महेश बस्नेतलाई यो चुनाव चनाको च्युरा

अनुषा थापा

०५० सालसम्म बस्नेत परिवारको अवस्था एकदमै नाजुक थियो । आफ्नो खेतमा फलेको अन्नले पुग्ने अवस्था थिएन । बस्नेत गरिब परिवारमा जन्मिएका व्यक्ति हुन् । तर, अहिले उनको सम्पत्ति भनिसाध्य छैन । वडाध्यक्ष हुँदै मन्त्री र सांसद्सम्म आइपुगेका उनको सयौं ठाउँमा घरजग्गा भएको बताइन्छ । व्यावसायिक क्षेत्रमा पनि उनको धेरै लगानी भएको यहाँका स्थानीयहरू बताउँछन् । देश र विदेशी बैंकमा उनले प्रशस्तै पैसा राखेको बताइन्छ । यो सम्पत्ति कहाँबाट आयो ? गुण्डागर्दी पृष्ठभूमिबाट आएका उनले पहिलेपहिले व्यवसायीहरूलाई थर्काएर हप्ता उठाउँथे ।

भक्तपुर क्षेत्र नम्बर २ मा अझै पनि चुनावी माहौल तातेको छैन । ०७४ मा महेश बस्नेतको पक्षमा भोट माग्नेको संख्या टन्नै थियो । चुनाव प्रचारप्रसार गर्न नेकपा एमालेका कार्यकर्तालाई भ्याइनभ्याइ थियो । तर, अहिले त्यस्तो छैन । हिजो जो बस्नेतको अघिपछि हिँडेका थिए आज तिनीहरूले नै उनलाई समर्थन गरेका छैनन् । एमालेको चुनावी प्रचारप्रसारमा पनि त्यति रौनक छैन ।

०७४ सालमा माओवादी र एमाले मिलेर चुनाव लडेको थियो । एमालेले चुनाव जित्छ भन्ने पक्कापक्की भएपछि उनको अघिपछि लाग्नको लागि दौडधुप चलेको थियो । आफ्नो छोराछोरीलाई जागिर लगाउन, ठेक्कापट्टा आफ्नो हातमा पार्न र सरकारी र गुठीको जग्गा आफ्नो नाममा ल्याउनका लागि सबै जना बस्नेतकै पछि लागे । होटल व्यवसायी, उद्योग व्यवसायी, भू–माफिया, सहकारी सञ्चालक, निर्माण व्यवसायी सबै उनकै समर्थनमा जुटेका थिए ।

बाहिरी जिल्लाबाट आएर यो क्षेत्रमा जग्गा किनेर घर बनाएका नयाँ बस्तीहरूले पनि एमालेको झण्डा बोके । बस्नेतले त्यतिखेर थुप्रै आश्वासन बाँडेका थिए । आफ्नो स्वार्थ पूरा भएका र फाइदा लिन सकेकाहरू अझै पनि उनको पछाडि लागेका छन् । तर, आश्वासन मात्र पाएकाहरूले उनलाई चोर भन्न थालेका छन् । पहिले गर्दिछु भनेर भोट लिए तर पछि फर्किएर पनि हेरेनन् ।

अहिले उनीहरूले महेश बस्नेतलाई भोट पनि दिँदैनन् । उनको घरदैलो कार्यक्रममा पनि सहभागिता जनाएका छैनन् । यो क्षेत्रका जनताहरू बस्नेतले चुनाव हार्छ भनेर खुलेर भन्न थालिसकेका छन् । चुनाव नजित्नुको पछाडि थुप्रै कारण छ । एकातिर पाँच दल एक गठबन्धन भएको छ अर्कोतिर पाँच वर्षमा बस्नेतले विकासका लागि सिन्को पनि भाँचेका छैनन् ।

खाली खेतीयोग्य जमिन प्लानिङ गर्ने बाहेक अरू केही नै काम भएन् । पाँच वर्ष सांसद्को कार्यकाल फजुलमा खेर फाले, उनले । १० वर्ष अगाडि यो क्षेत्रमा धेरै खेतबारी थियो । सबैतिर हरियाली थियो । तर, अहिले सबैतिर घर ठड्याइएको छ । प्लटिङ भएको छ । जग्गा धनीसँग आनाको दुई लाखमा किनेर खण्डीकरण गर्ने काम भयो । टुक्राटुक्रा बनाउँदै आनाको ५० लाखमा बेच्ने कार्य भयो ।

गुठीका जग्गा, सरकारी र सार्वजनिक जग्गा सबै व्यक्तिको नाममा गइसकेको छ । पार्टीपौवा, चौतारा, ढुंगेधारा, ताल, पाखेरी, मठमन्दिर, आर्यघाट सबै मासियो । सरकारी सम्पत्ति मासेर भवन ठड्याइएको छ । आफ्नो क्षेत्रमा भएको सरकारी सम्पत्ति कुन अवस्थामा छ ? उनले खोज्नका निम्ति कहिले चासो देखाएनन् । ०६४ सालमा यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीले चुनाव जितेको थियो ।

त्यसअघिको चुनावमा नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसको किल्ला क्षेत्र हो, यो । कांग्रेस र नेमकिपाले यसरी खेतीयोग्य जमिनलाई प्लटिङ गर्न दिएका थिएनन् । कृषियोग्य जमिनमा घर निर्माणका कार्य अघि बढायो भने जनता भोकभोकै मर्छन् भनेर यी दुई पार्टीले जमिन बचाएर राखेका थिए । बाहिरको मान्छे पनि भित्र्याउन नहुने र पूराना जनतालाई पनि विस्थापन हुन दिने मान्यता दुई दलको थियो ।

जग्गा बेच्नेबित्तिकै पूराना बासिन्दा सबै विस्थापन हुन्छन् भन्ने उनीहरूले पहिलै सोचिसकेका थिए । पूराना स्थानीयमध्येमा नेमकिपा र कांग्रेसको सदस्यता मात्र थियो । एमालेको नामोनिशान थिएन । तर, जब उनीहरूले जग्गा बेचे त्यसपछि धमाधम बाहिरी जिल्लाका मान्छे भित्रिए । नयाँ आउने जति सबैले एमालेको सदस्यता लिए । नचाँहदा नचाँहिदै पनि एमाले बन्नुपर्ने बाध्यता थियो, उनीहरूलाई ।

एमाले नबनिकन राज्यबाट पाउनुपर्ने सेवासुविधा नै नदिने । सेवासुविधाका लागि पनि एमालेको सदस्यता लिनैपर्ने । धारा, बिजुली, ढल, बाटोलगायतका सेवासुविधा पाउनका लागि पार्टी नै बदल्नुपर्ने बाध्यता बस्नेतले पारेका थिए । कांग्रेस र नेमकिपाप्रति आस्था राख्नेहरू जग्गा बेचेर अन्य जिल्लामा पुगे । यहाँ सुकुम्बासी भएपछि थातथलो नै छोडेर हिँडे । जसले राप्रपा, कांग्रेस र नेमकिपालाई भोट दिन्छ त्यो क्षेत्रमा बजेट नै नहाल्दिने अघोषित नीति महेश बस्नेतले अख्तियार गरे ।

विकासमै भेदभाव गरिदिने । निर्माण र विकासका काममा अत्यन्त ढिलासुस्ती गरिदिने । आफ्नो पार्टीले जितेको वडाध्यक्ष र मेयरहरूले कार्यकर्ताको जे पनि काम गरिदिने । मुखबाट तल झर्न नपाइकन एमालेका कार्यकर्ताहरूको काम हुन्छ । तर, कांग्रेसलगायत अन्य दलका कार्यकर्ता आए भने काम नै नगरिदिने । आज र भोलि भन्दै अड्काएर राखिदिन्छन् । एमालेहरूले यहाँ आफ्नो दबदबा बनाएर राखेका छन् ।

महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भनेका थिए, ‘विकास कस्तो हुन्छ र कसरी हुन्छ ? हेर्न मन छ भने भक्तपुर क्षेत्र नम्बर २ मा आउनु ।’ खेतीयोग्य जमिन प्लटिङ गरेर विकास हुन्छ ? खेत मासेर घर ठड्याउदैमा विकास हुन्छ ? १० वर्ष अघि यहाँका स्थानीयले आफ्नै बारीमा फलेको खान्थे भने अहिले प्लास्टिकको किनेर खान्छन् ।

हिजो बिसौँ रोपनी जग्गा हुने व्यक्ति आज तीन रोपनीमा सीमित भएका छन् । यसलाई विकासको नाम दिनु लाजमर्दो कुरा हो । घर ठड्याउँदैमा विकास हुन्छ भनेर सोच्नेको बुद्धिभ्रष्ट भएको रहेछ भनेर जनताले बुझ्नुपर्छ । यहाँ दुई जनाको चाहिँ अत्यधिक विकास भएको छ । प्लटिङ गरेर टन्न कमाउनेहरूका लागि भने विकास भयो । हिजो दुई लाखमा किनेको जग्गा प्लटिङ गर्दै बेच्ने भू–माफिया र धमाधम स्वीकृति दिने बस्नेतको चाहि विकास भएको छ ।

पर्दाभित्र बसेर टन्न कमाइहालेका छन् । अनि त्योभन्दा अरू के चाहियो ? राज्यलाई घाटा भयो, बिचौलिया र भूमाफियालाई फाइदा भो । भोलि जनतालाई घर होइन्, अन्नको आवश्यकता पर्छ भनेर समेत सोचेनन् । भारत र अन्य मुलुकले खाद्यान्न पठाएनन् भने यहाँका जनताले के खान्छन् ? आफ्नो फाइदाका लागि जग्गा प्लानिङ गर्न दिए । एकातिर पैसा पनि कमाए, अर्कोतिर नयाँ बस्तीको भोटले नेता पनि बने ।

आफू दुइटै हातमा लड्डु लिएर बसेका छन् तर राज्यलाई त ठूलो क्षति भयो नि । भक्तपुर उपत्यकाभित्र पर्छ तर यहाँका स्कुलहरूको अवस्था कस्तो छ ? सरकारी अस्पतालको हालत कस्तो छ ? यतातिर उनको कहिले ध्यान केन्द्रित भएको छ ? सरकारी विद्यालयमा शिक्षक छैनन् । पढ्न गएका विद्यार्थी दिनभर डुलेर फर्किन्छन् । सरकारी अस्पताल हे¥यो भने छिर्न सम्भव छैन ।

अनि यसलाई विकासको नाम दिने ? एउटा उखान छ, ‘आँखा फुटेको गोरुले जहिले पनि हरियो देख्छ ।’ यो उखान बस्नेतलाई सुहाउने खाले छ । ०७० सालमा कांग्रेसबाट चुनाव जितेका रामेश्वर ढुंगेलले राजनीति गर्दा आफ्नो बिसौं रोपनी जग्गा सिद्धाए । उनले यो क्षेत्रमा पानी ल्याइदिए । पहिले यहाँ पानीको कत्रो सकस थियो । पानी लिनका लागि यहाँका स्थानीय कहाँ कहाँ पुग्नुपथ्र्यो ।

उनले पानी ल्याइदिएपछि यहाँका स्थानीयलाई निकै सहज भएको छ । उनी मरेर गए पनि उनले गरेको काम सधँै जनताको मनमा रहनेछ । उनलाई यहाँका जनताले पानी पिता भनेर सम्बोधन गर्छन् । उनले राजनीति गरेर कमाएनन्, बरु आफ्नो पुख्र्यौली सम्पत्ति सिद्धाए । ०५० सालसम्म बस्नेतको परिवारको अवस्था एकदमै नाजुक थियो । आफ्नो खेतमा फलेको अन्नले पुग्ने अवस्था थिएन ।

बस्नेत गरिब परिवारमा जन्मिएका व्यक्ति हुन् । तर, अहिले उनको सम्पत्ति भनिसाध्य छैन । वडाध्यक्ष हुँदै मन्त्री र सांसद्सम्म आइपुगेका उनको सयौं ठाउँमा घरजग्गा भएको बताइन्छ । व्यावसायिक क्षेत्रमा पनि उनको धेरै लगानी भएको यहाँका स्थानीयहरू बताउँछन् । देश र विदेशी बैंकमा उनले प्रशस्तै पैसा राखेको बताइन्छ । यो सम्पत्ति कहाँबाट आयो ? गुण्डागर्दी पृष्ठभूमिबाट आएका उनले पहिलेपहिले व्यवसायीहरूलाई थर्काएर हप्ता उठाउँथे ।

तर, मन्त्री र सांसद् भएपछि यो क्रम रोकिएको छ । नयाँ बस्तीले पनि उनको यथार्थ कुरा थाहा पाइसकेका छन् जसले गर्दा उनको भोट कटौती हुने देखिन्छ । चिया पसल, पार्टीपौवामा बस्नेतकै चर्चा चलेको सुनिन्छ । उनले चुनाव हार्छन् भनेर यतिखेर बहस चलेको छ । ०७४ सालको चुनावमा अधिकांश वडा र नगरपालिकामा एमालेका प्रतिनिधि आएका थिए ।

तर, यो चोटिको स्थानीय तहको चुनावमा एमालेले धेरै वडा र नगरपालिका गुमाएको छ । बस्नेतको भाषण सुन्दा दिक्क लागेर आउँछ । उनीसँग नेता हुने गुण छैन भन्ने त प्रष्ट हुन्छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले टीका लगाइदिएर उनी नेता बनेका हुन् । ओलीले दुई चोटि सांसद् विघटन गरेको पनि जनताले बिर्सिएका छैनन् । एमालेलाई बहुमत दिँदा पनि सरकार चलाउन नसकेको त स्मरण नै छ । अब आउने चुनाव एमालेका धेरै उम्मेदवारहरू पाखा लाग्छन् । त्योमध्ये एक महेश बस्नेत पनि हुन् ।

प्रतिक्रिया