प्रतिनिधिसभा निर्वाचन परिणामको पहिलो खाता : मुस्ताङबाट कांग्रेसका गौचन विजयी

काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङबाट चुनावी नतिजा आफ्नो पक्षमा पार्दै नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मतका साथ विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई ९ सय १४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले गौचनले ३ हजार ९ सय ९२ र एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवीणकुमार शेरचनले १३ मत प्राप्त गरेका छन् ।

आइतबार भएको चुनावमा मुस्ताङमा १० हजार ९ सय ५७ मतदातामध्ये ७ हजार २ सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको थियो । योगेश सम्भवतः कान्छो प्रतिनिधिसभा सदस्य बन्नेछन् । गौचन मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका बासिन्दा हुन् ।

प्रतिक्रिया