषय प्रभावकारी हुने उनको भनाइ छ । उनले छलफल गरेर पार्टीको केन्द्रीय कार्य समितिको बैठक बस्ने बताए ।

प्रतिक्रिया