पोखरा । निर्वाचन आयोगले समानुपातिक सांसदको टुङगो नगलगाउँदै गण्डकी प्रदेशमा मुख्यमन्त्रीका आकांक्षीको लर्को लागेको छ । सत्ता गठबन्धनको बहुमत देखिएपछि त्यस भित्रैबाट आकांक्षीहरुको संख्या बढेको हो । गण्डकीमा सत्ता गठबन्धनको स्पष्ट बहुमत छ । केन्द्रीय राजनीति तलमाथि नभए कांग्रेस र माओवादीको गठजोडबाट गण्डकी सरकार गठन हुनेछ । तर, सरकारको नेतृत्व कसले गर्ने भन्ने चासो यतिबेला राजनीतिक बृत्तमा सुरु भएको छ । यसअघि कांग्रेसले नेतृत्व गरेका कारण आफुहरुले मुख्यमन्त्री पाउनुपर्ने दावी माओवादीको छ भने कांग्रेसले प्राकृतिक न्यायको सिद्धान्त देखाउँदै ठूलो दलले सरकारको नेतृत्व पाउनुपर्ने तर्क गरेको छ ।
माओवादीबाट मुख्यमन्त्री बने हरिबहादुर चुमानको प्रवल सम्भावना छ भने कांग्रेसमा आकांक्षीहरु बढी छन् । केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, कास्कीका विन्दुकुमार थापा, नवलपुरका सभापति महेन्द्रध्वजजिसी र पूराना नेता भोजराज अर्याल मुख्यमन्त्रीको दौडमा छन् । पाण्डे र थापा संस्थापन समूहकाहुन् भने जिसी र अर्याल संस्थापन इतरका नेता हुन् ।
निर्वाचित र समानुपातिकको सूची हेर्दा संस्थापनपक्षको झिनो बहुमत छ । तर, पात्रका कारण सांसदहरु यताउति हुन सक्छन् । संसदीय दलको नेता चयनमा निर्वाचन नहुने सबै नेताहरुको दावी छ । ‘सहमतिबाटै निकास निस्किन्छ । चुनाव गरेर दलको नेता चयन हुँदैन,’ पाण्डेले भने, ‘पहिला समानुपातिक सूची टुंगिएपछि दलको नेताचयनको प्रक्रिया थाल्छौं ।’
जिसी पनि सहमतिबाटै जाने बताउँछन् । ‘सहमति नै सबैभन्दा ठूलो निर्वाचन हो । प्रदेशलाई निकास दिन सक्ने र भिजन भएको मान्छे नै दलको नेता बन्ने हो,’ उनले भने, ‘मिलाएर अघि बढ्छौं । समझदारी बन्छ भन्ने लागेको छ ।’
माओवादी नेता चुमान भने माओवादीले मुख्यमन्त्री पाउँदा आफु नै सर्वसम्मत हुने बताउँछन् । उनी अघिल्लो कार्यकालमा पनि सर्वसम्मत दलको नेता भएका थिए । ‘अनुभव र काम गरेको आधारमा म सर्वसम्मत दलको नेता चुनिन्छु,’ उनले भने, ‘मुख्यमन्त्री पनि यसपालि माओवादीले पाउँछ । केन्द्रीय नेताहरुले ढुक्क हुनुस् भन्नुभएको छ ।’
६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसले २७ सीट जितेको छ भने माओवादीले ८ तथा सत्ता गठबन्धनमै एकीकृत समाजवादीका १ सांसद हुने छन् । मनाङबाट निर्वाचित स्वतन्त्र सांसद दीपकमनाङे (राजीव गुरुङ) एकीकृत समाजवादीप्रवेश गरेपछि सो पार्टीको एक सिट भएको हो। २२ सीट रहेको एमाले र २ सीटको राप्रपा प्रतिपक्षमा रहने सम्भावना बढी छ । मुख्यमन्त्रीका दावेदारहरु निरन्तर काठमाडौं आउजाउ गरिरहेका छन् भने नेताहरु भेट्ने दौडधुप चलिरहेको छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा ३६ जना प्रत्यक्ष निर्वाचनबाट चुनिएर आइसकेका छन् । अब निर्वाचित सांसदहरुको सपथ सबै भन्दा पहिलो कार्यसूची हुनेछ । प्रदेशप्रमुखले अधिवेशन आह्वान गरेपछि संसद बैठक सुरु हुन्छ । संसद बैठकको सुरुआतसँगै सरकार गठन प्रक्रिया सुरु हुनेछ ।
प्रतिक्रिया