मकवानपुरका दुई पत्रकारमाथि कुटपिट भएको भन्दै उजुरी दर्ता

हेटौँडा । मकवानपुरका दुईजना पत्रकारमाथि कुटपिट भएको छ । हेटौँडा—२ मा रहेको पल्पसा होटलमा आईतबार राति करिब पौने १० बजे कांग्रेसका कार्यकर्ताले इन्द्र बानीयाँको विषयमा समाचार लेखेको भन्दै पत्रकारलाई कुटपिट गरेको हो ।

नेपाली कांग्रेसभित्र भएको घात, अन्तर्घातको विषयमा बागमती एक्सप्रेस नामक साप्ताहिक पत्रिकामा समाचार प्रकाशन भएको विषयमा कांग्रेसका कार्यकर्ताहरुले बागमती एक्सप्रेस साप्ताहिकका प्रकाशक रमेश बञ्जरा (इन्द्र) र सोहि पत्रिकाका स्तम्भकार रामकुमार रिजाल (एलन) माथि कुटपिट गरेको प्रत्यक्षदर्शी समेत रहेका नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगरले बताए ।

कांग्रेसका युवा नेता भनेर परिचित राजेश भेटवाल, राजु नगरकोटी, रञ्जन बनियाँसहित करिब एक दर्जन कार्यकर्ताको समूहले घरेलु हतियार प्रयोग गरी आक्रमण गरेको बञ्जराको भनाई छ । आक्रमणबाट रिजालको दाईने कान र देब्रे गालामा चोट लागेको छ भने बञ्जरा पनि घाईते भएका छन् ।

आक्रमण गर्ने भेटवालसहितका कांग्रेस कार्यकर्ताहरुमाथि ज्यान मार्ने उद्योगअन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गरेको बञ्जराले बताए । घटनाको निन्दा गर्दै मकवानपुरका पत्रकार निटक संगठनहरुले दोषिलाई कारबाहीको माग गरेको छन् ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया