भरखरै सम्पन्न आमनिर्वाचनको जनादेश स्पष्ट छ । त्यो जनादेश हो, ‘साविकको नेतृत्वले देश हाँक्न सक्दैन, तत्काल विकल्प खोज, यदि विकल्प खोज्दैनौ भने विद्रोह हुन्छ ।’ राजधानी काठमाडौं उपत्यका, चितवन, बुटवल, इटहरी, धरान, पोखरा लगायतका चेतनशील क्षेत्रका मतदाताले परम्परागत नेतृत्वविरुद्ध विद्रोहको विगुल फुकिसकेका छन् । मतपत्रको माध्यमबाट फुकिएको यो विद्रोहको विगुलप्रति अब नेपाली कांग्रेसको नेतृत्व पंक्ति सजग हुनु जरुरी छ । विद्रोहको यो भाषा समयमै नबुझ्ने हो भने अब भौतिक रूपमै विद्रोह हुन सक्छ । जुन विद्रोहले कुर्सी ओगटी रहने पुराना नेताहरूलाई बढार्ने त निश्चित छ नै, साथै नेपाली कांग्रेसलाई र संविधानलाई नै बढार्ने संभावना देखिएको छ ।
अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ६ पटक प्रधानमन्त्री हुने आफ्नो तुष्टि मेटाउनका निम्ति मुलुकलाई तवाह बनाउने कि ? युगको पुकार बुझ्दै युवालाई सत्ता हस्तान्तरण गरेर देश, लोकतन्त्र र नेपाली कांग्रेस जोगाउने ? ठण्डा दिमागले सोच्नु जरुरी छ । विद्रोहको ज्वाला रन्किँदै गरेको संकटको यो घडीमा देउवालाई फेरी प्रधानमन्त्री बन्न जसजसले उकास्दैछन् उनीहरू नेपाली कांग्रेसका मुख्य दुस्मन हुन्, जो नेपाली कांग्रेसलाई समाप्त गर्न भित्री अँधेरा कुनाबाट सञ्चालित छन् ।
अर्को शब्दमा भन्नुपर्दा कांग्रेसमा देउवाको विकल्प खोज्नु हुँदैन भन्नु दास मनोविज्ञानको उपज मात्रै होइन, नेपाली कांग्रेसलाई भारतको कांग्रेस आई जस्तो बनाउने षड्यन्त्र हो । यतिबेला नेपाली कांग्रेसको मात्रै होइन सरकारको नेतृत्व गर्न सक्ने कुशल युवाहरू उल्लेख्य छन् । कुनै पनि पार्टीका लागि यस्तो मौका इतिहासमा विरलै पाइन्छ । सौभाग्यबस कांग्रेसले यतिबेला यो मौका पाएको छ । यस्तो मौका सधँै आउँदैन । यो मौकाको सदुपयोग नेपाली कांग्रेसले गर्न सकेन भने कांग्रेसको त परै जाओस् देश र लोकतन्त्रको पनि भविष्य छैन ।
नेपाली कांग्रेसलाई प्राप्त युवा नेतृत्वको सन्दर्भमा राजनीतिक विश्लेषक भवराज कोइरालाले आफ्नो फेसबुकमा लेख्नुभएको छ –
सम्भावनाका संवाहक तीन युवा
विश्वप्रकाश शर्मा : थोरै मण्डले, तैपनि पञ्चायतको जगजगीमा तिनको दादागिरीले मेची क्याम्पस हलिन्थ्यो । माले अखिल अरिंगाल झैँ थिए । संख्या पनि धेरै । दुवैको सोच र संस्कार प्रजातन्त्रवादीहरूको मुख बन्द गर्नु थियो । यो गठबन्धन ०३६ सालको जनमत संग्रहबाट बनेको थियो, किनकी, दुवैको उद्देस्य नीलो रंगलाई हराउन थियो । दुबैलाई प्रजातन्त्र स्वीकार्य थिएन । प्रजातन्त्रवादीको सास थुन्न दुइटै ग्रुपले जे पनि गर्थे । अहिले पनि यिनको न्यानो माया प्रिति जस्ताको तस्तै छ । दुवैको सिराने अहिले पनि झापा नै हो ।
