पेरूको राष्ट्रपतिको रूपमा बोलुआर्टेद्वारा सपथ ग्रहण

लिमा । पेरूका पूर्व राष्ट्रपति पेड्रो कास्टिलोमाथि महाभियोग लगाइएपछि उपराष्ट्रपति डिना बोलुआर्टेले नयाँ राष्ट्रपतिका रूपमा सपथ लिएकी छन् । पेरूको संसदले राष्ट्रपति पेड्रो क्यास्टिलोलाई पदबाट हटाउने पक्षमा मतदान गरेको र बोलुआर्टेलाई उपराष्ट्रपतिबाट राष्ट्रपतिका रूपमा चयन गर्ने निर्णय गरेको थियो । सांसदहरूलाई पहिलो सम्बोधन गर्दै डिना बोलुआर्टेले पेरुका पूर्वराष्ट्रपति पेड्रो क्यास्टिलोले बुधबार संसद् विघटन गर्ने निर्णयको आलोचना गरेकी थिइन् । बोलुआर्टेले ‘एकताको सरकार’ गठनका लागि राजनीतिक युद्धविरामका लागि सांसदहरूलाई आग्रह गर्दै शासन सञ्चालनका लागि व्यापक संवादका लागि आह्वान गर्ने बताइन् ।

पेड्रो क्यास्टिलोले विधायिका भंग गर्ने र आपतकालीन सरकार गठन गर्ने घोषणा गरेको केही समयपछि पेरूको संसदको बहुमतको निर्णयले क्यास्टिलोलाई हटाएर उपराष्ट्रपतिलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । पेरुको संविधान अनुसार संवैधानिक अदालतका अध्यक्ष फ्रान्सिस्को मोरालेसले उपराष्ट्रपति डिना बोलुआर्टेलाई राष्ट्रपतिको कार्यभार सम्हाल्न आग्रह गरेका थिए ।

प्रहरीले पेड्रो क्यास्टिलोलाई लिमामा हिरासतमा लिएको स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । पेरूको १३० सदस्यीय काङ्ग्रेसका १०१ सदस्यले क्यास्टिलोविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान गरेका थिए । पेड्रो कास्टिलो जुलाई २०२१ मा पेरूको राष्ट्रपतिमा निर्वाचित भएका थिए । सीएनएनको रिपोर्टअनुसार सत्तामा रहँदा ’भ्रष्टाचारका योजनाहरूको मुख्य योजनाकार’ को आरोपमा पाँच वटा प्रारम्भिक आपराधिक अनुसन्धानको सामना क्याटिलिनोले गर्नुपर्नेछ । रासस

प्रतिक्रिया