आर्थिक संकटप्रति बेखबर दलहरू

विगत केही महिनादेखि बैंकहरू नयाँ ऋण प्रवाह गर्न असमर्थ भएका छन् । बैंकहरूमा निक्षेप संकलन करिब करिब ठप्प भएको छ । संकलित निक्षेप पनि धमाधम निकालिएको छ । यसैलाई निहुँ बनाउँदै बैंकहरूले व्याजदर अत्यन्त चर्को बनाएका छन् । व्यवसायीहरूले नयाँ ऋण पाउन त सकिरहेका छैनन्, पुरानो ऋणको व्याज पनि बढाएर अत्यन्तै चर्को बनाइएका कारण व्यवसायीहरू संकटमा छन् । व्यवसाय सञ्चालनका लागि बंैकबाट लिइएको पुरानो ऋणको व्याज बढेका कारण आफूहरूको आम्दानीले खर्चसमेत धान्न नसकेको गुनासो व्यवसायीहरूको छ । यही गुनासोका साथ उनीहरू आफ्नो व्यवसाय बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् ।

पर्यटन व्यवसायीहरू पलायन भएको कोभिडको महामारीदेखि नै हो । कोभिडको महामारी अन्त्यपछि पर्यटन र निर्माण व्यवसायले फड्को मार्ने अनुमान गरिएको थियो । यो अनुमान मिथ्या सावित भएको छ । कोरोनाको कहर सकिएको एक वर्ष बित्न लाग्दासमेत पर्यटन व्यवसाय लयमा आउन सकेको छैन । सबैभन्दा धेरैलाई रोजगारी दिएको निर्माण व्यवसायको कुरा गर्ने हो भने नेपालको पुरानो डन्डी (स्टिल) उत्पादन गर्ने पञ्चकन्या स्टिल हालै बन्द भएको छ । एसआर स्टिल बन्द भएको गत साउनदेखि नै हो । बुटवल सिमेन्ट कम्पनी बन्द भएको महिनौँ बितिसकेको छ । जगदम्बा सिमेन्ट लामो समयदेखि एक सिफ्ट मात्र चलेको छ र यहि अवस्था रहे तीन महिनामा पूर्णरूपमा उत्पादन बन्द हुने जनाएको छ । घोराही सिमेन्ट, सर्वोत्तम सिमेन्टको उत्पादन अब दुई महिनाभित्र बन्न हुने चर्चा छ ।

नेपालको औद्योगिक क्षेत्रमा रोजगारीको मुख्य स्रोत भनेकै डन्डी, सिमेन्ट, पर्यटन, जलविद्युत् र बैंकिङ क्षेत्र हो । चर्को ब्याज, मह“गो सञ्चालन खर्च र सरकार÷राष्ट्र बैंकको अस्थिर नीतिले डन्डी, सिमेन्ट, पर्यटन उद्योग करिबकरिब ध्वस्त छ । बैंकहरूले गरेको अधिकांश लगानी यिनै क्षेत्रमा छ । यी क्षेत्रहरूले व्याज तिर्न नसक्ने अवस्था बनेपछि बैंकहरू पनि धरापमा पर्ने निश्चित छ । त्यसो त बैंकहरूले घर जग्गा कारोबारमा पनि विगतमा थुप्रै लगानी गरेका थिए ।

यतिबेला घरजग्गाको कारोबार पनि करिबकरिब ठप्प छ । एकातिर प्लटिङ गरिएको घडेरी बिक्री ठप्प छ भने अर्कातिर जग्गाको मूल्य उल्लेख्य रूपमा घटेका कारण व्यवसारीहरू ऋण तिर्न त परै जाओस् ब्याज तिर्नसमेत सक्ने अवस्थामा छैनन् । त्यसैले अब धरासायी हुने पालो बैंकहरूकै हो । बैंकहरू धरापमा पर्ने संकेत देखेपछि सचेत निक्षेपकर्ताहरूले समेत विकल्प खोज्न थालेका छन् । तराई क्षेत्रका व्यापारीहरूले भारतीय बैंकमा लगेर निक्षेप संकलन गर्न थालेको समाचार आएको छ ।

विगत पाँच महिना यता रेमिट्यान्स पनि उल्लेख्य बढेको छ । गत वैशाखमा स्थानीय निर्वाचन सम्पन्न भयो । गत असारमा आर्थिक वर्ष समाप्त भयो । दसैँ, तिहार, छठजस्ता अत्यधिक आर्थिक कारोबार हुने चाडपर्व पनि भर्खरै सकिएका छन्, मुलुक प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ । यस्तो अवस्थामा बजारमा नगद प्रवाह उल्लेख्य हुनुुपर्ने थियो, तरलतामा कमी आएर होइन कि, तरलता वृद्धिका कारण संकट हुनुपर्ने थियो । तर, ठीक उल्टो भएको छ । बैंकहरूको ब्याज खर्च ७४ दशमलव ३२ प्रतिशतले बढेको छ भने ब्याज आम्दानी ६० दशमलव ५५ प्रतिशतले मात्र बढेको छ ।

बैंकहरूको गैरब्याज आम्दानी २२ दशमलव १५ प्रतिशतले घटेको छ । बैंकहरूको कर्जा नोक्सानी व्यवस्था अघिल्लो आवको पहिलो त्रैमासमा २ अर्ब ९३ करोड रुपैयाँ थियो भने चालु आवको सोही अवधिमा ९ अर्ब ४७ करोड छ । यी तथ्यांकहरू विश्लेषण गर्दा देशको अर्थतन्त्र लगभग टाट पल्टिसकेको छ । तर सरकार तथा मुलुकका प्रमुख राजनीतिकदलहरू बेखबरजस्ता देखिएका छन् । दलहरूले ल्याएका घोषणापत्र हेर्दा यो कुरा पुष्टि हुन्छ । उदाहरणका लागि नेकपा एमालेले आफ्नो घोषणापत्रमा अबको पाँच वर्षभित्र प्रतिव्यक्ती आय १३ सय अमेरिकी डलरबाट बढाएर पाँच हजार अमेरिकी डलर पु¥याउने उल्लेख गरेको छ । अबको पाँच वर्षभित्र मुलुकको कुल ग्राहस्थ उत्पादन ४१ खर्ब रुपैयाँबाट बढाएर एक सय खर्ब पु¥याउने उल्लेख गरेको छ ।

प्रतिक्रिया