यस्तो अवस्थामा, मण्डले र अरिंगालको गोलामा माहुरी झँै भएर छुट्टै पहिचानसहित एउटा फुच्चे मेची क्याम्पस छि¥यो । पढ्न आएको केटो, प्रजातान्त्रिक संस्कारले हुर्किएको केटो, धन सम्पती थिएन, तर तर निकै दमदार थियो । नेपाल विद्यार्थी संघको अध्यक्ष मात्र भएन, त्यो केटो आफ्नै बलबुतामा देशको सबैभन्दा ठुलो प्रजातान्त्रिक पार्टीको महामन्त्री भयो । पटकपटक सांसद हुने सम्भावना हुँदाहुँदै पनि कांग्रेस भित्रका यदुहरूले नै हराइदिएर बाटो छेके । यसपाली ऊ छेकिएन, सानदार मतले जित्यो ।
गगन थापा : काठमाडाैंमा जन्मिएको, अलिक सम्पन्न बुबाको छोरो थियो । सायद बुबाले आफूजस्तै इन्जिनियर बनाउन खोजेका थिए होलान् । तर, ०४६ सालको जनआन्दोलले अर्कै चेत छिराइदियो । त्रिचन्द्र कलेजमा भर्ना भयो । खिर्खिरेजस्तो देखिने केटो संगठनका हरेक गतिविधिमा सक्रिय रह्यो । खुबी थियो, तेज तर्रार भाषण गर्न थाल्यो । ०५९ सालमा नेपाल विद्यार्थी संघको महामन्त्री भयो । कांग्रेसका महाधिवेशन प्रतिनिधि बन्यो । वैचारिक रूपमा खारियो, सांगठनिक रूपमा दह्रो भयो ।
प्रजातन्त्र के हो, आफूभन्दा पुरानालाई पनि स्मरण गराउन थाल्यो । राजाको सक्रिय शासनका बेला हरेक चौतारामा बसेर गणतन्त्रको आवाज प्रखर बनायो । कांग्रेसीले कल्पनामा नगरेको विषयलाई राष्ट्रिय एजेन्डा बनाएरै छाड्यो । पार्टी भित्रका बुढा गोरुले आलो काँचो बहर भनिरहेकै बेला संविधानसभामा नेपाली कांग्रेस नामक पुस्तक लेखेर विद्वता र बुद्धिमत्ताको परिचय पनि दियो । आफ्नै बलबुतामा कांग्रेसको निर्वाचित महामन्त्री भयो । स्वास्थ्य मन्त्री भएको बेला गोविन्द केसीसँगको सम्झौता धेरै हदसम्म कार्यान्वयन गर्न लागि पर्याे । धेरैले बाटो छेके, आरोप झेल्यो, तैपनि लागिपरेको छ, हारेको छैन । हारेन ।
प्रदीप पौडेल : तनहुँ त्यस्तो जिल्ला, जहाँ बहुदलले ०३६ सालमा जितेको थियो । तर, प्रजातन्त्र पछि त्यहाँको राजनीति रामचन्द्र पौडेल र गोविन्दराज जोशीको वरिपरि घुम्थ्यो । हस्ती नेता भएको जिल्ला थियो । जो उभिन्थ्यो, ठुलो रूखको सेपमा परिहाल्थ्यो । यद्यपि, त्यही माटोको चेतबाट थोरै भए पनि चेतना बोकेर अस्कल पढन छिरेको केटो नेपाल विद्यार्थी संघको नेता भएर निस्कियो । होस्टलमा इँटा, खुँडा र तरबार लुकाएर बस्ने उग्र वामपन्थी अखिलको प्रभावलाई चुनौती दिँदै प्रजातन्त्र, वाक स्वतन्त्रताका अघि एकाधिकार कसरि हार्छ ? देखाइदियो ।
आफ्नै क्षमता र अटल विश्वासलाई डगमगाउन दिएन, दुःख गर्यो र ०५२ सालमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित पनि भयो । विद्यार्थीको हक अधिकारका लागि लडिरह्यो । नेपाल विद्यार्थी संघमा केन्द्रीय सदस्य, तीनपटक उपाध्यक्ष र ०६२ देखि ०६८ सालसम्म नेपाल विद्यार्थी संघको अध्यक्षको रूपमा काम गरेर अरू विद्यार्थी संघ संगठनलाई पनि दिशानिर्देश गर्यो । यही काबिलियत देखेर सादगी नेता सुशील कोइरालाले कांग्रेसको केन्द्रीय सदस्य बनाए । नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा सर्वाधिक मत ल्याई पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएर नेपालभरिका त्यो पार्टीका कार्यकर्ताको भरोसाको मत पायो । भ्रष्टाचारविरुद्ध अग्रपंक्तिमा रहेर आवाज उठायो । अहिले आएर काठमाडाैं ५ मा विपक्षीको ठुलै हस्तीलाई हरायो । क्षमता हुनेले आफ्नो जिल्लालाई मात्र कोरलेर बस्दैन, जुनसुकै मैदानमा पनि डटेर हिँड्छ भन्ने प्रमाणित गर्यो ।
विश्वप्रकाश, गगन र प्रदीप यी तीनै जना कुनै परिवारको विरासतबाट राजनीतिमा आएका होइनन् । आफ्नै चेतबाट उम्रिएका चेतना हुन्, चितुवा हुन् । धेरै लडे, धेरै दौडिए । यतिबेला तीनै जना आफ्नै बलबुतामा दौडिएर राजनीतिक म्याराथुनको अग्र भागमा देखिएका छन् । यिनीहरू सम्भावनाको सम्वाहक हुन सक्ने ल्याकत राख्दछन् । तीन चितुवाले आफ्नो शक्ती एकीकृत गरेर एउटा सिंह बन्ने अवसर आएको छ । संघर्ष र अठोटमा मात्र यिनीहरूबीच समानता छैन, नामले पनि साथ दिएको छ ।
गगन, प्रकाश, प्रदीप, तारा, आकाश, छायापथ, तारापथ जे जे भने पनि तीन जना एउटै हुन जस्तोे लाग्छ । सत्ताको मस्तीमा अल्झिएनन् भने पक्कै देशको इतिहास बदल्ने हस्ती हुनेछन् । आफ्ना पार्टीका मात्र होइन, अरू पार्टीका पनि बा, बुढा, लुला, लोलुप, दिन ढलेका, हीन भएका हरूलाई फकाइफुल्याई ससम्मान फुर्सद दिएर युवाको हातमा बागडोर ल्याउन सकून् । अब आदेश पालक रथी होइन, अरू पार्टीका युवा नेताहरूलाई समेत समेटेर महारथी बनुन् । जितको माला होइन, जनताको हार बनुन् । मुरी मुरी शुभकामना, जय होस्, मंगल रहोस् ! देशको कल्याण होस् ।
भवराज कोइरालाको यो अभिमत त एउटा उदाहरण मात्रै हो । मुलुकका लाखौँ युवाहरूको यही अभिमत छ । समाजिक सञ्जाल तथा मिडियामार्फत युवाहरूले झक्झकाइरहेका छन् । उनीहरूको एउटै भनाइ छ, ‘अबको प्रधानमन्त्री युवा हुनुपर्छ । युवालाई काम, ज्येष्ठ नागरिकलाई आराम ।’ हुन पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल अहिलेसम्म ठूलो आदर्शका पात्र हुनहुन्छ । उहाँहरू नेपाली कांग्रेसको पुँजीसमेत हुनुहुन्छ । तर, अब पनि उहाँहरूले सत्ताको लोभ गर्नुभयो भने नेपाली कांग्रेसको त्यो पुँजी सकिन्छ । त्यसैले अग्रजहरूलाई सम्मानका साथ जोगाउनु जरुरी छ । आफूले विगतमा गरेको राम्रो कामको व्याज जिन्दगीभर खान खोज्दा के हालत हुन्छ ? भन्ने कुराको पाठ कांग्रेसका ज्येष्ठ नेताहरूले सिंगापुरका लि क्वान यु बाट पाठ सिक्नु जरुरी छ ।
नेपाली कांग्रेसका युवा पुस्ताले पनि भुल्न नहुने कुरा के हो भने ज्येष्ठ नागरिकलाई बोझ मान्नु त हाम्रो अज्ञानता हो । उनीहरू त हाम्रा अमूल्य सम्पत्ति, ज्ञान र अनुभवका भण्डार, जिउँदा इतिहास, मार्गदर्शक, विकासका प्रेरक तथा समाजका ऐना हुन् । उनीहरूका जीवन र भोगाइबाट प्राप्त व्यावहारिक ज्ञान, अनुभवले समाज तथा राष्ट्रलाई योगदान पु¥याउँछ । उनीहरूसँग भएका ज्ञान हामीलाई कुनै संघसंस्थाले दिन सक्दैन ।
