भाइटीकामा सयपत्रीको मात्रै प्रयोग, प्लाष्टिकमा नजर गयो मन गएन

रुकुम पूर्व । तिहारमा मात्रै होइन, अन्य चाडपर्वमा पनि सयपत्री लोकप्रिय मानिन्छ । यसपटकको तिहारका लागि रुकुम पूर्वका विभिन्न बजारमा प्लाष्टिकका माला धेरै भित्रिएका थिए । प्लाष्टिकका माला भित्रिए पनि यसतर्फ लगभग कसैको नजर गएन् । गएकाको पनि किन्न मन भएन । कारण थियो प्रायः सबैका आगनभरी फुलेका सयपत्री ।

भाइटीकामा प्रयोग हुने फूलको संख्याका आधारमा सयपत्री पहिलो, मखमली दोस्रो र गोदावरी फूल तेस्रो स्थानमा रहने जिल्लाका जानकारहरु बताउँछन । सयपत्रीको मालाको तुलनामा मखमली र गोदावरीको माला कम सुन्दर देखिन्छन । सयपत्री फूल र त्यसबाट बन्ने माला आकर्षक देखिने हुदाँ पनि रुकुम पूर्वका मानिसहरुमा मात्र होइन । पछिल्लो समय सबै नेपालीमाझ सयपत्री लोकप्रिय बन्दै गएको छ । हेर्ने बेला सुन्दर मात्र होइन् । भाइटीकामा विशेषगरी पहेँलो रंगको सयपत्री र रातो मखमलीको माला लाउनु धार्मिक रुपमा पनि राम्रो मानिने हिन्दु धर्मशास्त्री शिवकुमार गौतमले बताए । सयपत्री मौसमी फूल हो, उनले भने तिहारकै समयमा सयपत्री फुल्ने भएकाले पनि यसको विशेष महत्व छ । सयपत्रीमा औषधीय गुण हुने भएकाले सयपत्री फूल सवै नेपाली माझ लोकप्रिय भएको उनले बताए । उनले भने, ‘सयपत्रीको फूल लामो समयसम्म टिक्छ । धार्मिक कार्यदेखि विभिन्न शुभ साइत, शुभ कार्य र अन्य विभिन्न कार्यक्रमको प्रयोगका लागि सयपत्री फूलको प्रयोग गर्ने गरिन्छ ।’ रुकुममा मध्य असोज देखि मंसिरको दोस्रो हप्तासम्म सयपत्री ढकमक्क फुल्ने गर्छ ।

जिल्लाका सवै ठाउँमा कात्तिक महिनामा सयपत्री फुलेर पहेलै भएको देख्न सकिन्छ । यहि समयमा देशभर हरेक वर्ष तिहार आउने र नेपालीहरुले भाइटीकाको दिन सवैभन्दा बढि सयपत्री प्रयोग गर्ने गर्दछन् । यसै समयमा जताततै फुल्ने र पाइने भएकाले पनि सयपत्री यस वर्ष जिल्लामा बढि प्रयोग भएको सिस्ने ५ की रिता थापाले बताइन् । उनले भनिन्, ‘तिहारमा मात्रै होइन, अन्य समयमा पनि सयपत्री फूल अति आवश्यक छ ।’ गएका बर्षको तुलनामा यस वर्ष तिहारमा जिल्लाका अधिकांश दिदिबहिनीले दाजुभाईलाई सयपत्रीको माला लगाई दिएका छन् । थापाले थपिन्, ‘मैले पनि मेरा दाइभाईलाई सयपत्रीकै माला लगाइ दिए ।’

माला गास्दा सजिलो र गासिसकेपछि एकैनासको आकर्षक देखिने भएकाले पनि सबैले सयपत्री रोज्ने गरेका उनको भनाई छ । अन्य जिल्ला जस्तो रुकुम पूर्वमा सयपत्रीको व्यवसायिक खेती छैन । तर प्रायः प्रत्येकले घरमा कम्तिमा पाँच सात वटा सयपत्रीका बोट रोप्ने गर्छन । जिल्लाका तीनवटै स्थानीय तह सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका सवै बस्तिमा सयपत्री उत्पादन हुने गर्छ । भाइटीकामा प्रयोग गर्न मात्र होइन । घर आगनलाई थप आकर्षक बनाउन पछिल्लो समय जिल्लाका सवैले सयपत्री रोप्ने गरेका छन् ।

जसका कारण केहि वर्ष पहिले बजारका कृत्रिम प्लाष्टिक माला लगाउने र त्यसैमा रमाउनेहरु यसवर्ष भने सयपत्रीका मालामा सजिएका थिए । ती तस्बिरहरु सामाजिक सञ्जालमा प्रसस्त देख्न सकिन्छ । तर रुकुम पूर्वलाई सयपत्रीमा आत्मनिर्भर जिल्ला बनाउन र यसको उत्पादनलाई बढाउन सयपत्रीको व्यवसायिक खेति गर्न आवश्यक छ ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया