जितसँगै खुसी बाड्न गाउँगाउँमा विजेता

बाँके । बाँके १ (ख) बाट लुम्बिनी प्रदेश सदस्यको टिकट दिएपछि दुर्गाप्रसाद चौधरीले कोहलपुर–१५ बाट चुनावी प्रचार प्रसार अभियान सुरु गरेका थिए । नेकपा एमालेका लुम्बिनी प्रदेश उप–सचिवसमेत रहेका चौधरीको चुनावी अभियान १ सय १६ वर्षीय वयोबृद्धा महिलाको हातबाट आशीर्वाद थापेर सुरुआत भएको थियो । उक्त अवसरमा ती महिलाले भनेकी थिइन्, ‘बाबु जितेर देखाउनु, मेरोतर्फबाट शुभकामना ।’

संयोग भनौ, चौधरी लुम्बिनी प्रदेश सभा सदस्यमा विजयी भए । नेकपा माओवादी केन्द्रको पृष्ठभूमिका चौधरीले नेकपा एमालेको उम्मेद्वारका रूपमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका फुलाराम थारूलाई पराजित गरे । नेपाली कांग्रेसका थारूलाई ८ सय ७७ मतको अन्तरले पराजित गरेका हुन् । नवनिर्वाचित दुर्गाले १५ हजार ६ सय ५७ मत प्राप्त गरका छन् । निकटतम प्रतिस्पर्धी फुलारामले १४ हजार ७ सय ८० मत ल्याएका छन् । ऐतिहासिक जितपछि पहिलोपटक उनी उनै १ सस १६ वर्षीय वृद्धाको घरमा गए । उम्मेदवारका रूपमा आशीर्वाद लिन पुगेका उनी निर्वाचित भएपछि सांसदको रूपमा त्यहाँ पुगेका छन् ।

फलफूल र पोष्टिक तत्व कोसेली लिएर गएका उनले त्यहीबाट अर्को अभियानको सुरु गरे । त्यो अभियानको नाम हो, ‘मतदाता भेटघाट तथा धन्दवाद कार्यक्रम ।’ शनिबारदेखि दैनिक चौधरी उम्मेदवारका रूपमा जसरी भोट माग्न जनताका घरदैलोमा भएका थिए, अहिले पनि निर्वाचित सांसदको रूपमा मतदाताहरूलाई धन्यवाद दिइरहेका छन् ।

उनी मात्रै होइन बाँके १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य ढकाल पनि मतदाताहरूको घरदैलोमै छन् । चौधरी र ढकालले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेरै घरघरमा पुगेर आफूहरूलाई निर्वाचित गराउने मतदाताहरूलाई धन्यवाद ज्ञापन गरिरहेका छन् । नेकपा एमालेका बाँके जिल्ला इन्चार्जसमेत रहेका ढकाल निर्वाचित भएलगत्तै नरैनापुर गाउँपालिका पुगेर फर्किइसकेका छन् ।

अहिले दुवै जना कोहलपुर नगरपालिकाका विभिन्न वडामा कार्यक्रमको सेड्युल नै बनाएर मतदाताहरूलाई भेटघाट गरिरहेका छन् । सोमबार मात्रै कोहलपुरका नौ वटा वडामा पुगे । यस्तै आज पनि थप सात वटा वडामा पुग्ने कार्यक्रम रहेको ढकालले बताए । उनका अनुसार बाँके क्षेत्र नम्बर १ अन्तर्गत पर्ने तीन वटै पालिकामा पुग्ने कार्यक्रम रहेको छ ।

‘हामी मतदातालाई धन्यावाद दिइरहेका छौँ । उहाँहरूसँग खुसी साटिरहेका छौ । यतिमात्रै होइन जनप्रतिनिधिका रुपमा हामीले गर्नुपर्ने कामका विषयमा सुझाव समेत मागिरहेका छौँ । अबको पाँच वर्ष हामी मतदाताहरूको अपेक्षा र सुझावका आधारमा मात्रै काम गर्नेछौँ,’ नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ढकालले भने ।

यस्तै बाँके १ (क) बाट लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित नेकपा (माओवादी केन्द्र)की नेता तथा सांसद कृष्णा केसी नमुना पनि मतदाताहरूको घरदैलोमा गएर विजयको खुसी साटिरहेकी छन् । यही क्षेत्रबाट लगातार दोस्रोपटक निर्वाचित भएकी उनी ‘मतदाता भेटघाट तथा धन्दवाद कार्यक्रम ’ मै व्यस्त छिन् । नमुना ०७४ सालमा पनि बाँके १ (क) बाट निर्वाचित भएकी थिइन् । ०७४ मा निर्वाचन जितेका र फेरि चुनाव लडेका मध्ये फेरि निर्वाचित हुने एकमात्र नेता हुन् । यस्तै तीन प्रतिनिधिसभा र ६ प्रदेशसभामा निर्वाचित हुने एकमात्र महिला हुन्, नमुना । उनले जनताले भारी मतका लागि फेरि विजय गराएका छन् ।

उनीहरूको मतको उच्च कदर गर्दै अहिले मतदाताहरूलाई भेटेर धन्यावाद ज्ञापन गर्ने काम भइरहेको छ । उनका अनुसार नरैनापुर गाउँपालिकामा गएर मतदाताहरूकासँग शुभकामना आदान प्रदान गर्ने कार्यक्रम सकिसकेको छ । यस्तै राप्ती सोनारी गाउँपालिकामा समेत मतदाताहरूसँग भेटघाट कार्यक्रम भएको उनले बताइन् । नमुना भन्छिन्, ‘मतदाताले धेरै विश्वास गरेर जिताउनुभएको छ । उहाँहरूको आशा कहिल्यै टुट्न दिने छैन । आगामी पाँच वर्ष यस क्षेत्रको विकास र समृद्धिका लागि सक्रिय हुनेछु ।’

प्रतिक्रिया