भारत र पाकिस्तानबीच झण्डै युद्ध भएको थियो : पोम्पियो

वासिंगटन । अमेरिकी पूर्वविदेशमन्त्री माइक पोम्पियोले आफ्नो स्मरणमा आधारित नयाँ पुस्तकमा सन् २०१९ मा भारत र पाकिस्तानबीच झण्डै आणविक युद्ध हुन लागेको कुरा उल्लेख गरेका छन् । विवादास्पद हिमाली क्षेत्र काश्मिरमा भारतीय फौजमाथि भएको आक्रमणको जवाफमा दिल्लीले पाकिस्तानी भूभागमा लडाकुहरुमाथि लक्षित हमला गरेपछि आणविक युद्ध नजिकिएको पोम्पियोले उल्लेख गरेका बीबीसीले लेखेको छ ।

त्यसबेला पाकिस्तानले दुईवटा भारतीय सैनिक जेट विमान खसालेको र एकजना लडाकु विमानका पाइलटलाई नियन्त्रणमा लिएको दाबी गरेको थियो । सम्पूर्ण काश्मिर भूभागै आफ्नो भएको दाबी गर्ने भारत र पाकिस्तान दुवैले यसको केही भागमा मात्र नियन्त्रण जमाउन सकेका छन् ।
लामो समयदेखि भारतले पाकिस्तानलाई काश्मिर उपत्यकामा पृथकतावादी लडाकुहरुलाई साथ दिने गरेको आरोप लगाउँदै आएको छ । तर, पाकिस्तानले पनि यो आरोपलाई ठाडै अस्वीकार गर्दै आएको छ ।

सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वाधिनता हासिल गरेर टुक्रिएयता आणविक हतियार सम्पन्न छिमेकी मुलुक भारत र पाकिस्तानबीच तीनवटा युद्ध भइसकेको छ । ‘इन नेभर गिभ एन इन्चः फाइटिङ फर दी अमेरिका आई लभ’ नामक पुस्तकमा पोम्पियोले लेखेका छन्,‘सन् २०१९ को फ्रेबु्रअरीमा भारत र पाकिस्तान कति धेरै आणविक युद्ध नजिक पुगेका थिए भन्ने कुरा मेरो विचारमा विश्वलाई राम्ररी थाहा छैन । सत्य के हो भने मैले पनि यकिनका साथ जवाफ दिन्नँ । तर, मलाई थाहा भएसम्म तिनीहरु आणविक युद्धको धेरै नै निकट पुगेका थिए । हनोइमा उत्तर कोरियालीहरुसँग आणविक हातहतियार विषयमा चलिरहेको बैठकमा बसिरहेका बेला त्यस रात भारत र पाकिस्तानले आपसमा चेतावनी दिन थालेको घटना म कहिल्यै भुल्न सक्तिनँ ।’ त्यसबेला काश्मिरमा इस्लामिक आतंककारी समूहले गरेको आक्रमणमा ४० जना भारतीय फौजीले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया