गुरागाईंको ‘जङ्कसन पिपलबोट’ बजारमा

काठमाडौं । साहित्यकार प्रकाश गुरागाईंद्वारा लिखित गैरआख्यान पुस्तक ‘जङ्कसन पिपलबोट’ बजारमा आएको छ । थापागाउँस्थित मण्डला थिएटरमा कविद्वय पुरुषोत्तम सुवेदी, लक्ष्मी माली र मानवशास्त्री सुरेश ढकालले उक्त कृतिको संयुक्त रुपमा विमोचन गरे । यसअघि कविता संग्रह ‘खुट्टामा श्रीपेच’ प्रकाशित गरेका गुरागाईंको यो पहिलो गैरआख्यान कृति हो । सो कार्यक्रममा टिप्पणीकारले पुस्तक ‘जङ्कसन पिपलबोट’ नयाँ सडकको इतिहासको महत्वपूर्ण दस्तावेज भएको जिकिर गरे । उनीहरूले इतिहासलाई खोतलेर पुस्तकका रूपमा बाहिर ल्याएर राम्रो काम गरेकोमा लेखकलाई धन्यवाद दिए ।

कवि लक्ष्मी मालीले पुस्तक पढ्दा आफूलाई बाल्यकालको स्मृतिमा पु¥याएको सुनाइन् । सो अवसरमा उनले पुस्तकमा नसमेटिएका तर आफूले सुनेका र देखेका नयाँ सडकका केही घटनासमेत सुनाउँदै पुस्तकले इतिहासको एउटा कालखण्डलाई उधिनेको बताइन् । यस्तै, मानवशास्त्री ढकालले आफूले नयाँ सडकका थुप्रै र नयाँ रोचक विषय पुस्तकबाट थाहा पाएको बताए । उनले मिहिनेतपूर्वक विषयलाई प्रस्तुत गरेकोमा लेखकलाई धन्यवादसमेत दिए ।

साथै उनले पुस्तकमा रहेका कमीकमजोरी औंल्याउँदै आगामी संस्करणमा ती पक्षलाई समेट्न आग्रह गरे । लेखक गुरागाईंले चार वर्षको मिहिनेतपछि पुस्तक तयार भएको जानकारी दिए । उनले नयाँ सडक र त्यसका विविध पक्षलाई आफूले पुस्तकमा समेट्ने प्रयास गरेको सुनाए । उनले वक्ताले औंल्याएका पुस्तकका कमीकमजोरी आगामी संस्करणमा सच्याउने प्रतिबद्धता जनाउँदै कोरोना कहरका कारण नयाँ सडकका केही कुरा उल्लेख गर्न नसकेको बताए । गुरागाईंले इतिहास खोजेर र लेखेर कहिल्यै नसकिने विचार व्यक्त गरे ।

लेखक गुरागाईंले भौतिक पूर्वाधारको क्रमिक विकाससँगै सामाजिक, राजनीतिक, सांस्कृतिक मात्र नभएर साहित्यको केन्द्रका रूपमा न्युरोड कसरी उभिन पुग्यो भन्ने विषयलाई समेत पुस्तकमा मसिनो ढंगले केलाउने प्रयास गरेका छन् । पुस्तकमा १६ शीर्षकमा छुट्टाछुट्टै आलेख समावेश छन् । फिनिक्स बुक्सले प्रकाशन गरेको ३१६ पृष्ठको पुस्तकको मूल्य ४५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया