आन्दोलनमा सहभागी भएको भन्दै मृत्युदण्ड

तेहरान । तेहरानको एक अदालतले देशमा चलिरहेको विरोध प्रदर्शनमा संलग्न रहेको आरोपमा पहिलो पटक एक व्यक्तिलाई मृत्युदण्डको फैसला सुनाएको छ । मृत्युदण्ड दिइएको व्यक्तिको नाम भने खुलाइएको छैन । इरानी न्यायपालिकाले आइतबार ती व्यक्तिलाई मृत्यु दण्ड दिएको जानकारी दिएको छ ।

ती व्यक्तिविरुद्ध ‘सरकारी केन्द्रमा आगो लगाएको, शान्ति व्यवस्थामा खलल पुर्याएको र राष्ट्रिय सुरक्षाविरुद्ध कदम चालेको’ आरोपका अतिरिक्त ‘भगवानविद्धरु युद्ध छेडेको (मोहरेबेह)’ आरोप रहेको अदालतले बताएको छ ।

सोही समय थप पाँच अज्ञात व्यक्तिलाई (जसलाई अधिकारीहरूले दंगाकारी भनेका छन्, जुन पछिल्लो समय प्रशासनले आन्दोलनकारीलाई प्रयोग गर्नेगर्छ ) राष्ट्रिय सुरक्षाविरुद्ध काम गरेको आरोपमा पाँचदेखि १० वर्षको जेल सजाय दिइएको छ ।

न्यायपालिकाले पछिल्लो सजाय प्रारम्भिक मात्र भएको र पुनरावेदन अदालतले पुष्टि गरेपछि त्यो अन्तिम हुने बताएको छ । न्यायपालिकाले देशको राजधानी सहर तेहरानमा मात्र १००० जनाविरुद्ध मुद्द चलिरहेको र देशका अन्य भागमा सयौंविरुद्ध मुद्दा चलिरहेको जानकारी दिएको छ ।

आन्दोलनकारीविरुद्ध पहिलो न्यायिक सुनुवाइ अक्टोबरको अन्त्यमा तेहरानमा भएको थियो । इरानका राजनीतिक सस्थापनले ‘दंगाकारीविरुद्ध फास्ट–ट्रयाक अदालती कारबाही चलाउनुपर्ने’ माग गरिरहेका छन् ।
गत हप्ता, इरानको संसदका बहुमत सदस्यहरूले अदालतलाई ‘यी अपराध(विरोध प्रदर्शन) र अपराधलाई सहयोग गर्ने तथा दंगाकारीलाई उक्साउने सबैविरुद्ध निर्णायक कारबाही गर्न’ आह्वान गरेको थियो ।

सेप्टेम्बरको मध्यमा देशको कुर्दिश भेगबाट राजधानी भ्रमण रहेकी २२ वर्षीया महसा अमिनीको धार्मिक प्रहरीको हिरासतमा मृत्यु भएपछि पछिल्लो आन्दोलन चर्किएको हो । उनलाई देशको पहिरन संहिता अनुसार सही ढंगले बुर्का नलगाएको आरोपमा पक्राउ गरिएको थियो ।

युवायुवतीहरू सडकमा उत्रिएर कठोर धार्मिक नियमहरुको मात्र होइन, इस्लामिक व्यवस्थाकै विरुद्धमा देखिएका छन् । सरकार प्रदर्शन रोक्न देशव्यापी इन्टरनेट अवरुद्ध बनाएको छ तर पनि प्रदर्शन मत्थर भएको छैन ।

प्रतिक्रिया