कालीकोटमा बाढी–पहिरो पीडित दुई सय घरधुरीलाई राहात वितरण

कालीकोट । तिलागुफा नगरपालिका १ का सुरेन्द्र शाहीको ४ तले पक्की घर बाढी–पहिरोले बगायो । छरछिमेकीको घरमा बसेका सुरेन्द्र शाहीका परिवारलाई यो बेला कसैले गरेको सहयोग अति नै ठुलो मान्छन् । मिहिनेत गरेर बनाएको पक्की घर बाढिपहिरोले बगाएपछि सारा सपना टुटेको झैं लाग्ने गरेको उनको भनाई छ । शाही मात्र हैनन् तिलागुफा नगरपालिका वडा १ की जयकौरा विकको घर पनि बाढिपहिरोले पूर्ण रुपमा क्षति गरेको छ । राहात नाम सुन्ने वित्तिकै आफ्नो उद्धार हुने उनको बुझाई छ ।

युवा नेता टेकराज शाहीको पहलमा चिसो समयमा सिरक डस्ना राहत स्वरुप पाएपछि हिउँद महिनाको चिसो काट्न सजिलो हुने उनको भनाई छ । यी दुई पात्र मात्र हैनन् कालिकोट जिल्लाका २ सय घर बाढी पहिरोले पूर्ण क्षति गरेपछि विचल्लीमा परेका थिए । चिसो समय, ओड्ने ओछ्याउनेको कमि, दाउरा बालेर अर्काको घरमा बास बस्नु पर्ने अवस्था बाढी पीडितको छ ।

यसैक्रममा कालीकोट जिल्लाका ४ वटा स्थानीय तहमा बाढी पहिरोबाट पूर्ण रुपमा क्षति भएका घरपरिवारलाई राहत वितरण गरिएको छ । जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका, शुभकालिका गाउँपालिका र पलाँता गाउँपालिका भित्र रहेका पीडित परिवारलाई राहत स्वरुप चिसो समयमा सिरक र डस्ना वितरण गरिएको हो ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत आर्थिक सहयोग र नेपाली कांग्रेस महासमिति सदस्य तथा युवा नेता टेकराज शाहीको विशेष पहलमा कालिकोटमा बाढी पहिरोबाट पूर्ण रुपमा क्षति भएका घरपरिवारलाई राहत वितरण गरिएको हो ।

नेपाल बिमा प्राधिकरणका प्रदेश प्रमुख पदमप्रसाद सोडारीको रोहवरमा कालिकोटमा रहेका २ सय घरपरिवारलाई सिरक डस्ना वितरण गरिएको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेशका गणेश प्रसाद जोसी, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली इन्चार्ज श्रीराम पाण्डे, जिल्ला स्थित पत्रकार तथा अन्य नागरिकहरुको सहभागितामा सो राहात वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै राहतका लागि पहल गर्ने युवा नेता टेकराज शाहीले कालीकोट जिल्लामा रहेका बाढी पहिरो पीडित नागरिकहरुलाई आफ्नो तर्फबाट सक्ने पहल गरिरहेको र आगामी दिनमा सुखमा होस वा दुखमा होस सँधैभरी जनताको माझमा रहेर माथिल्लो निकायसँग पहल गर्ने बताए । कालीकोटमा रहेका २ सय घरपरिवारका सदस्यहरुले चिसो समयमा सिरक डस्ना राहत स्वरुप पाउदा हर्षित देखिएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया