६८ प्रतिशत युवा भेदभावको शिकार

प्रिटोरिया । दक्षिण अफ्रिकाका करिब ६८ प्रतिशत युवाले विद्यालयदेखि काम गर्ने स्थान र सामुदायिक स्थलहरूमा समेत आफुहरूविरुद्ध भेदभाव हुनेगरेको गुनासो गरेका छन् । उनीहरूले भेदभाव जीवनको एक नियमित हिस्साजस्तै भएको बताएका छन् ।

यो तथ्य संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । उमेर, लिंग, शिक्षा, आम्दानी र छालाको रंगका आधारमा युवाहरुमाथि भेदभाव हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनका अनुसार, करिब ८० प्रतिशत युवा उत्तरदाताले भेदभावका कारण आफ्नो जीवनको प्रगतिमा असर पारेको गुनासो गरेका छन् । उनीहरुले चरम भेदभावकै कारण आफुहरु सामाजिक जीवनको विभिन्न क्षेत्रमा अगाडि बढ्न नसकेको बताएका छन् ।

बालबालिकाविरुद्धको हिंसाको स्तर तथा दक्षिण अफ्रिकामा युवा जीवनलाई असर गर्ने र भेदभाव गर्ने असमानतालाई तत्कालै सम्बोधन गरिनुपर्ने युनिसेफ दक्षिण अफ्रिका प्रतिनिधि क्रिस्टिन मुहिगानाले बताएकी छन् ।
‘कुनै पनि प्रकारको भेदभाव आफैमा खराब कुरा हो । बालबालिकामाथि हुने भेदभाव त झनै संवेदनशील विषय हो । बालबालिकामाथि हुने भेदभावविरुद्ध हामी सबैले लड्नुपर्छ,’ उनले भनेकी छन्, ‘विश्व बाल दिवस हरेक बालबालिकाको अधिकारको लागि हाम्रो आह्वानलाई बलियो बनाउने क्षण पनि हो ।’

प्रतिक्रिया