धनगढी । डडेल्धुराको अमरगढी नगरपालिका–८ बकन्डेका भोजबहादुर सार्की कुटो र कोदालोसँग रमाउन थालेका छन् । उमेरले २९ वर्षीय भोजबहादुरले विगत ३ वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका छन् । उनको लोभ लाग्दो तरकारी खेती छ ।
उनी मुक्त हलिया परिवारका सदस्य हुन् । मुक्त हलिया परिवारलाई उचित पुनःस्थापना नहुँदा धेरै समस्यासँग मुकाविला गर्नुपरेको छ । उनका परिवारले विगत लामो समयदेखि तरकारी खेती गर्दै आए पनि व्यवसायिकरुपमा तरकारी खेती गर्न सकेका थिएनन् ।
आर्थिक अभावका कारण परिवारले व्यवसायिक तरकारी खेती गर्न नसकेको उनी बताउँछन् । उनलाई समयको अन्तरालले व्यवसायिक तरकारी खेती गर्ने बनायो । जब उनी विवाह पश्चात् परिवारबाट अलग भए त्यसपछि उनलाई घर व्यवहार चलाउन निकै गाह्रो हुन थाल्यो ।
‘विवाहपछि परिवारबाट अलग भइयो, आफ्नो रोजगारी थिएन, रोजगारी पनि नमिल्ने भएको थोरै जमीनमा उब्जनी पनि नहुने, परिवारको लालनपालनका लागि ज्याला मजदूरी गर्नुपर्ने अवस्था आयो’, उनले भने । उनले संघर्षलाई भने निरन्तरता दिँदै गएको सुनाए ।
भोजबहादुरले भने, ‘मैले तरकारी खेतीलाई व्यवसायिक बनाउने सोच बनाएँ, सोचले मात्रै नपुग्ने भयो, व्यवसायिक तरकारी खेतीका लागि सीप, ज्ञान, विभिन्न पूवार्धारदेखि लिएर औजार बीउ बिजनको आवश्यकता पर्न थाल्यो, यो सबै जुटाउन आफ्नो आर्थिक अवस्था थिएन ।’
कालान्तरले उनको व्यवसायिक तरकारी खेती गर्ने सोच पनि पुरा गर्यो । उनले भने ‘मैले भागेश्वर एग्रीकच्लर प्रालिबाट १५ दिने उद्यमशीलता विकास तालिम लिएँ ।’ उनलाई तालिमले मात्रै भएन तरकारी खेतीका लागि पूर्वाधार निर्माणदेखि बीउ बिजनको आवश्यता थियो ।
‘गत वर्ष उस्माइन पद्धतिमार्फत कृषि उद्यमशीलता विकास तथा सहयोग तालिम केन्द्र कञ्चनपुरबाट टनेल, हाते ट्याक्टर लगायतका सामान पाएँ’, उनले भने, ‘त्यसले तरकारी खेती गर्न केही सहज भयो ।’ त्यसैमा गत वर्ष ELCA र लुथरन विश्व फेडेरेशन (LWF) नेपालको आर्थिक सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले सञ्चालन गरेको साहस–२ परियोजनाबाट पाएको सहयोगले भोजबहादुरको व्यवसायिक तरकारी खेती गर्ने चाहनामा अझै मद्दत पुगेको उनले बताए ।
उनले भने, ‘साहस परियोजनाले गत वर्ष तरकारीको बीउ, मलखाद्य, सिँचाई पाइपलगायतको सहयोग गर्यो, त्यसले तरकारी खेती गर्न झन् सहजता बनायो, अहिले करिब डेढ रोपनी जग्गामा तरकारी खेती गरेको छु ।’ अहिले टमाटर, सिम्ला मिर्चा, रायो, बन्दालगायतका तरकारी फलाएको उनी बताउँछन् ।
तरकारीबाट अहिले उनले राम्रै कमाउने गरेका छन् । उनले भने, ‘साँझ र बिहानको छाक टार्न, दैनिकी चलाउन सहज भएको छ ।’ भोजबहादुरको चाहना भने अझै तरकारी खेतीलाई व्यवस्थित बनाउने छ । ‘आर्थिक अभावका कारण सोचेजस्तो व्यवसाय गर्न सकेको छैन्,’ उनले भने, ‘२–४ जनालाई रोजगारी दिने गरी काम गर्ने चाहना छ ।’
यति मात्रै होइन उनकी पत्नीले केही महिना अगाडि साहसबाट लुगा सिलाउने मेसिन पनि पाएकी छन् । ‘अहिले दुवै जना स्वरोजगार पनि भएका छौँ’, उनले भने, ‘मैले तरकारी खेती गर्छु, श्रीमतीले सिलाईको काम गर्छिन् ।’
कैलाली
प्रतिक्रिया