त्यसैले देउवा र पौडेललाई सम्मानका साथ आराम गर्न दिनु जरुरी छ । जसरी गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई बुढेसकालमा विश्राम दिन देउवा र पौडेलले अहोरात्र मिहिनेत गर्नुभयो, त्यसरी नै देउवा र पौडेललाई पनि अब आराम र विश्रामको खाँचो छ । आफ्नो सम्पूर्ण कर्तव्य पार गरिसकेका देउवा र पौडेललाई सम्मान तथा सुस्वास्थ्यका लागि पहल गरौँ ।
८० वर्षको उमेर नाघेपछि भगवान् श्रीकृष्ण त शक्तिविहीन र विवेकविहीन हुनुभएको थियो भने हामी त मान्छे हौँ । आफ्नो उमेर कति पुग्यो ? भन्ने कुरा देउवालाई अवश्य थाहा छ । उहाँ अब आफँै सचेत बन्नुपर्छ । घटना ०६४ सालको हो । समानुपातिक सांसदमा गगन थापाको नाम राख्ने वा नराख्ने ? भन्ने बहस भयो । देउवा र सुशील कोइराला दुवैले अर्को चुनावमा अवसर आइहाल्छ नि, अहिले बेला भएको छैन भनेर इन्कार गर्दा वरिष्ठ नेता पौडेलले हस्तक्षेप गर्दै भन्नुभयो, ‘कांग्रेसमा युवाहरूको विद्रोह हुन सक्छ, युवाहरू कांग्रेसमा आकर्षित हुनु संभावना मर्छ । यो गल्ती नगरौँ ।’ यो महसुस पौडेलले अहिले पनि गर्नु जरुरी छ । अब देउवा नै प्रधानमन्त्री भए भने सडक–विद्रोह निश्चित छ । उनलाई सडकले नै सत्ताच्युत गर्नेछ । काठमाडौं आन्दोलित मनस्थितिमा छ ।
देउवाले छैटौँपटक प्रधानमन्त्री बन्न लोभ गरेको सन्देश पूर्णबहादुर खड्काहरूले प्रवाह गरेपछि युवाहरू कतिसम्म आक्रोशित छन् ? भन्ने उदाहरणका रूपमा लोकतन्त्रवादी मानवअधिकारकर्मी राजन कुँइकेलले आफ्नो फेसबुकमा लेखेको यो स्टाटसलाई उदाहरणका रूपमा लिन सकिन्छ । उनले लेखेका छन्, ‘कांग्रेस एमालेका गुलामहरूले अहिलेको भ्रष्ट भिरिंगी शासनलाई नै लोकतन्त्रको विकल्पहीन शासकीय प्रणाली सम्झे । जसरी यतिबेला कांग्रेसमा देउवाका चरणदासहरू उनको विकल्प सोच्दा पनि प्राणवायु गुमेझै गर्दैछन् । एमालेमा ओली र माओवादीमा प्रचण्डको विरोध त शूलीमा चढेझै हो । धत् देश ।’
देउवालााई पुन संसदीय दलको नेता चुनेर फेरी पनि प्रधानमन्त्री बनाउने हो भने कांग्रेस, लोकतन्त्र र देशको हालत कतिसम्म कहालीलाग्दो हुन्छ भन्ने कुरा विगतले पनि प्रष्ट पारेकै छ । अहिले नै केहीले आशंका गरेका छन्, ‘देउवा आफ्नो नेतृत्वमा सरकार बन्ने अवस्था नभए बरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँछन् तर नेपाली कांग्रेस भित्रका अन्य नेतालाई प्रधानमन्त्री बनाउन तयार हुँदैनन् जस्तो लाग्छ । देउवाको बिगतले पनि त्यस्तै देखाउँछ ।’ हुन पनि देउवाले ०५८ सालमा प्रधानमन्त्रीबाट राजीनामा दिनुभन्दा बरु राजालाई नै सत्ता बुझाउन सहज ठानेका थिए ।
देश बनाउँछु भन्ने, पाँचवर्षे नीति र कार्यक्रमसहित मुलुकको ड्राइभिङ सिटमा बस्छु भन्ने उदीयमान युवाविरुद्ध लबिङ गरेर हिँड्ने कांग्रेसका केही नेताहरूको नाम युवा पुस्ताले नोट गरेर राखेको छ । कांग्रेसभित्र रहेका यी विचार र सिद्धान्तका गरिबहरूको प्रतिवादका लागि युवा पंक्ति तयार भएर बसेको छ । किनकि ती गरिबहरूसँग देश निर्माणको कार्यक्रम पनि त हुनुपर्यो नि ? कार्यक्रम भएको भए पछिल्लो ३० वर्षलाई हेरे पुगिहाल्छ । फोहोर पोखरीमा बस्नेहरूसँग निर्माणको होइन ध्वंशको मात्र योजना हुन्छ । दलले निर्वाचन जितेको भए पो विचार, सिद्धान्त र अंकगणितको कुरा आउँछ । व्यवस्था बहुदलीय भएर के गर्ने शासनको बागडोर सम्माल्न खोज्ने वृद्धहरू निर्दलीय भएपछि ? निर्वाचनले निकास नदिएपछि फेरि एकपटक मुलुक जोगाउन आमनागरिक सडकमा आउनुपर्ने भयो त ? भन्ने प्रश्न पनि उठेका छन् ।
गगन थापा, विश्वप्रकाश शर्मा तथा प्रदीप पौडेल त उदाहरण मात्रै हुन् । संभावना बोकेका युवाहरू यसपटक नेपाली कांग्रेसबाट दर्जनौँ निर्वाचित भएर आएका छन् । बद्री पाण्डेदेखि धनराज गुरुङ, चन्द्र भण्डारीदेखि शंकर भण्डारी, रामहरि खतिवडादेखि उदयशमशेर राणा, सीता गुरुङदेखि दीपक खड्कासम्म दर्जनौँ युवाहरूले चुनाव जितेका छन् ।
प्रतिनिधिसभाको प्रत्यक्ष तर्फका सबै सिट हेर्ने हो भने मुख्य पार्टीका वृद्ध नेताहरूको सिन्डिकेटका बाबजुद पनि ९० प्रतिशत अनुहारहरू ६० वर्ष मुनिका छन् । ७० वर्ष माथिका त नगन्य छन् । साविकका पार्टीहरूद्वारा जहाँ जहाँ वृद्ध–वृद्धालाई उम्मेद्वारका रूपमा अघि सारियो, केही अपवादबाहेक त्यहाँत्यहाँ नयाँ पार्टीका युवाहरूले चुनाव जितेका छन् ।
नयाँ पुस्ताका युवा नेताहरूको तुलनामा पुराना पुस्ताका नेताहरू लोकप्रिय छैनन् भन्ने कुरा आमनिर्वाचनको परिणामले पुष्टि गरेको छ । आम मतदातामध्ये पाँच जनालाई प्रश्न गर्ने हो भने तीन जनाले गगन थापा प्रधानमन्त्री होउन् भन्ने चाहेको देखिन्छ । कुनै पनि राजनीतिकदल जीवित रहने भनेको नयाँ पुस्ताको आकर्षणले हो । नयाँ पुस्तालाई आकर्षित गर्न नसक्ने पार्टी जीवित रहँदैन । यसको उदाहरणका रूपमा राप्रपाले अहिले हासिल गरेको उपलव्धी हेरे पुग्छ । पाँच महिनाअघि मात्रै जन्मेको राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको उपलव्धी हेरे पुग्छ । नेपाली कांग्रेस पार्टी आफँैले गत आमनिर्वाचनमा प्राप्त गरेको समानुपातिक तर्फको मत र अहिले प्राप्त गरेको मत तुलना गरे पनि हुन्छ । गत आमनिर्वाचनको तुलनामा यो आमनिर्वाचनमा नेपाली कांग्रेसको जनमत करिब आठ प्रतिशत घटेको छ । कांग्रेसका लागि यो ओरालो यात्रा सानो होइन । सातपटक प्रधानमन्त्री बन्ने आफ्नो वाचा पूरा गर्न पार्टीको यो ओरालो यात्रालाई निरन्तरता दिने कि ? अब जनताबीच लोकप्रिय नयाँ पुस्तालाई अघि सारेर पार्टीलाई जोगाउने ? भन्ने कुरामा कांग्रेस सभापति देउवा स्पष्ट हुनु जरुरी छ । देउवाले हठ नत्याग्ने हो भने नेपाली कांग्रेसभित्र ठूलै किचलो हुने संकेत देखिइसकेको छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा सहयात्रा गर्न चाहेका दलहरूले पनि सभापति देउवालाई उचित सुझाव दिन ढिला गर्नु हुन्न । अलोकप्रिय व्यक्तिको नेतृत्वमा जो जो पार्टी सरकारमा सहभागी हुन्छन्, उनीहरूको यात्रा पनि ओरालोतर्फ नै हुन्छ । यो कुराको हेक्का प्रचण्ड र माधव नेपालले पनि राख्नु जरुरी छ ।
प्रतिक्रिया