तेस्रो प्रयासमा सिंहदरबार छिरे ‘धवल राजा’

बाँके । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवल शमशेर राणा विजयी भएका छन् । डा. धवलले २९ हजार ५ सय ७७ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निटकतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इस्तियाक राईलाई ६ हजार ५७ मत अन्तरका साथ पराजित गरे । उनका निकटतम प्रतिस्पर्धी जसपाका राईले २३ हजार ५ सय २० मत पाए । यता तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेद्वार सुदीपनरसिंह राणाले ४ हजार ४ सय ३ मत मात्रै पाए । राणासँग पराजित राई निवर्तमान प्रतिनिधिसभा सदस्य एवं भौतिक पूर्वाधार मन्त्री हुन् ।

राणा प्रधानमन्त्री देवशमशेरका खलक डा.धवल ०४९ सालदेखि प्रत्यक्ष राजनीतिमा संलग्न भएका थिए । त्यसअघि उनी शिक्षक थिए । ०४९ सालमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको युवक संघको जिल्ल्ला सचिव भएर औपचारिक रूपमा राजनीतिक यात्रा तय गरेका थिए । उनी ०५१ सालको चुनावमा नेपालगञ्जवाट स्वतन्त्र रूपमा संसद्का लागि चुनाव पनि लडेका थिए तर पराजित भए । राप्रपावाट एमालेमा प्रवेश गरेका राणा ०५४ सालमा एमालेका तर्फबाट नेपालगञ्ज नगरपालिकाको मेयरमा निर्वाचित भएर राम्रा काम गरेको भन्दै लोकप्रियता कमाएका थिए । ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा नेपालगञ्जबाटै चुनाव लडे तर जित्न सकेनन् । ०७४ को गणतान्त्रिक संघीयताको लागू भएपछिको पहिलो स्थानीय निर्वाचनमा उम्मेद्वार बनेका धवल नेपालगञ्ज उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । यस कार्यकालमा पनि उनले सहरको भौतिक विकासमा राम्रो काम गर्न सफल भएको आमबुझाइ बनेको थियो । उनलाई नेपालगञ्जमा सबैले ‘धवल राजा’ भन्छन् ।

जितपछि धन्यवाद ज्ञापन गर्दै राणाले लेखेका छन्, ‘यस निर्वाचन क्षेत्रका सबै चुनौतीहरूको सामना गर्न र सुशासन, स्थायित्व, आर्थिक उन्नतिका लागि म सक्दो सहयोग गर्नेछु भन्ने विश्वास दिलाउन चाहन्छु । यस देशलाई आर्थिक रूपमा बलियो बनाउन र हाम्रा युवाहरूको लागि रोजगारी सिर्जना गर्न भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेछ । व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सक्यौँ भने यी सबै हासिल गर्न सकिन्छ ।’

यसैगरी बाँके क्षेत्र नम्बर ३ प्रदेशसभा क्षेत्र (क) बाट नेकपा एमालेका सचिव रत्न खत्री विजयी भएका छन् । उनले १३ हजार १ सय ५८ मत प्राप्त गरेका हुन् । उनले निकटतम प्रतिस्पर्धी पूर्व राज्यमन्त्री दलबहादुर सुनारलाई १ हजार ६ सय ९४ मत अन्तरले पराजित गरेको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।

स्वतन्त्र उम्मेद्वारी दिएर माओवादीमा प्रवेश गरेका सुनारले ११ हजार ४ सय ६४ मत पाएका छन् । अर्का प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका चन्तराम थारूले ९ हजार ५ सय ४७ र नेकपा माओवादी केन्द्रका आधिकारिक उम्मेद्वार आइपी खरेलले १ हजार ९ सय ९५ मत पाएका छन् । खरेल लुम्बिनी प्रदेशका निवर्तमान प्रदेशसभा सदस्य हुन् । ०३४ साल चैतमा जन्मिएका रत्न एमालेका युवा नेताका रूपमा परिचित छन् ।
बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका भण्डारी लाल अहिर विजयी भएका छन् । नेकपा एमालेका विजयबहादुर यादवलाई पछि पारी अहिरले विजय प्राप्त गरेका हुन् । भण्डारीले ११ हजार ५ सय ४ मत प्राप्त गरेका छन् ।
प्रदेशसभामा पहिलोपटक निर्वाचित हुन लागेका यादव गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा डुडुवा गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए । उनी ०७४ को स्थानीय चुनावमा डुडुवा–३ बाट वडा अध्यक्ष चुनिएका थिए ।

यस्तै बाँके क्षेत्र नम्बर २ प्रदेशसभा क्षेत्र (ख)मा जनता समाजवादी पार्टी जसपाका आदेशकुमार अग्रवाल विजयी भएका छन् । आदेशले ५ हजार ४ सय १५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका निरकबहादुर गुरुङले ४ हजार ७ सय ५२ मत ल्याउँदा नेपाली कांग्रेसका सुरेन्द्रबहादुर हमालले ४ हजार ४ सय ५० मत ल्याए ।

हमाल निवर्तमान प्रदेश सभा सदस्य एवं लुम्बिनी प्रदेशका वन, वतावरण तथा भू–संरक्षण मन्त्री हुन् । अग्रवाल उद्योगीका नेताका रूपमा परिचय बनाएका व्यक्ति हुन् । यसका साथै नेकपा माओवादी केन्द्रमा आबद्ध उनी चुनावको मुखमा माओवादी केन्द्र छोडेर जसपामा प्रवेश गरेका थिए । अग्रवालको उमेर ४६ वर्ष रहेको छ ।

प्रतिक्रिया