लमजुङ जिल्ला अस्पताल गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण

लमजुङ । जिल्ला अस्पताल लमजुङ गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीको रोहबरमा अस्पताल हस्तान्तरण गरिएको हो । अब जिल्ला अस्पताल गण्डकी प्रदेश सरकार अन्तरगत आएको छ । लमजुङ जिल्ला अस्पताल २०५७ साल साउनदेखि हालसम्म एचसिडिएच नाकम गैरसरकारी संस्थाले सञ्चालन गर्दैआएको थियो ।

गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले अस्पतालको सेवा तथा व्यवस्थापनका बारेमा उठाइएको चासो र चिन्ता सम्बोधन गर्नु सरकारको कर्तव्य भएकाे बताइन् । सर्वसाधारणलाई स्वास्थ्य र शिक्षाको सुविधा दिने भनेर मौलिक हकमा संविधानमा नै व्यवस्था गरेकाेले प्रदेश सरकारले यो कार्य गरेको मात्र बताइन ।

यसअघि उक्त अस्पताल सञ्चालन गर्ने संस्था एचसिडिएच असक्षम भएका कारणले सम्झौता रद्द गरिएको बताउदै उनले यो अस्पतालमात्र नभई प्रदेश भित्र रहेका मध्य विन्दू अस्पताल र पोखराकै मातृशिशुलाई पनि प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएको जानकारी दिइन् ।

उनले भनिन, ‘यस अस्पतालको सेवाको पहुँचलाई विस्तार गर्ने, सरसफाई लगायतका सेवालाई थप गुणस्तरीय बनाउने दायित्व प्रदेश सरकारको भएको हुँदा त्यसमा कुनै कमी हुन दिइने छैन् ।’

सो अवसरमा स्वास्थ्य तथा जनसंख्या सचिव विश्ववन्धु वगालेले सेवा वा काम गर्नका लागि इच्छा शक्ति आवश्यक हुने बताए । उनले भने, ‘यो जिल्ला अस्पताल सधैं ५० शैयाको मात्र राखी रहने अवश्य पनि हैन होला, यसलाई सय, दुई सय बेडको बनाउनका लागि यहाँको समुदाय तथा स्थानीय सरकारको विशेष हात हुने छ ।’

बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले आफू २०४३ सालदेखि यो अस्पतालमा अधिकांश समय जनप्रतिनिधिका रुपमा सम्बद्ध रहेर नजिकबाट हेरेको स्मरण गरे । उनले भने, ‘त्यो बेलामा आएका एक डाक्टरले शिकार खेल्न गएर मान्छेलाई गोली हानेको, अर्को डाक्टर शौचालयमा लडेर उपचार गर्न गएपछि नफर्केको वर्षमा केहि महिना पनि डाक्टर देख्न रहर हुने स्थिति थियो तर आज विशेषज्ञ सहित १४ जना डाक्टर छन् ।’

प्रदेश सरकारकोतर्फबाट स्वास्थ्य मन्त्रालयका सचिव वगाले र प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले र एचडिसिएचका निर्देशक कपिल शर्माले हस्ताक्षर गरे ।

एचसिडिएचका निर्देशक कपिल शर्माले विगतमा अस्पताल सञ्चालन गर्दाका अनुभव सुनाएका थिए । उनले भने, ‘सरकारले यो गैससको अस्पताल हो भन्ने र गैसस अर्थात एचडिसिएचले यो त सरकारको हो, हामीले एक दिन छाडेर जानु पर्छ, जाने हो भन्ने मानसिकताले गर्दा केही गर्न सक्ने जति उपलब्धी लिन बाधा उत्पन्न भई गर्न नसकेका हाैं ।’

प्रतिक्रिया