पाँचथरमा स्थानीय तहको स्वमुल्यांकन गर्न जिससको पहल

पाँचथर । जिल्लाको ८ वटै पालिकाको प्रतिनिधित्व रहने गरी स्थानीय तहको संस्थागत क्षमता स्वमुल्यांकन र वित्तीय सुशासन जोखिम मूल्यांकनको अभिमुखीकरण फिदिममा सम्पन्न भएको छ ।

शनिबार प्रदेश अनुसन्धान तथा प्रशीक्षण प्रतिष्ठान केन्द्र प्रदेश १ को सहजीकरण र पाँचथर जिल्ला समन्वय समितिको आयोजनामा अभिमुखीकरण भएको हो । उक्त कार्यक्रममा स्थानीय सरकारको सार्वजनिक सेवा प्रवाहको अवस्थादेखि आर्थिक पारदर्शितासम्मको कुराहरु समावेश गरिएको थियो ।

कार्यक्रममा स्थानीय तहको संस्थागत क्षमता स्वमुल्यांकन कार्यविधि २०७७ र वित्तिय सुशासन जोखिम मूल्यांकन कार्यविधि २०७७ ले तोकेको १००–१०० वटा सूचकहरु अनुसार काम भए नभएको मुल्यांकन गरी आ–आफ्नो पालिकाको स्वमूल्यांकन गर्नको लागि कर्मचारीहरुलाई दुईदिने अभिमुखीकरण तालिम दिएको आयोजकले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको लागि यो कार्यविधि तयार गरेको हो । आगामी दिनहरुमा वैदेशिक सहायता तथा संघीय सरकारको अनुदान पनि क्रमशः यसै मुल्यांकनलाई आधार मानेर बिनियोजन हुनेछ ।

साथै, विभिन्न आयोजना सञ्चालनको लागि लिजाको मुल्यांकनलाइ एउटा आधार मानेर कम अंक ल्याउनेलाई सहभागी नगराउने पक्रिया सुरु भएको समेत जानकारी गराइएको थियो ।

कार्यक्रम उद्घाटन तथा समापन समारोहमा जिल्ला समन्वय समिति प्रमुख रामराज आङदेम्बे, उपप्रमुख यामकुमार आङवो र प्रदेश स्थानीय शासन विज्ञ अनिता ढुंगाना र सहभागीको तर्फबाट फिदिम नगरपालिका प्रशासन सहायक पाँचौँ तथा लिजा फोकल पर्सन सरस्वती सिवाकोटीले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको सहजीकरण नि. जिल्ला समन्वय अधिकारी अनिल तिखत्रि र जिसस नायब सुब्बा दुर्गा सम्बाहाम्फेले गरेका थिए । प्रत्येक पालिकाबाट फोकल पर्सन, लेखा शाखा, कम्प्युटर इन्जिनियर र योजना शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया