हिमालयमा किन हिउँ पर्न छाड्यो ?

मंसिरको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म नेपालको आधाजसो भूभाग सेताम्मे हिउँले ढाकिन्थ्यो । तीन हजार मिटर माथिका सबै पर्वतहरू हिमशिखरमा परिणत हुन्थे । जता फर्कंदा पनि सेताम्मे हिमशृंखला मात्रै देखिने भएकोले बिदेशी पर्यटकहरू लोभिनसम्म लोभिन्थे । ‘माउन्टेन फ्लाइट’ गर्ने एयरलाइन्सहरूलाई भ्याइनभ्याइ हुन्थ्यो । किसानहरू झन् खुसी हुन्थे । आफ्नो खेतबारी सेताम्मे हिउँले ढाकिएपछि अब अनिकाल पर्दैन भनेर किसानहरू ढुक्क हुन्थे । हिउँले सिँचाइको मात्रै काम गर्ने नभएर बालीनालीका सत्रुजीवहरू पनि नष्ट गर्ने भएकोले हिमाली क्षेत्रको कृषि उपज अग्र्यानिक मानिन्थ्यो । तर पछिल्लो समयमा हिमपातको क्रम निकै घटेर गएको छ । झन् यस वर्ष त संसारको सर्वोच्च हिमशिखर ‘सगरमाथा’ रहेको सोलुखुम्बु क्षेत्रमा समेत हिमपात भएको छैन । जता फर्किंदा पनि सेता हिमाल टल्कने सोलुखुम्बुको सौन्दर्य हराउँदै गएको छ ।

विगतका वर्षमा मंसिर अन्तिम र पुसको पहिलो साताबाट नै हिउँ पर्न सुरु हुने सोलुखुम्बुमा यस वर्ष माघ लागिसक्दा पनि हिउँ परेको छैन । जसले गर्दा हिउँले टल्किने यहाँका हिमाल यतिवेला कालो पहाडमा परिणत हुँदैै गएका छन् । सगरमाथा मात्रै होइन, पर्यटकीय नगरी पोखराको श्रीपेच मानिने माछापुच्छे« हिमालसमेत यतिबेला पनि कालो पत्थरजस्तो देखिएको छ ।

१२ महिना सेताम्मे टल्कने हिमालय शृंखला सबैभन्दा जाडो सिजनमा समेत कालो पत्थरजस्तो देखिनु कम खतरनाक होइन । हिमाली क्षेत्रको कृषि तथा पर्यटनलाई यसले पार्ने असर त छँदै छ, तर हिन्द महासागरीय क्षेत्रका देशहरूको जलचक्रलाई यसले पार्ने असर निकै भयावह छ । किनकी यो सिजनको तीन महिना पर्ने हिउँले अन्य नौ महिनासम्म यस क्षेत्रको पानी आपूर्ति गरिरहेको छ । हिउँ भनेको पानीको रिजर्भ ट्यांकीजस्तै हो । यस वर्ष रिर्जभ ट्यांकी नै खाली भएको छ । यो नेपालका लागि मात्रै नभएर विश्वव्यापी चिन्ताको विषय हो । हिमालमा हिउँ भएन भने दक्षिण पूवी एसियाको जीवन समाप्त हुन्छ । कतिसम्म कहालीलाग्दो अवस्था देखिएको छ भने गत वर्ष यही सिजनमा खुम्बु क्षेत्रको तापक्रम माइनस १७ डिग्री सेल्सियससम्म थियो । तर, हाल माइनस ९ डिग्री सेल्सियसम्म मात्र छ ।

यो भयावह संकेत देखिनुको मुख्य कारण वातावण प्रदुषणका कारण पृथ्वीको तापक्रम बढ्दै जानु हो । वैज्ञानिक अध्ययनका अनुसार, औद्योगिक क्रान्ति सुरू हुनुअघि सन् १८५० तिर वायुमण्डलको औसत तापक्रम १४ डिग्री सेल्सियस थियो, अहिले यो १५ दशमलव १ डिग्री पुगेको छ । अर्थात्, समग्र वायुमण्डलको औसत तापक्रम १ दशमलव १ डिग्री बढेको छ । झट्ट सुन्दा १ दशमलव १ डिग्री त हो भन्ने लाग्न सक्छ, तर यो ठूलो परिवर्तन हो । किनकी ३७ डिग्री सेल्सियस मानिसको शरीरको तापक्रम हो, तर १ डिग्री बढेर ३८ पुग्नासाथ मान्छेले ज्यादै अप्ठेरो महसुस गर्छ । शरीरको तापक्रम एक डिग्री सेल्सियस बढ्नासाथ मान्छेको सम्पूर्ण जीवनचर्या नै बिथोलिन्छ । पृथ्वीको हकमा पनि यही हो । वायुमण्डलमा अथाह तापशक्ति थपिएको कारण औसत तापक्रम १ दशमलव १ डिग्री माथि गएको हो । पृथ्वीको तापक्रम एक डिग्री सेल्सियस मात्रै बढ्दा समुन्द्रको सतह कति माथि उठ्छ ? हिम रेखाको उचाइ कति बढ्छ ? अक्सिजनको आपूर्ति कति घट्छ ? हानिकारक ग्या“सको वृद्धि कति हुन्छ ? लगायतका प्रश्नको उत्तर निकै कहालीलाग्दो छ ।

बास्तवमा पृथ्वी एक जीवित शरीरसरह हो । पृथ्वी भनेको अनगिन्ती जीवको आश्रय र परिपालक ग्रह हो । जसरी रोगी जीवजन्तुहरूले आफ्ना सन्ततीलाई स्याहारसुसार गर्न सक्दैन, त्यसरी नै पृथ्वी रोगी भयो भने जीवलाई आश्रय दिन तथा परिपालन गर्न सक्दैन । वातावरण राम्रो भए पृथ्वीको स्वास्थ्य पनि राम्रो हुन्छ, वातावरण बिग्रियो भने पृथ्वीको स्वास्थ्य पनि बिग्रन्छ । जसरी जीवको शरीरमा कुनै रोगले आक्रमण गर्यो भने लक्षणका रूपमा तापक्रम बढ्छ, जसलाई ज्वरो आएको भन्ने गरिन्छ । पृथ्वीको हकमा पनि त्यही नियम लागू हुन्छ । पृथ्वीमा पनि वातावरण बिग्रिनासाथ तापक्रम वृद्धिको लक्षण देखा पर्छ । पछिल्ला केही वर्षहरूमा पृथ्वीले यो लक्षण देखाइसकेको छ ।

प्रतिक्रिया