१५ हजार बालबालिका टोल शिक्षा अध्ययन गर्दै

कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिका र सान्नीत्रिवेणी गाउँपालिकामा रहेका १५ हजार बालबालिका टोल शिक्षा अध्ययनमा व्यस्त छन् । सान्नीत्रिवेणी गाउँपालिकाका २८ वटा विद्यालय र समुदायस्तरमा रहेका ३७ प्रारम्भीक बालविकास केन्द्रमा बालबालिकाहरु अध्ययन गर्दै आएका छन् ।

जिल्लाको खाँडाचक्र नगरपालिकामा रहेका ३९ वटा विद्यालय र समुदायस्तरमा रहेका ५७ प्रारम्भीक बालविकास केन्द्रमा बालबालिकाहरुले दैनिक रुपमा गुणस्तरीय शिक्षा हासिल गरिरहेका छन् ।

कोभिड– १९ को समयमा बालबालिकाको पढाईमा भएको क्षति आपुर्ति गर्ने र गुणस्तरीय शिक्षा दिर्घकालिन रुपमा सूचारु हो्स भन्ने उद्देश्यले टोल शिक्षा कार्यक्रम लागू गरेको टोल शिक्षा कार्यक्रम खाँडाचक्र नगरपालिका संयोजक हरिप्रसाद पाण्डेले बताए ।

युनिसेफका नेपालगंज फिल्ड अफिसमा कार्यरत शिक्षा अधिकृत फर्सुराम पन्थले विगत एक वर्ष यता टोल शिक्षा कार्यक्रम कालिकोटका सान्नीत्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिकामा सञ्चालन र टोल शिक्षा कार्यक्रम सञ्चालन गर्दै आउँदा बालबालिकाको सिकाईमा वृद्धि भएको उनको भनाइ छ ।

बालबालिकाहरु दिउँसोको समय विद्यालयमा गएर अध्ययन गर्छन् भने बिहान र बेलुका टोल शिक्षा कार्यक्रमअन्तर्गतका कक्षाहरु लिइरहेका छन् । पन्थले शिक्षा क्षेत्रमा विगत कोभिड– १९ को कारण भएको क्षति आपुर्ति गर्ने, आगामी दिनमा शिक्षा क्षेत्रमा आउने विपदसँग जुध्न बालबालिकाहरुलाई सकारात्मक सोचसहितका कक्षा सञ्चालन गरेको बताए ।

पालिकास्तरीय जनप्रतिनिधिहरुसँगको समन्वयमा सिकाई निरन्तरता योजना निर्माण गर्न सहयोग गरेको, नगरपालिकास्तरीय विपदमा शिक्षा पूर्वतयारी तथा प्रतिकार्य योजना पनि निर्माण गरेर सम्पन्न गरेको , प्रत्येक स्थानीय तहका २० जना शिक्षकहरुलाई आउने विपदका लागि क्षमता विकासअन्तर्गत विपदमा शिक्षाअन्तर्गतको तालिम दिएको शिक्षा अधिकृत पन्थले बताए ।

कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई पनि सामाजिक रुपमा अनुकुलन हुने, पढाईमा उत्सुकता जाग्ने, विद्यार्थीको पढाईमा सहयोग गर्ने किताव समेत विद्यालयलाई उपलब्ध गराएको युनिसेफका पन्थले जानकारी दिए । संघ–संस्थाको बजेट रहुन्जेल कार्यक्रम सञ्चालन गर्ने र संघ–संस्थाको कार्यक्रम सकिएपछि कार्यक्रम नै बन्द गर्ने चलन रहेकाले पनि बालबालिकाको पढाईमा स्तरवृदि हुन सकेको छैन ।

खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले युनिसेफले विगत एक वर्ष यता टोल शिक्षा कार्यक्रममार्फत बालबालिकाको सिकाईमा वृद्धि गराएको भन्दै युनिसेफ नेपाललाई धन्यवाद सत दिए । नगरप्रमुख शाहीले निकट भविष्यमा युनिसेफको साथ सहयोगको अपेक्षा गरेको भन्दै टोल शिक्षा कार्यक्रमलाई निरन्तरता दिन नगरपालिकाले पनि पहल चाल्ने बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया