सबैले जानेका नेता तर नजानिएका मानिस

सन्दर्भ भीमबहादुर तामाङ स्मृति दिवस

जयप्रकाश आनन्द

एक दिन उहाँले मलाई विज्ञान, गणित र अंग्रेजी पढाउने शिक्षकको खोजी गरिदिन भन्नुभयो, सँगै उहाँले मलाई सुझाउनुभयो, मधेसबाट यस्तो शिक्षक ल्याउँदा पिछडिएका समाजका गरिब मानिस खोज्नुहोला । सकेसम्म सम्पन्न परिवारका र उच्च कहलिन जातहरूका मानिस नलिई आउनुहोला । उहाँले भन्नुभयो, यिनीहरूमा अलिकति भोगविलासको स्वभाव हुन्छ, अन्कन्टार पहाडी भागमा आउँदा शिक्षणको साथै चेलिबेटीतिर बढी झुकाव राख्छन् । यसबाट बडो बदनामी हुन जान्छ । लामो समय बस्दैनन् ।

म भीमबहादुर तामाङजीको पैतृक गाउँ पुगेको छु । जो कोही आजभन्दा कम्तिमा पनि २५÷३० वर्ष पहिला भीमबहादुरजीको गाउँ पुगेका हुन्, उनले मात्र बुझ्न सक्छ कि कति दुरूह तथा अन्कन्टार रहेको थियो त्यो गाउँ । त्यहाँ पुग्ने बाटो । कल्पना गर्नुस् त्यस्तो दुरूह ठाउँका भीमबहादुरजीलाई उहाँको पिताले आजभन्दा ७०÷७५ वर्षअघि राम्रो र उच्च अंग्रेजी शिक्षाका लागि कालिम्पोङ पठाएका थिए ।

एक अपठित पिताका लागि अंग्रेजी शिक्षाको कत्रो अर्थपूर्ण महत्वको आँकलन थियो, भीमबहादुरलाई कालिम्पोङ पठाउनुबाट नै बुझिन्छ । वास्तवमा ज्ञान, शिक्षा र सम्पति सदैव, सबै समयमा मानिसको खोजीको विषय रहि आएको हो । शिक्षालाई ज्ञानको सन्दर्भमा त हेरिन्छ नै । तर, शिक्षा धनको आर्जन तथा त्यसको बिस्तारको पूर्वाधार पनि हो भन्ने कुरा उत्तिकै बिर्सन नसकिने तथ्य हो । ठुल्ठूला तपस्वी र योगीहरूमा विद्यमान रहने शिक्षा प्राप्तिको यो जिजीविषा त्यस जमानामा भीमबहादुरका पितामा अवश्य पनि रहेको कुरा बिर्सन सकिन्न । भीमबहादुर शिक्षा र ज्ञानको खोजीमा रहनुभयो तर धनार्जनमा उहाँको ध्यान गएन । यसमा उहाँ अपवाद रहनुभयो ।

एक दिन उहाँले मलाई विज्ञान, गणित र अंग्रेजी पढाउने शिक्षकको खोजी गरिदिन भन्नुभयो, सँगै उहाँले मलाई सुझाउनु भयो, मधेसबाट यस्तो शिक्षक ल्याउँदा पिछडिएका समाजका गरिब मानिस खोज्नुहोला । सकेसम्म सम्पन्न परिवारका र उच्च कहलिन जातहरूका मानिस नलिई आउनुहोला । उहाँले भन्नुभयो, यिनीहरूमा अलिकति भोग विलासको स्वभाव हुन्छ, अन्कन्टार पहाडी भागमा आउँदा शिक्षणको साथै चेलिबेटीतिर बढी झुकाव राख्छन् । यसबाट बडो बदनामी हुन जान्छ । लामो समय बस्दैनन् । यसरी उहाँमा गहिरो सामाजिक सावधानी, चेत र दायित्वको बोध थियो । आज पनि दोलखा जिल्लामा कैयौँ यस्ता शिक्षकहरू छन्, जो मधेसबाट त्यहाँ गई सामाजिक अन्तर्घुलनको नमुना भएका छन् । यसै मध्येका एक रामजीवन सिंह त दोलखाबाट संसद्को सायद राष्ट्रिय सभामा समेत प्रतिनिधित्व गरेका थिए । यसरी विभिन्न व्यक्तिहरूको सहयोगबाट दोलखामा मात्र होइन रामेछाप जिल्लाका विभिन्न विद्यालयहरूमा अन्तरसामुदायिक शिक्षकहरू पुग्न सक्यो । हालका समयमा यस्ता शिक्षकहरूको सोच बढी सामाजिक सामान्जस्यपूर्ण छ । कुरो त सामान्य हो । तर, यसको सन्देश व्यापक छ ।

शिक्षा भीमबहादुरजीका लागि ठूलो प्राथमिकताको क्षेत्र रह्यो । साथीभाइका छोराछोरीको पढाइका लागि मद्दत पु¥याउन उहाँसँग पर्याप्त समय रहन्थ्यो । पूर्वसभामुख दमननाथ ढुंगानालगायत कैयौँ नाम चलेका तर बेफुर्सदी मानिसहरूका छोराछोरीको शिक्षाको केही जिम्मेवारी उहाँले लिनुभएको थियो । दार्जिलिङ, कालिम्पोङ, कर्सियाङ र सिक्किमका स्कुलहरूमा भर्ना गराउनु र छुट्टीहरूमा लिई आउने जिम्मेवारीलाई बडो सहजताका साथ भीमबहादुरजीले निर्वाह गर्नुहुन्थ्यो । साधारणझै लाग्ने यो कुरो असाधारण थियो ।

एउटा रोचक प्रसंगको उल्लेख गर्छु । लामो काराबासपछि बिपी कोइराला वाराणसीको मेहबुरगञ्जमा बस्नुभएको थियो । सुशील कोइराला, चक्र बास्तोला, वीरेन्द्र दाहाल र भीमबहादुरजी त्यही रहनुहुन्थ्यो । त्यो बडो कठिन समय थियो । बिपीले सशस्त्र प्रतिरोधको कार्यनीति लिनुभएको थियो । नेपालबाट सरकारी संयन्त्रको आँखा छलेर नेपाली कांग्रेसका मानिसहरू बिपीलाई भेटन वाराणसी पुग्ने गर्दथे । उनीहरूको आउने र जाने तरिका बडो गोप्य हुन्थ्यो । वाराणसीमा बस्ने धेरैजसो कम्युनिस्टहरू पञ्चायति सरकारको जासुसी गर्दथे । उनीहरू बहसका लागि बिपी कहाँ आउँथे र नेपाल फर्की जाने कांग्रेसीहरूका बारेमा नेपालतिर खबर पठाउने गर्दथे । यी सब कुरालाई विचार गरेर नेपालबाट आउनेलाई सुरक्षित वासस्थलसम्म र फर्किने बेलामा रेल रिजर्बेसन गराई गन्तव्यतिर पठाउने जिम्मा भीमबहादुरको थियो ।

मुगलसराय रेलवे जंक्सनका पुलिसले उहाँको यस राजनीतिक भूमिकालाई बुझेका थिएनन् । हर समय स्टेसनमा रेल टिकट खरिद गर्ने तर आफू स्वयंले यात्रा नगरी अरूलाई रेल चढाउने गरेको उहाँको भूमिकालाई रेल पुलिसले ‘टिकट दलाल’ को रूपमा बुझ्न थालेका थिए । एक दिन गुल्मी अर्घाखाँचीतिरका साथीहरूलाई रेल चढाउन मुगलसराय स्टेसन गएको भीमबहादुरजी साँझपख फर्किनु भएन । बिपीलगायत सबैलाई अनेकन् दुष्चिन्ताले व्यग्र बनायो । व्यापक खोजतलास भयो । तीन दिनपछि मुगलसराय रेलवे स्टेसनका पुलिसबाट थाहा भयो कि एक जना टिकटका दलाल जो नेपाली हुन् रेलवेका थुनामा छन् । भीमबहादुरजी रेलवे पुलिसको नजरमा चढेका थिए, उनीहरूलाई लागेको थियो कि यो नेपाली रेलवे टिकट ब्ल्याकमा बेच्ने गर्छन् । यसरी भीमबहादुरजी थुनिए र परिचय खुलेपछि रिहा गरिए । यो कुरो धेरै पछिसम्म हँसीमजाकको विषय रहिरह्यो । मैले ठट्टाका साथ सोधेको थिएँ, तपार्इं त तीन महिनाका लागि रेलवे थुनामा पर्नुहुन्थ्यो । अनि के हुन्थ्यो नि ? तुरुन्त भन्नुभयो, कठिन समयमा पार्टीको कोषमा तीन महिनाका लागि एक जना उपर हुने व्यय भार कम हुने थियो । त्यस बखत प्रवासमा रहेका एक जनालाई पार्टीले मासिक भारू २ सय ५० को सहयोग जोहो गरेको थियो ।

बगैँचा र बागवानीका बडो शौखिन हुनुहुन्थ्यो भीमबहादुरजी । साथै फलफूलका बडो जानकार । खासगरी गोदाबरी, गुलाफ र मखमली फूलको विशेषज्ञ नै हुनुहुन्थ्यो । बिपी कोइराला आफ्ना भाइ तारिणीप्रसाद कोइरालाको काठमाडौं जयबागेस्वरीस्थित निवासमा बस्नुहुन्थ्यो । त्यहाँको बगैँचा बडो आकर्षक थियो । यसको सम्पूर्ण हेरचाहको काम उहाँ स्वयंले गर्नुहुन्थ्यो । बिपीका विचारहरू सुन्न हरेक बिहान त्यहाँ कार्यकर्ताहरू, पत्रकारहरूको ठूलो जमघट लाग्ने गथ्र्याे । सबैको ध्यान बिपीका प्रति हुन्थ्यो, तर आफूले लगाएको फूलहरू कार्यकर्ताहरूले कुल्चिदिन्छन् कि भनेर भीमबहादुर बगैँचाको पालोपहरामै तैनाथ रहनुहुन्थ्यो । जीवनको अन्तिम समयतिर उहाँ बरिष्ठ अधिवक्ता तथा नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीको घरको एक भागमा बस्न थाल्नुभएको थियो । त्यहाँ जानेहरूले गोदाबरीका दर्जनौँ जातहरू हरेक फूल र बागवानीका बारेमा भीमबहादुरजीको लगाव तथा अनुराग थाहा पाउँथे ।

वाराणशीमा एकदिन बिपीले शैलजा आचार्यका स्वभावका बारेमा केही प्रतिक्रिया जनाउनुभएको थियो । यो सार्वजनिक प्रतिक्रिया थिएन, केही अन्तरंग परिजनहरूका बीच मात्र उहाँले भन्नुभएको थियो । त्यो कुरो पछि शैलजाले थाहा पाउनुभयो, जुन शैलजाको तत्काल दुःख र विक्षिप्ताको कारण हुन गयो । जीवनको पहिचानका बारेमा शैलजामा द्विविधा उत्पन्न भयो । यस कुरोले सुशीला कोइरालालाई बडो चिन्तित बनायो । सुशीलालाई भीमबहादुरमा रहेको स्त्री स्वभावको मनोवैज्ञानिक विश्लेषण क्षमताको पूरा जानकारी थियो । यस निम्ति उहाँले भीमबहादुरजीलाई आग्रह गर्नुभयो र तत्पश्चात भीमबहादुरले थाहा नपाउँदो प्रकारबाट शैलजासँग हिमचिम बढाएर गम्भीर मनोवैज्ञानिक बहस तथा विश्लेषणको आधारमा शैलजालाई स्थिर गराउन सक्नुभयो । चक्र बास्तोला, जो शैलजाका बहिनी ज्वाइँ हुनुहुन्थ्यो, मलाई भन्नुभयो, ‘यो शैलजाको लागि पुनर्जीवन थियो ।’

जन्मको आधारमा अर्थात प्रकृति प्रदत्त लिंगको आधारमा महिलालाई बुझ्न सकिँदैन । महिलाको निर्माण त जन्मको धेरैपछि उसको चेतनाको विकास तथा समाजलाई बुझ्ने ऊ भित्रको आन्तरिक स्पन्दनबाट पो हुन्छ, यसो भन्नुहुन्थ्यो भीमबहादुरजी । सन् १९४५ मा फ्रान्सेली मनोवैज्ञानिक ‘सिमोन द बुआ’को पुस्तक ‘सेकेन्ड सेक्स’ प्रकाशित भएको थियो । उहाँ सन् ६० तिर यसको गहन अध्ययन गरिसक्नुभएको थियो । चक्र बास्तोला बिपीपछि ती थोरै व्यक्ति मध्ये थिए जो भीमबहादुरजीलाई ‘पुरूषको साधारण पहिरनमा सच्चा तथा वास्तविक फेमिनिस्ट ठान्दथे । म आज पनि संझिन्छु, भीमबहादुरजी भन्नुहुन्थ्यो, महिलाहरू भन्नाले उसको लैंगिक प्रकृति बाहेक उसमा अन्य कुनै पनि त्यस्तो विषय हुन्न जसले सबै महिलालाई समान जनाओस् । सबै महिला उस्तै हँुदैनन् । महिलाका बारेमा संसारमा कुनै त्यस्तो पाठ छैन, जसको अध्ययन गरेर सबै महिलाहरूमा लागू हुने कुनै कुरा सिक्न सकियोस् । केही यस्ता अनुभवहरू पनि छन् जसले पुरूषको तुलनामा महिलाहरूको अधिक संभावनालाई उजागर गर्दछ । यद्यपि यस्ता अनेकौँ देशहरू छन् जहाँ महिलाहरूका लागि समान सांस्कृतिक मापदण्ड अवलम्बन गरिएको भनिन्छ । तर, त्यहाँ पनि महिलाहरूको पहिचानका बारेमा गम्भीर मतभेदहरू देखिन्छ । महिलाहरूका बारेका अनुभव स्थानीयताबाट बढी प्रभावित रहेको उहाँको राय हुन्थ्यो । शैलजाको अध्ययन गरेर मंगलादेवी सिंहको र सुशीला कोइरालाका बारेमा धारणा बनाउन नसकिने भन्नुहुन्थ्यो ।

भीमबहादुरजी अनेकन् सुशिक्षित महिलाहरू–सुशीला कोइराला, मंगलादेवी सिंह, शैलजा आचार्य, भुवन ढुंगानालगायत कैयौँका प्रिय हुनुहुन्थ्यो । उहाँहरूसँग कुनै पोलिटिकल एजेन्डामा कुरा नगर्ने । महिला मनोविज्ञान, साहित्य, फूलबारी, लुगाफाटा, फेसन, बच्चाहरूको हेरचार, पढाइ र एडमिसन–यी विषयहरूमा भीमबहादुरजी नेता पत्नीहरू तथा कैयौँ महिला नेतृहरूको बडो पसन्दिता मानिस हुनुहुन्थ्यो । यसको यौटा दार्शनिक आधार थियो, ‘सायद सबैभन्दा ठूलो गल्ती तपाईं गर्न सक्नुहुन्छ कि महिलाहरू सबै उस्तै हुन् भन्ने विश्वास गर्नु ।’ यस मान्यताले उहाँलाई चर्चित र अचर्चित सबै महिलाहरूलाई पृथकपृथक पहिचानको रूपमा मान्न प्रेरित गथ्र्यो, न कि एकअर्काको पूरकको रूपमा । यसरी भीमबहादुरजीका लागि हरेक महिला आपस्तमा तुलना गर्न नसकिने, सबैको स्वतन्त्र पहिचानको व्यक्तित्व हो भने ठहरमा पु¥याएको थियो । यसरी उहाँ बडो प्रिय रहनुभयो, महिलाहरूमा ।
म भीमबहादुरजी सँगसँगै बस्थ्यौँ । ०३८ पछि कैयौँ वर्षहरूसम्म । अनेकन बहसहरूमा सरिक रहन्थे । आज उहाँका बारेमा थोरै लेख्नुपर्दा ती कुराहरू संझिन बडो कठिन भएको छ । तपाईं कुनै दार्शनिकजस्तो मानिसको, जसको विचारहरू प्रकाशनको रूपमा उपलब्ध छैन । जो तपार्इंको कुनै अध्यापकजस्तो पनि रहेन । जसको मूल कार्यक्षेत्र राजनीति थियो, जहाँ असंख्य विषयहरूमा तपार्इंको असहमति पनि रहेको थियो, त्यस्तो मानिसको दार्शनिक सोचहरूको उल्लेख गर्नसक्नु कठिन काम हुन्छ । अहिले भीमबहादुरजीको स्मृतिले मलाई सोही कठिन अवस्थामा पु¥याएको छ । तर म राजनीतिबाहेक उहाँका कतिपय कुराहरूमा अभिभूत थिए । शायद यसै कारणले केही स्मृतिहरू, यादहरू, कुराकानीका प्रसंगहरू मनमा जगाउँदै छु ।

