जिप दुर्घटनाका घाइतेलाई आर्थिक सहयोग

बझाङ । जिल्लाकोे मस्टा गाउँपालिकामा बुधबार भएको जिप दुर्घटनामा परी घाइते भएकाहरूको उपचारका लागि जिल्लाका ११ ओटा स्थानीय तहले उपचारका लागि आर्थिक सहयाग गरेका छन् । बिहीबार जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजाल, नगरउपप्रमुख रतनबहादुर सिंह, प्रमुख प्रशासकीय अधिकृत अम्मराज जोशीको संयुक्त हस्ताक्षरित पत्रमा मस्टामा भएको जिप दुर्घटनामा परी मृत्यु भएकाहरूलाई श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नगरपालिकाको तर्फबाट घाइतेहरूको उपचारका लागि तीन लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले बताए ।

त्यस्तै तलकोट गाउँपालिकाले पनि घाइते भएकाहरूको उपचारका लागि दुई लाख, छबिसपाथिभेरा गाउँपालिकाले १ लाख ७५ हजार, साइपाल गाउँपालिकाले १ लाख ५० हजार, दुगाथली गाउँपालिकाले १ लाख ५० हजार, केदारस्यु गाउँपालिकाले १ लाख ७५ हजार, विथ्थडचिर गाउँपालिकाले १ लाख ५० हजार, थलारा गाउँपालिकाले १ लाख ५० हजार तथा वुगल नगरपालिकाले दुई लाख रुपैयाँ दिने घोषण गरेको मस्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले बताए ।

बोहराले भने, स्थानीय तहबाट उपचार खर्चका लागि जिल्लाका १२ ओटा स्थानीय तहले आर्थिक सहयोग गरेको र आफू पालिकाको अध्यक्ष भएको हिसाबले मृत्यु भएका परिवारलाई क्रिया खर्चवापत ५० हजार र घाइते भएकाहरूलाई उपचार खर्च दिने निर्णय गरेको बताए ।

बुधबार सदरमुकाम चैनपुरबाट मस्टा गाउँपालिका–२ जाँदै गर्दा जिप दुर्घटना हुँदा सात जनाको घट्नास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएकी ५० वर्षीया सिन्कीदेवी भण्डारीको उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएपछि मृतकको संख्या आठ पुगेको हो । अन्य १७ जना घाइते भएकाहरूको उपचार भइरहेको छ ।

जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किंदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेको हो । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जिप दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया