सबैभन्दा बढि कर तिर्नेमा कम्पनी तर्फ सूर्य नेपाल र व्यक्तिमा शाह

काठमाडौं । आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाता घोषणा गरेको छ । विभागले बुधबार कर दिवसको अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको हो । विभागले आर्थिक वर्ष २०७७/७८ मा कम्पनी तर्फ सूर्य नेपालले सबैभन्दा धेरै कर तिरेको भन्दै सम्मान गरेको छ । त्यसैगरी व्यक्ति तर्फ सबैभन्दा बढि कर तिर्नेमा जावलाखेल डिस्टिलरीका अध्यक्ष विजयकुमार शाहलाई सम्मानित गरेको छ ।

जावलाखेल डिस्टिलरीसँगै शाहले हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी सञ्चालन गरिरहेका छन् । उनी २०७७ सालमा पनि व्यक्तिगततर्फ धेरै कर तिरेर सम्मानित भैसकेका भएका व्यक्ति हुन । सबैभन्दा बढी मूल्य अभिवेद्धि कर (भ्याट) तिर्नेमा गोर्खा ब्रुअरी प्रालि रहेको छ । समयमै कर दाखिला गरेका नियमित कर सहभागिता जनाएको मध्येबाट गोर्खा बु्रअरी छानिएको हो । कम्पनीले २०७८/७९ मा बुझाएको भ्याटको आधारमा सम्मान प्राप्त गरेको हो ।

विभागले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, चिलिमे जलविद्युत् कम्पनीसहित १६ सबैभन्दा धेरै कर तिर्ने करदाता कम्पनीलाई सम्मान गरेको हो।
कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धिकर दाखिला गर्ने गोर्खा ब्रुअरी सम्मानित भएको छ।
त्यस्तै, सबैभन्दा धेरै आयकर बुझाउने कम्पनीमा नेपाल टेलिकमले सम्मान पाएको छ भने शिवशक्ति घ्यु सर्वाधिक निर्यात गरेर कर तिर्ने कम्पनी बनेको छ । राजेश मेटल प्रालि विशेष उद्योग शीर्षकको आयकरदाताका रुपमा सम्मानित भएको छ ।

ओसीबी फुड्स प्रालि कृषि एवं पशुपन्छी आयकरदाता बनेको छ भने नबिल बैंक वित्तीय संस्थातर्फको ठूलो आयकर दाताबाट सम्मानित भएको छ । लघुवित्त तर्फ छिमेक लघुवित्तले सम्मान पाएको छ । बीमा व्यवसायबाट धेरै आयकर दाखिला गर्नेमा नेपाल पुनर्बीमा कम्पनी छ भने स्वास्थ्य तथा शिक्षातर्फ धेरै आयकर तिर्नेमा नोबेल मेडिकल कलेज सम्मानित भएको छ ।

पर्यटन व्यवसायमा मनकामना दर्शन, वस्तु व्यापारमा हंसराज हुलाशचन्द प्रा.लि र चिलिमे हाइड्रोपावरले उर्जामूलक उद्योगको ठूलो आयकरदाता बनेको छ । रेमिटेन्स कम्पनीमा आईएमई लिमिटेड छनोट भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सरकारले बिभिन्न १५ बिधामा सम्मान गरेको छ ।

कर नीतिमा सुधारको प्रतिवद्धता

अर्थसचिव कृष्णहरि पुष्करले कर नीतिमा सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । बुधबार राष्ट्रिय कर दिवसका अवसरमा आयोजित एक कार्यक्रममा उनले करका नीतिहरू पुराना भएकाले समयानकूल सुधार गरिने बताएका हुन ।

पछिल्लो समय विश्व अर्थतन्त्रमा समस्या रहेकाले कर प्रणालीमा समेत संकुचन देखिएको उनको भनाई थियो । नेपालमा मात्र नभई विश्वका ठूला मुलुकरुमा समेत राजस्व संकलनमा चुनौती देखिएको उनले बताए । नेपालको राजस्वा संकलन तथा अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेकोमा पनि पुस्करले जोड दिए । सचिव पुष्करले करदाता, कर उठाउने कर्मचारीको मानसिकता र कर प्रणालीका प्रविधि परम्परागत भएकाले समयानुसार परिवर्तन गर्न आवश्यक रहेको औँल्याए ।

प्रतिक्रिया