थोरै राजनीतिका बारे ः

उहाँको प्रवेश ०१६ सालको संसदीय कालभन्दा पूर्व नै एउटा सबल व्यक्तित्वको रूपमा प्रवासको राजनीतिबाट भएको हो । नेपाली कांग्रेसको प्रवासको राजनीति भनेकै सशस्त्र कारबाहीको राजनीति हो । भीमबहादुरजी प्रवासको राजनीतिमा सदैव सशस्त्र कारबाहीको पक्षमा रहनुभयो । तर, कहिले पनि कुनै कारबाहीमा सशरीर सरिक हुनु भएन ।

सशस्त्र कारबाहीको वैचारिक पक्षलाई बलियो बनाउने काममा उहाँको महत्वपूर्ण योगदान रहेको छ । उहाँ निजी रूपमा चे गुवेरियन हुनुहुन्थ्यो । चेबाट प्रभावित रहनुभयो । तर, चेको वैचारिक प्रभावलाई फैल्याउँदा कार्यकर्ताहरू पूर्णरूपमा कम्युनिस्ट हुन पुग्छन् भनी उहाँले चे गुवेराका क्रांतिकारी शिल्पलाई नेपालको आवश्यकता भनी बिपीको सोचको रूपमा छलफलमा ल्याउनुहुन्थ्यो । नेपाली कांग्रेसले ०१८ मा सुरू गरेको सशस्त्र कारबाही वा त्यसपछिका कारबाहीहरूलाई औपचारिक रूपमा के नामकरण गर्ने यस्ता सामान्यजस्तो देखिने सवालमा उहाँ बडो गम्भीर र मिहीन छलफल गर्नुहुन्थ्यो । सशस्त्र कारबाहीलाई आन्दोलन भन्ने कि क्रान्ति भन्ने ? उहाँले नेपाली कांग्रेसको ०१८ सालपछिको सशस्त्र कारबाहीहरूलाई ‘प्रतिरोध’ रेसिसडेन्ट मुभमेन्ट भनी स्वीकार गराउन तथा औपचारिक लेखनमा प्रयोग गराउन बडो शालीन बहसलाई अगाडि बढाउनुभयो ।

कोइरालाहरूको पारिवारिक सन्दर्भमा बिहानको चियाको बडो महत्व रहेको छ । बिपी र पछि गिरिजा बाबुको समयमा एकाबिहानै चियाका लागि सबै जम्मा हुन्थे र त्यहाँ बडो गंभीर छलफल विचार विमर्श हुन्थ्यो । बडो जीवन्त खाले चर्चाहरू । यस अवसरहरूमा भीमबहादुरजीको उपस्थितिको आफ्नै रौनक रहन्थ्यो । उहाँका कुराहरूलाई बिपीले बडो महत्वका साथ सुन्नुहुन्थ्यो । त्यसमा सरिक हुनेहरूलाई यदाकदा लाग्दथ्यो कि बिपी पनि प्रभावित हुनुभयो । राम्रो तर्कशीलता देखिन्थ्यो भीम बहादुरमा । उहाँको यस तरिकाबारे ठट्टा गर्नु हुँदै चक्र बाँस्तोला बिहानको चिया खाने बेलामा बिपीसमक्ष मजाकमा भन्नुहुन्थ्यो ः भीमबहादुरजीले सान्दाजुलाई तान्दै हुनुहुन्छ । सान्दाजुले आफूलाई ठाउँमा रोक्नुपर्दछ ।

राजनीतिमा बिपीको सशस्त्र पक्षधरता र किसुनजीको अहिंसक विचार दुई धारको रूपमा लामो समयसम्म विद्यमान रहेको थियो । तर, भीमबहादुरजी दुबै नेताका उतिकै प्रिय थिए । किन यस्तो नि भनी मैले सोद्धा भीमबहादुर भन्नुहुन्थ्यो ः मेरो विचार क्रान्तिकारी, सशस्त्र पक्षधरताका लागि बिपीमा वैचारिक प्रवलता रहेको छ । तर्कपूर्ण औचित्यको आधारमा बिपीको दृष्टिकोणको निर्माण हुन्छ । म त्यसमा सहमत रहन्छु । यस कारणले मलाई बिपी मन पर्छ । तर, म सशस्त्र कारबाहीमा सरिक हुन्न ।

प्रतिक्रिया